निकटस्थसँग शेखरको छलफल : दोस्रो चरणको चुनाव पनि लड्ने
नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको चुनाव लड्ने भएका छन् । अर्का उम्मेदवार शेरबहादुर देउवालाई यसअघि सभापतिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले समर्थन गर्ने भएसँगै अब चुनाव लड्ने कि नलड्ने भन्नेमा कोइरालाले आफू निकटसँग छलफल गरेका थिए ।
छलफलमा देउवासँग फेरि चुनाव लड्ने निष्कर्ष निकालिएको महामन्त्रीका उम्मेदवार गगन थापाले जानकारी दिए । यस्तै कोइरालाले पनि पत्रकार सम्मेलन गरेर परिणाम जुनसुकै आएपनि आफू स्वीकार्न तयार रहेको पनि बताएका छन् । ‘पार्टीभित्रको बृहत् एकताका लागि अहिले पनि तयार छु । साथै दोस्रो चरणको मतदानबाट मेरो जित हुनेमा पनि विश्वस्त छु । यो स्वस्थ प्रतिस्पर्धा हो । कसले कसलाई समर्थन गर्छ त्यो महत्त्वपूर्ण होइन, महाधिवेशन प्रतिनिधिको विवेक महत्त्वपूर्ण हो,’ उनले भने ।
दोस्रो चरणको मतदान आजै दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ ।