बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काव्य साँझमा बान्तुको एकल कविता बाचन

सोमबार, ०५ पुस २०७८, ०७ : ३९
सोमबार, ०५ पुस २०७८

‘फक्रिदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

नेपथ्यबाट कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएसंगै आइतबार सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । हँसिलो मुहारमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे—
‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एक तर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’

करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । त्यसपछि उनले गजल सुनाए– नजरैले घाइते पर्ना माहिर हजुर’ । त्यसपछि    आफ्नै जिन्दगीबारे रचना गरिएको गजल– ए जिन्दगी सुनाएर उनले माहोललाई नै स्तब्ध बनाए । अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कविता÷काव्य प्रस्तुतिको मैझारो गरे । 

कुलपति गङ्गाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए । उनले भने– ‘बान्तुजीका रचनाहरू जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा अनुकरणीय कार्य हो ।”  

मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्व मन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन्स अनन्तत् भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गरे । कार्यक्रममा कवि शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पारेका थिए । 
अमर बान्तुको कविता तथा गीतसङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् । उनका दर्जनौँ गीत लोकप्रिय छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप