सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीलाई जवाफ : रेनुले टुक्का भन्दिनन् !

आइतबार, ०४ पुस २०७८, १७ : ५४
आइतबार, ०४ पुस २०७८

-किरण आचार्य

नमस्कार केपी कमरेड ! आशा गर्छु– तपाईंंको स्वास्थ्य अवस्था ठीक छ । केही महिनाअघि देश बनाउने जिम्मेवारीबाट बिदा पाउनुभयो । त्यसैले अहिले दैनिक १८ घण्टा खट्नुपरेको अवश्य छैन । फुर्सदको समयलाई भरपूर उपयोग गर्नुहोस् । अहिले ढुक्क भएर आराम गर्नुभए हुन्छ ।

आजकाल त तपाईंका चुड्किलाहरू खासै सुन्न पाइँदैन । तपाईंको चुड्किला सुन्न नपाएर शून्य भएको छ । तपाईंको चुड्किला सुनेर फगत मनोरञ्जन लिने लतमा परेका हामी न्यास्रिएका छौं । मनोरञ्नका लागि कमेडी शोहरूमा भर पर्नुपरेको छ ।

केही महिना अघि भरतपुरमा आएर तपाईंले हामी चितवन बासीलाई ‘हजुरका मेयर खै ?’ भनेर सोध्नुभएको थियो । ‘पिकनिक खान जानुभयो होला’ भनेर फेरि आफैँले जवाफ दिनुभएको थियो । तपाईंले आफैंसँग गरेको प्रश्नोत्तर सुनेर तपाईंका कार्यकर्ताले सभा÷सम्मेलनस्थल गुञ्जायमान हुने गरी ताली पिटे ।

अब सुन्नुहोस केपी कमरेड ! ‘तपाईंका मेयर खै ?’ भन्ने प्रश्न को जवाफ ः

मेयर रेनु दाहाललाई भरतपुरका कुन गल्ली, कुन टोल, कुन चोक र कुन बाटो कालोपत्रे हुन बाँकी छ भनेर बुझ्नै फुर्सद छैन । उहाँलाई कहाँ जनताले समस्या भोगेका छन् र कहाँ खाने पानीको समस्या छ भन्ने कुरा बुझ्दैमा फुर्सद छैन । मेयर दाहाल यतिबेला विकासका कामको निरीक्षण र नागरिकका गुनासो सुन्न तथा त्यसको समाधान गर्नमै व्यस्त हुनुहुन्छ ।

त्यसैले त अहिलेसम्ममा भरतपुरमा ६१० किलोमिटर सडक कालोपत्रे भएको छ । ४५० किलोमिटर सडक ग्राभेल (खण्डास्मित) गरिएको छ । महानगर वडा नम्बर ३ को सानो मजुवामा करिब एक अर्ब ३५ करोड रुपैयाँ लागतमा अटोल्याण्ड निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । वडा नम्बर २० र २१ मा लघु औद्योगिक ग्राम निर्माणकार्य अघि बढेको छ । भरतपुर प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ ।

तपाईंले जान्नैपर्ने कुरा–संघीय सरकारको सहयोग र महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किलोमिटर महानगरीय चक्रपथ (रिङरोड) निर्माण अघि बढाउन हाम्री मेयर व्यस्त हुनुहुन्छ । जसको लागत आठ अर्ब २० करोड रुपैयाँ रहनेछ । प्रारम्भिक वातावरणीय परीक्षणसहित डीपीआर तयार भई सघन शहरी विकास विभागबाट १० किलोमिटर, प्रदेश सरकारबाट ८.५५ किलोमिटर, सडक विभागबाट १२ किलोमिटर र महानगरबाट १० किलोमिटर गरी जम्मा ४०.५५ किलोमिटर रिङरोड निर्माणाधीन अवस्थामा छ । बाँकी ४८.०६५ किलोमिटर निर्माणका लागि स्रोत सुनिश्चितता गर्न हाम्री मेयर रेनु दाहाल लागिरहनुभएको छ ।

वडा नम्बर ३ मा सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भएर काम अघि बढाइएको छ । स्मार्ट सडक बत्ती योजना तथा १९ किलोमिटर भूमिगत विद्युत लाइन विस्तारको काम अघि बढेको छ । जसका लागि महानगरले नेपाल विद्युत प्राधिकरणसँग साझेदारी गरेको छ ।

ओली कमरेड ! तपाईंलाई थाहा छैन भने यो पनि थाहा पाइराख्नुस् । यो चार वर्ष अवधिमा भरतपुर महानगरका ११ वडा कार्यालय निर्माण सम्पन्न गरिएको छ । ६ वटा वडा कार्यालयमा तला थपिएको छ । बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्नती गरी सेवा प्रवाहलाई प्रभावकारी र प्रविधियुक्त बनाइएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलन गर्न र त्यसमार्फत पर्यटकीय आर्थिक गतिविधि बढाउन सिटी हल निर्माणको काम दु्रत गतिमा अघि बढेको छ । नारायणी नदी किनारलाई समुद्री किनार मोडलमा विकास गरी पर्यटक आकर्षित गर्न ‘वाकिङ ट्रेल’ निर्माण भएको छ । महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर र पहुँचमार्गसहितको रानीपोखरी पार्क निर्माणको काम अन्तिम चरणमा छ ।

भौतिक विकास र पर्यटन क्षेत्रसँगै महानगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा कयौं काम गरेको छ । आवश्यक परेमा त्यसको फेहरिस्त पनि तपाईंले पाउनुहुनेछ ।

ओली कमरेड ! काठमाडौँका मेयर विद्यासुन्दर शाक्य कुन पार्टीका रे ? सोध्नुहोला है एकपटक । अनि यो पनि सोध्नुहोला–चुनावका बेला बाँडेका नारा र घोषणापत्रका कति काम सम्पन्न भए ? अहिलेसम्म कति सडक बन्यो, स्वास्थ्य, शिक्षा र रोजगारी जनजीविकाका आधारभूत सवालमा काठमाडौं महानगरले के काम ग¥यो ? देशका ७७ जिल्लाका नागरिक बस्ने राजधानी शहरमा खानेपानीको अवस्था कस्तो छ ? सोध्नुहोला !

शहर सफा छ कि फोहोर ? यो पनि सोध्नुहोला । सार्वजनिक शौचालयको हालत के छ ? किन मान्छे ट्वाइलेट जानका लागि होटल र रेस्टूराँ खोज्दै हिँड्नुपर्छ ? त्यो पनि सोध्नुहोला । कहिलेसम्म नागरिकलाई झुटा आवश्वासन र नारा बाँडेर बस्नुहुन्छ ? नागरिकले कहिलेसम्म पत्याइदिनुपर्ने तपाईंंहरूका खोक्रा नारा ?

अँ साँच्चै ! मोनो र मेट्रो रेलका केही टिकट बाँकी छ भने हाम्रा लागि पनि पठाइदिन भन्दिनुस् है तपाईंका मेयरलाई । माफ गर्नु होला कमरेड ! तपाईंको त्यो १८ घण्टाको काम र अध्ययन खाली मनोरञ्जनात्मक भाषण र चुड्किलाहरू सुनाउनमात्रै खर्च भइरहेको छ । त्यसो नगर्नुहोस् । तथ्याङ्क बुझेर बोल्ने गर्नुहोस् । चाहे त्यो संसदमा होस् या त सार्वजनिक कार्यक्रमहरूमा । हावा कुरा बोल्ने काम नगर्नुहोस् । ताली त ‘कमेडी सो’ मा पनि राम्रै बज्छ । र, ताली बज्दैमा सही हुन्छ भन्ने हुँदैन । त्यो भ्रमबाट मुक्त हुनुहोस् ।

अन्तिममा, चितवनबासीलाई मेरो विनम्रताका साथ के अनुरोध छ भने अबको चुनावमा पनि विकासप्रेमी जनप्रतिनिधिलाई नै चुनौं । मेरो पार्टीको र मेरो मान्छे भनेर होइन, विकासको योजना भएको र नागरिकको अप्ठ्यारो बुझ्ने व्यक्तिलाई छानौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप