सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टीको आन्तरिक चुनावमा भीड जम्मा गरेर केको शक्ति प्रदर्शन ?

मङ्गलबार, २८ मङ्सिर २०७८, ०३ : ५७
मङ्गलबार, २८ मङ्सिर २०७८

सत्तारुढ दल नेपाली काँग्रेस यतिबेला १४ औं महाधिवेशनको उत्कर्षमा छ ।  नयाँ नेतृत्व चयनको लागि काँग्रेसको १४औं महाधिवेशनको मतदान सोमबार सम्पन्न भएको छ । को जित्ने, को हार्ने जो कोहीले कान थापेर बसेका छन् । समग्रमा अहिले मुलुकको ध्यान काँग्रेसको महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपतर्फ केन्द्रीत छ । 

राज्यसत्ता सञ्चालनमा रहेको प्रमुख दल नेपाली काँग्रेसले आफ्नो १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने घोषणा गरेपनि महाधिवेशनमा नेतृत्व हात पार्न पार्टी भित्रैका नेताहरुबीचको प्रतिस्पर्धा कुनै दुई पार्टीबीचको चुनावी प्रतिस्पर्धाभन्दा कम छैन । आफ्नै पार्टीको आन्तरिक चुनावमा भीड जम्मा गरेर शक्ति प्रदर्शन गरिरहेका मुख्य दलहरूलाई महाधिवेशन केन्द्रित  बहसको वास्ता छैन । यहाँ त आफ्नो पक्षमा कति प्रचारप्रसार भयो ? कतिजनाले आफ्नो गुट रुचाउँछन् ? कसरी अर्को गुटको प्रतिनिधिलाई आफूसँग तान्ने ? भन्नेमै होडबाजी चल्यो ।

त्यसो त चुनावी झल्को दिने गरी दुई साताअघि मात्रै नेकपा एमालेले पनि चितवनमा १० औं महाधिवेशन शक्ति प्रदर्शन शैलीमा सम्पन गरेको थियो । गाउँ गाउँबाट आशाको ब्यापार गरेर एमालेले चितवनमा ठूलै भीड जम्मा गरेको थियो । त्यस्तै एक साता अघि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाले गरेको महाधिवेशनमा पनि उस्तै भीडभाड थियो । नेकपा माओवादी केन्द्रले आगामी पुसको दोस्रो साता महाधिवेशन गर्ने भएको छ । सबै प्रमुख दलहरूको महाधिवेशनलाई नियाल्ने हो भने चुनावकेन्द्रीत महाधिवेशन मात्रै भैरहेको देख्न सकिन्छ ।

कतिपय दलले नेतृत्व हत्याउन आफ्नै पार्टीभित्र भैरहेको चर्को प्रतिस्पर्धालाई शक्ति प्रदर्शन भन्दै प्रचार गरिरहेका छन् । पार्टीको आन्तरिक चुनावमा भीड जम्मा गरेर केको शक्ति प्रदर्शन ? शक्ति प्रदर्शनका नाममा जनतालाई दुःख दिने सिवाय सम्पन्न भैसकेका अरु पार्टीको महाधिवेशन र चलिरहेको काँग्रेस महाधिवेशनले अरु केही दिन सकेन । 

बुढो पार्टी भनेर चिनिने काँग्रेसको महाधिवेशन पनि तामझाममै सीमित भयो । महाधिवेशन प्रतिनिधिले तिर्नुपरेको चर्को शुल्क र काँग्रेसको नीति, एजेन्डामाथि बहस नभई तीव्र गतिमा अधिवेशन सुरु भएको पार्टी भित्रैका नेताहरुको गुनासो छ । महाधिवेशनमा नीति तथा कार्यक्रमहरु समावेश गर्नुपर्ने, दुरदराजका समस्या, जनगुनासोको सम्बोधन हुनुपर्ने होइन र ? अनि राष्ट्र र जनताको अवस्था के छ ? देशमा न्यायालयसमेत अन्योलमा परेको अवस्था रहेको छ । तामझाम सहितका यी राजनैतिक दलका महाधिवेशनले यस्ता नीतिगत कुराहरुमा ध्यानाकर्षण गर्न खै सकेका ?

गुट, समूहबीचको नेता छान्ने र उनीहरुकै जयजयकार गर्नुबाहेक अन्य नीतिगत कार्यक्रमहरु अगाडी सार्न सकेनन् । तसर्थ दलको महाधिवेशन राष्ट्र र जनताका लागि उपलब्धिमुलक बन्न सकिरहेको छैन । कार्यकर्ता ओसारेर शक्ति प्रदर्शन गर्नुभन्दा तोकिएका प्रतिनिधिहरुलाई मात्रै सहभागी बनाएर महाधिवेशन गर्नतर्फ ध्यानकेन्द्रीत भएको भए खर्चिलो र प्रदर्शनशैलीको महाधिवेशन हुने थिएन । जसले सामाजिक रुपान्तरणका लागि सकारात्मक सन्देश प्रवाह गर्थ्यो ।

काँग्रेसले महाधिवेशनमा सवारी साधनमा जनसागर त उतारेन तर पनि उद्घाटनदेखि मनोनयन दर्ता, अनि मतदान अघिको चुनावी प्रचारप्रसार शक्ति प्रदर्शनभन्दा कम थिएन । महाधिवेशनलाई काँग्रेसले प्रतिनिधिकेन्द्रीत बनाउने घोषणा गरे पनि नेतृत्व हत्याउन लागि पार्टीभित्रका गुट, उपगुटका कार्यकर्ताको चर्को नाराबाजीले चुनावी प्रचारमुखी शक्ति प्रदर्शन गरेको प्रष्ट पारेको छ । पार्टीको आन्तरिक नेतृत्वमा आआफ्नै प्रचारप्रसार र ब्यक्तिवादी प्रदर्शन भएको देखियो ।

जबसम्म राजनीतिक दलका महाधिवेशन राष्ट्र र जनताका समस्या सम्बोधन गर्नतर्फ केन्द्रित हुँदैन, तबसम्म मुलुकले यस्तै किसिमको संकटको सामना गर्नुपर्ने हुन्छ । महाधिवेशनमा आफू निकट कार्यकर्ता बटुलेर आफै चुनिन नेताहरूले कार्यकर्ता जमघटमा सीमित राख्छन् । यो अवस्थाको अन्त्य नभएसम्म राष्ट्र र जनताको हितमा कुनै पनि मुद्दाको सम्बोधन हुँदैन । जबसम्म दलका कार्यकर्ताले कुनै पनि आग्रह पूर्वाग्रह बिना स्वतन्त्रपूर्वक नेतृत्व चुन्न सक्दैन, जनताले यस्तो दुर्दशा बेहोरी रहनुपर्छ ।

काँग्रेस प्रतिनिधिहरुले आफ्ना नेताहरुको प्रचारप्रसार विभिन्न झाँकीसहित गरे । नाराबाजीसहित आफ्नै पार्टी भित्रको ब्यक्तिवादी शक्ति प्रदर्शनलाई नियाल्दा एउटा प्रश्न पक्कै उठ्छ, के दलहरुको शक्ति प्रदर्शन गर्ने थलो ‘महाधिवेशनस्थल’ हो ?

सम्पन्न भैसकेका र चल्दै गरेका पार्टी महाधिवेशनमा उठेका एजेन्डा, तिनको समाधानमा खेलिएका भूमिका र भावी योजनाको विषय उठाई त्यसको समीक्षा गर्ने मौकासमेत महाधिवेशनले जुराउँछ तर नेपालका राजनैतिक दलहरुलाई यसतर्फ चासो छैन । महाधिवेशनबाटै असल नेतृत्व, पुस्तान्तरण र पार्टीलाई रुपान्तरण गर्ने अवसर मिल्दा पनि यहाँ पदको पछिको दौडाहाले सबै कुरा ओझेलमा पर्छन् । अहिले त महाधिवेशन विचार र सिद्धान्तमा केन्द्रित नभई भीड जम्मा गरेर कसको शक्ति कति भन्ने तर्फको होडबाजीमा मात्रै केन्द्रीत देखिन्छ । विचार, सिद्धान्त, नीति तथा कार्यक्रम विना अन्धकारमै  ब्यक्तिबादी प्रचारले मुलुकलाई गति दिन सक्दैन ।

महाधिवेशन तयारीको औपचारिक सुरुवात नहुँदै आआफ्ना भेला र प्यानल बनाएर नाराबाजीमा चम्किएका कार्यकर्ताले कहिले बुझ्लान्, पार्टीले महाधिवेशन गर्दै गर्दा समाज रुपान्तरणका लागि के कार्यक्रम ल्याउँदैछ ? कस्तो एजेन्डामा बहस गर्दै छ ? नेतृत्व हत्याउनका लागि जे पनि गर्ने शैली भएका नेताको पछि रुमलिएको कार्यकर्ताले यस्ता कुरा कहिले बुझ्ने ? राष्ट्रियता, विकास र समृद्धिका नारा लगाएर मात्रै मुलुकमा समृद्धि हाबी हुँदैन । पार्टीका महाधिवेशन विधि र सिद्धान्तमा चल्नुपर्दछ, तामझामसहितको भीडभाड जम्मा गरेर होइन । एजेन्डामाथि बहस गर्न नसक्ने पार्टीले आन्तरिक कार्यकर्ता जम्मा गरेर गरेको शक्ति प्रदर्शन के का लागि ?

नीति र नेतृत्व चयन गर्ने महाधिवेशनलाई दलहरूले भीड प्रदर्शन गरेर एकअर्कालाई प्रभाव पार्ने माध्यम बनाउनु राम्रो होइन । संघीय, प्रदेश, स्थानीय तहका चुनावमा कार्यकर्ता बटुलेर भीडभाड बढाएर प्रचारप्रसार गर्नु स्वभाविकै हो तर पार्टीको आन्तरिक महाधिवेशनमा समेत भीड जम्मा गरेर प्रदर्शनको होड गर्नु अर्थपूर्ण छैन । कुनै पनि दलको महाधिवेशन नियमित प्रक्रिया भएकोले यसको सिमारेखा नेतृत्व र विचार निर्माण हो । सहि विचार, नेतृत्व र एजेन्डामाथि वहस गर्न सके भीड जम्मा गरेर शक्ति प्रदर्शन गर्न जरुरी छैन । किनकी महाधिवेशन विचार र नेतृत्व चयनका लागि गरिन्छ । तसर्थ राजनैतिक दलहरुले पार्टीको आन्तरिक महाधिवेशनमा समेत भीड जम्मा गरेर जनतालाई आकर्षित गर्न सक्ने र आफ्नो शक्तिको सहि मापन हुन्छ भन्ने भ्रमबाट बाहिर निस्कन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप