आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महाधिवेशनस्थलको सुरक्षा व्यवस्था कडा, थप सुरक्षाकर्मी परिचालन

सोमबार, २७ मङ्सिर २०७८, २० : ३३
सोमबार, २७ मङ्सिर २०७८

भृकुटीमण्डपस्थित नेपाली काँग्रेसको महाधिवेशन स्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सभागृह र भृकुटीमण्डप आसपासमा प्रतिनिधि बाहेक अन्य काँग्रेस कार्यकर्तालाई त्यहाँबाट सुरक्षाकर्मीले हटाएका छन् ।  भोटिङ अधिकार नभएकाहरुलाई महाधिवेशन स्थल हटाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील राठौरले रातोपाटीलाई बताए । 

सभापति र अन्य पदका लागी भृकुटीमण्डप र सभागृहमा तीन ठाउँमा मतदान भइरहेको छ । निर्वाचन समितीले राति ९ बजेसम्म भोट खसाल्न पाउनेगरी समय सीमा तोकेको छ । साँझ साढे ७ बजेसम्ममा ३४ सय ५ मत खसेको छ । 

मतदानस्थलमा साँझ थप ६ सय प्रहरी थप गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट खटिएका बाहेक थप ६ सय प्रहरी परिचालन गरिएको एसपी राठौरले रातोपाटीलाई बताए । मतदान स्थलमा सशस्त्र प्रहरीको संख्या पनि थप गरिएको छ । 

मतदान स्थलको कमाण्ड पोष्टमा काठमाडौंका एसएसपी अशोक सिंह र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सुरक्षा कमाण्ड गरेका छन् । १४ औं महाधिवेशन स्थलको समग्र सुरक्षा कमाण्ड महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप