आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन प्रतिनिधि भन्छन् : आगामी नेतृत्व युवाहरुले गर्नुपर्छ

आइतबार, २६ मङ्सिर २०७८, २२ : ३४
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसको आगामी नेतृत्व चयनका लागि भोली देखि मतदानको कार्यक्रम हुँदैछ । निर्वाचन समितिले बिहान ८ बजेदेखि मतदानको समय निर्धारण गरिएको छ । काठमाडौँको भृकुटीमण्डप, प्रहरी क्लब र राष्टिय सभागृह भित्र मतदानका लागि मतदान केन्द्र स्थापना गरिएको छ । काँग्रेसले भोली हुने निर्वाचनमा ५ सय लिटर क्षमताको हरियो रंगको प्लास्टिकको ट्याङ्कीलाई मत पेटिकाको​ रुपमा प्रयोग गर्ने तयारी थालेको छ ।

निर्वाचनका लागि निर्वाचन समितिले भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ सहित ८१४ बुथबाट निर्माण गरेको छ । निर्वाचनमा काँग्रेसका करिव ४ हजार ७ सय ४३ प्रतिनिधिले मतदानमा सहभागि भएर आफ्नो नयाँ नेतृत्व चयन गर्नेछन् ।

काँग्रेसको नयाँ नेतृत्वको लागि शनिवार भएको मनोनयन दर्ताका क्रममा १३४ पदका लागि ५ सय ४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए भने आइतबार ५७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचनका लागि २९ प्रकारका ५ हजार मतपत्र प्रकाशन गरिने भएको छ ।

महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवार बनेका उम्मेदवारहरू समूह–समूहमा प्रतिनिधिहरूसँग मत माग्न सक्रिय रहेका छन् भने मतदानका लागि काँग्रेसका महाधिवेशन प्रतिनिधिहरू पनि उत्साहित देखिएका छन् ।  

काँग्रेसको आगामी नेतृत्व युवाहरुले गर्नुपर्छ  
बर्दियाबाट महाधिवेशन प्रतिनिधिहरूमा चयन भएका गोपी पराजुलीले काँग्रेसको आगामी नेतृत्व युवाहरुले लिनुपर्ने बताए । काँग्रेसको नेतृत्व विस्तारै परिवर्तन र पुस्तान्तरण गर्दै लैजानुपर्ने भएकाले अबको नेतृत्वमा युवाहरूमा आउनुपर्ने उनको भनाई छ ।

‘सँधै पुरानो पुस्तालाई यसरी सत्ता दिएर पार्टी र देशको नेतृत्व सक्षम हुन सक्दैन । नजिकै स्थानीय निर्वाचन आइरहेको छ । त्यसमा देशभर सक्रिय रुपमा उपस्थिति हुनुपर्ने भएकाले पुरानो पुस्ताबाट त्यो सम्भव छैन । काँग्रेसलाई उत्कृष्ट पार्टी बनाउनका लागि ६० वर्षभन्दा बढी उमेर भएका नेताहरुलाई स–सम्मान विदा गरेर सोभन्दा कम उमेर समूहलाई नेतृत्व दिनुपर्छ’ उनले भने ।

केही साथीहरुको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा भएपनि अहिले अनुभवको आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने अवस्था रहेकोले युवाहरुलाई पनि समेटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने नेपाल ठाकुर समाजका केन्द्रीय अध्यक्ष अनिरुद्रप्रसाद ठाकुर बताउँछन् ।

काँग्रेस भित्रको गुट उपगुट अन्त्यका लागि अहिलेको नेतृत्वलाई नै निरन्तरता दिएर युवाहरुको यथास्थितिलाई बलियो बनाउनुपर्ने आजको आवश्यकता रहेको उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टिममा पनि युवाहरुको सहभागिता बलियो छ । कसले के गरेन भन्नुभन्दा पनि अहिलेको अवस्थाअनुसार देउवाको नेतृत्व स्वीकार गरेर काँग्रेस भित्रको गुट उपगुटको अन्त्य गरेर पार्टीलाई बलियो बनाउनुपर्छ’ उनले भने ।

१४ औं महाधिवेशनबाट काँग्रेस केही परिष्कृत भएर अझ सशक्त रुपमा जनताको माझमा जाने उनको धारणा छ ।  कञ्चनपुरका तारणीदत्त चटौत पार्टीलाई युवाहरुको आवश्यकता रहेका कारण पुरानो पुस्ताले स–सम्मान विश्राम लिनुपर्ने बताउँछन् । दुई पटकसम्म मन्त्री भइसकेका र काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले देश र पार्टीलाई नयाँ पुस्ताको आवश्यकता रहेकाले आफू त्यही अनुसारको नेतृत्व चयनमा केन्द्रीत रहेको उनले बताए ।

युवा पुस्ताले दरिलो जोश र जाँगरका साथ काम गर्ने भएकाले पुस्तान्तरण आजको आवश्यकता रहेको उनको भनाई छ । ‘अहिले काँग्रेसलाई नयाँ पुस्ताको आवश्यकता रहेको छ । सोहीअनुसार म नयाँ पुस्ताको नेतृत्वको पक्षमा छु । अहिलेको अवस्थामा शेखर कोइराला पार्टीलाई संगठित गर्न सक्रिय र क्रियाशील छन् ।’ उनले भने ।

त्यस्तै बझाङका प्रताप उर्धामीले काँग्रेसले आगामी दिनमा नेतृत्व परिवर्तन गरेर जानुपर्ने बताए । आगामी दिनमा गतिशील नेतृत्व चयनतर्फ महाधिवेशन प्रतिनिधिहरुले ध्यान पुर्याउनुपर्ने उनले बताए । ‘काँग्रेसका हरेक क्रियाकलाप र कार्यक्रमहरु निर्धारित समय र विधिअनुसार सम्पन्न गरेर विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्ने नेतृत्व अबको आवश्यकता हो । हिजोका कमी कमजोरीलाई सम्झेर बस्नुभन्दा पनि आगामी दिनमा सक्षम र बलियो युवाहरुको टिम जिताउन लाग्नुपर्छ’ उनले भने ।

यता जनसम्पर्क समिति स्वीडेनकी भगवती अधिकारीले आगामी दिनमा काँग्रेसको तल्लो तहको संगठनसमेत मिलाउन सक्ने, विभिन्न समस्याको समाधान गर्न सक्ने र अन्य पार्टीहरूलाई पनि समेटेर असल प्रजातान्त्रिक व्यवस्थाको कार्यान्वयन गर्ने नेतृत्व चयन गर्नुपर्ने बताइन् ।

‘काँग्रेसभित्र भएको यो प्रतिस्पर्धा नराम्रो होइन र यो गुट उपगुटभन्दा पनि टिम अनुसार नेतृत्व चयनको स्वस्थ प्रतिस्पर्धा हो । यसले काँग्रेसलाई थप बलियो बनाउँछ । यो नेतृत्वको विकास हो । आगामी नेतृत्वले यो गुटभन्दा माथि उठेर काम गर्नुपर्ने हुन्छ । हामी त्यो नेतृत्व चयन गर्ने तयारीमा छौं,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप