बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रगतिशील गायक धीरेन्द्र : जसका गीतमा गरिब र निमुखाको आवाज छ

सोमबार, ०५ पुस २०७८, ०७ : ५८
सोमबार, ०५ पुस २०७८

रारा नसुकोस्, भेरी नसुकोस्
नेपालीको शीरको कहिलै टोपी नझुकोस्
पानी बेच्यौ, खानी बेच्यौ, बेच्यौ आफ्नै स्वाभिमान
जङ्गे पिलर वर सार्दा हेर्‍यौ जानाजान
वीरहरूका रगतले हाम्रो सीमा कोरेको
हाम्रो भूमि मिच्न अझै छैन छोडेको

यो गीत २०७२ सालको विनाशकारी भूकम्प र छिमेकी देश भारतको नाकाबन्दीको ज्यादतिले जन्माएको गीत हो । जनवादी गायक धीरेन्द्र शाही र लक्ष्मी केसीको आवाजमा रहेको यो गीत गायक धीरेन्द्रले त्यतिबेलाको देशको स्थितिमात्र नभई समग्र राष्ट्रियताप्रतिको चिन्तालाई प्रतिबिम्वित गरेर लेखेका थिए । विदेशी हस्तक्षेपको विरोध र नेपाली स्वाधिनता जगाउन यो गीत लेखेको शाही बताउँछन् ।

आफ्नै कला संस्कृति छ आफ्नै चल्छ भेष
श्रमदान नै गरे अनि विकास हुन्छ देश ।
स्वास्थ्य शिक्षा रोजगारीको बन्दोबस्त गर
आज उसकै भोलि उसकै कति पर्छौ भर ।

गीतका यी पंक्तिमार्फत उनले सधैँ छिमेकीको कति भर पर्नु ? आफ्नै पौरख र स्वाभिमानमा बाँच्न सक्नुपर्छ भन्ने सन्देश दिएका छन् । आफ्नै देशमा दक्ष जनशक्ति उत्पादन गरी श्रम गर्न लालायित हुनुपर्छ भन्ने उनको आशय छ ।

यतिमात्र होइन, आफूलाई प्रगतिशील गायक भनेर चिनाउने धीरेन्द्रका अन्य थुप्रै गीतसंंगीत जनताका पक्षमा मात्र समर्पित छन् । २०६५ सालबाट औपचारिक रुपमा देउडा गीतबाट सांगीतिक यात्रा सुरु गरेका शाहीले १३ वर्षको अवधिमा झण्डै सयको हाराहारीमा गीत गाएका छन् । आफै गीत रचना गर्ने, आफै संगीत भर्ने चेत भएका शाहीले प्रगतिशील धारलाई प्राथमिकता दिएको पाइन्छ । उनका गीतमा कर्णालीको पहिचान र राष्ट्रियताका आवाज पाइन्छन् ।

उनको पहिलो एल्बम ‘कुर्ची तानातान’ थियो । क्यासेटको समयमा रेकर्ड गरिएको एल्बममा उनको पहिलो गीत देउडा थियो, जुन गीत ‘भ्रष्टाचार विरोधी’ थियो ।

‘मरे ध्रुव तारा, जित्यौं भने संसार हाम्रै सुशासनका नारा ।’

यो शब्दले समाज परिर्वतनका लागि युवाहरूलाई जागरुक गर्न र सुशासनसहितको समाज निर्माण गर्न प्रेरित गरेको छ ।

१५ वर्षको उमेरमा कक्षा १० मा पढ्दै गर्दा औपचारिक रुपमा सांगीतिक यात्रा थालनी गरेका शाही पश्चिम दैलेखको विकट गाउँ साविकको तोलीजैशी गाविस–७ छडाथानमा जन्मिएका हुन् । दुर्गम बस्तीमा जन्मिए पनि प्रगतिशील चिन्तन राख्ने उनी सानै उमेरदेखि बाँसुरी बजाउनेदेखि विद्यालय र स्रोत केन्द्रस्तरीय कार्यक्रममा प्रायः गीत गाउने, सडक नाटक गरेर समाजमा चेतनाको विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गर्थे । औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेपछि आफ्नो भौगोलिक पहिचान बढाउने उद्देश्यका साथ प्रगतिशील धारका गीत–संगीतको माध्यमबाट समाज रुपान्तरणका निमित्त गीतहरू बजारमा ल्याउने र चेतना फैलाउने काम शाहीले गरेका छन् ।

शाहीले दोस्रो गीतको रुपमा ‘मेरो कुरा सुन, जहाँ टेक्छु त्यही जमिन भासिन्छ’ बोलको लोक गीत बजारमा ल्याएका थिए । उक्त गीतलाई शाहीले नेपाली सांगीतिक क्षेत्रको ‘टर्निङ् प्वाईन्ट’को रुपमा लिन्छन् ।  

शाहीको ‘रारा नसुकोस्’, ‘सुन नेता हो’, ‘गाउँघरबाट मजदुर किसान छुट्नु हुँदैन कोही फुट्नु हुँदैन’ लगायतका राष्ट्रियता बोकेका र ‘देखे सपनी’, ‘चौबन्दी चोली’, ‘हेराई ज्यानमारा’, ‘पानी खोलीको’, ‘दैलेख जिल्ला दुल्लु दरबार’, ‘राकम झरौंला’ लगायत दजनौं गीत छन् ।

यस्तै दसैँ–तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर ल्याईएका ‘नरुनु आमा छोरो सम्झेर’, ‘फर्की आउ परदेशी गाउँघर सम्झेर’, ‘लाहुरेको जुनी’ लगायतका गीत चर्चामा छन् ।

यस्तै देउडा गीतमा ‘तिनचुलीका अग्ला शीर’, ‘कर्णालीको बाटो’लगायतका छन् । कर्णालीको बाटो बोलको गीतमा कर्णाली राजमार्गमा हुने दुर्घटनाको विषयलाई उनले समेटेका छन् ।

नेकपा माओवादीले थालेको १० बर्षे सशस्त्र संघर्षको बेलामा दैलेखको दुल्लु दरबार जलाईएको थियो । सिंजा राज्यको हिउँदे राजधानीसमेत रहेको दुल्लुको त्यो दरबार ऐतिहासिक महत्व बोकेको शीतकालीन दरबार थियो । सोही दरबारको महत्त्वलाई दर्शाउँदै उनले ०६९ सालमा ‘दैलेख जिल्ला दुल्लु दरबार’ बोलेको गीत बजारमा ल्याएका थिए ।

गीत–संगीतबाट समाजमा चेतनाको सन्देश

भौगोलिकताको हिसाबले हेर्ने हो भने कर्णाली पिछडिएको प्रदेश मानिन्छ । तर कर्णाली अथाह सम्भावनाको खानी हो ।

‘यहाँ थुप्रै सम्भावनाका आधार छन् । गीतसंगीतका माध्यमबाट हामीले परिचर्चा पनि गर्‍यौं,’ शाही भन्छन्, ‘गीतसंगीतबाट समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान गर्न सकिन्छ भनेर नै मैले आफ्ना गीतमा हाम्रो समाजको यथार्थतालाई प्रतिबिम्वित गर्ने प्रयास गरेको छु ।’

गीत–संगीतको माध्यमबाट समाजमा चेतना छर्नु नै आफ्नो उद्देश्य रहेको उनले बताए । उनले भने, ‘त्यसैले गीत–संगीतकै माध्यबाट राजनीतिक दलहरूलाई समेत झक्झकाउने काम गरेको छु ।’

पछिल्लो समय गीत–संगीतमा माया, प्रेमका भावहरू मात्र प्रकट भएको पाइन्छ । तर, प्रगतिशील गीतहरू, क्रान्तिकारी गीतहरूको माध्यमबाट समाजको चित्रण गर्ने प्रयास शाहीले गरेका छन् ।

गाउँघरबाट मजदुर किसान हलो बोकी उठ

शहरबजार बुद्धिजीवि देश बनाउन जुट

पौरखी ती तिम्रा अब हात चलाउनु छ

यही धर्तीलाई खनजोत गरी सुन फलाउनु छ

होइन भने होइन भन कसो किसान दाई

हाम्रो पसिनाको मूल्य छैन हामीलाई

आमा बुबा दिदीबहिनी उठौं दाजुभाइ

शाहीको यो गीतको बिम्व नै फरक छ । यसले समाजको यथार्थता बोकेको छ । यो गीतमा सामान्य मजदुर, किसानका कुराहरू, पीडाहरू जोडिएका छन् ।

‘पहिलो कुरा त नेपाली राजनीतिक संस्कारमा परेको खडेरीलाई यहाँ समेट्ने प्रयास गरेको छु । अहिलेको राजनीतिक संस्कारले समाज परिर्वतन गर्न सक्दैन,’ शाही भन्छन्, ‘यो देश परिवर्तन हुनका लागि सबैले स्वार्थ त्यागौं, जसमा उद्योगी, किसान, पेसाकर्मी जुनसुकैलाई पनि आ–आफ्नो ठाउँबाट देश परिवर्तनका लागि जुट्न आह्वान गरिएको छ ।’

सुन नेता हो

मन्त्रीज्यूको छोरो होइन, नेताको नि होइन

राम्रो ठाउँमा जागिर खाउँ त चिनेको नि छैन

ए... सुन नेता हो, लोकतन्त्र नि आयो देशमा गणतन्त्र नि आयो

उस्तै छ भरिया, उस्तै छ हलिया के पायो जन्ताले

०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा शाहीले ल्याएको गीत हो यो । यस गीतले प्रचलित राजनीतिक विकृतिलाई प्रहार गरेको छ ।

‘अहिलेको परिवेश हेर्ने हो भने एउटा सामान्य संघसंस्थामा जागिर खानका लागि पनि नेताको चाकडी गर्नुपर्ने, उसको पाउ ढोक्नुपर्ने अवस्था छ,’ शाही भन्छन्, ‘मेहनत र परिश्रम गर्नेहरूले स्थान पाउँदैनन्, जो नेताको आसेपासे, वरिपरिको हुन्छ उसले नै अवसर पाउँछ ।’

यस्तो खालको राजनीतिक संस्कारले मान्छेहरू आजित बन्दै गएको अवस्थालाई आफूले गीतमा उतारेको उनको भनाइ छ । यही गीतभित्र उनले ‘गरिब भइयो, शोषित भइयो झुपडीको बास, त्यही ढिँडो, त्यही सिस्नु बदलिएन बास’ भनेर पनि गरिबको नियतिलाई चित्रण गरेका छन् ।

उनी आफ्नो अधिकांश गीत राष्ट्रियताका पक्षमा, गरिबी, निमुखाका पक्षमा रहेको दाबी गर्छन् ।

गीत–संगीतभित्रको विद्रोही

शाही आफूलाई गीत–संगीतभित्रको विद्रोही भन्छन् । ‘किनकि अहिलेको चलेको गीत–संगीतको धारभन्दा म फरक छु,’ उनी भन्छन्, ‘अहिले जतिसुकै गीत चले पनि ती भनेका क्षणिक हुन् । केही समयका लागिमात्र हुन्छन् । मैले गरेका गीत अहिलेको समयका लागिमात्र नभई युगका लागि हुन् ।’

अरु गीतहरूलाई प्रचार गर्नुपर्ने तर आफूले गाएका गीतहरू समयक्रम अनुसार, देशको परिस्थिति अनुसार आफै चल्ने उनको भनाइ छ । उनी गर्वका साथ भन्छन्, ‘अहिले कलाकारहरूले मिडिया खोज्ने प्रचलन छ । तर कुनै दिन हामीले रचेका गीतहरू समयले खोज्ने छ ।’

प्रगतिशील गीतहरू ओझेलमा

शाहीका अनुसार प्रगतिशील गीतहरूले जनताको मन छोए पनि मिडियामा स्थान पाउँदैनन् । ‘मिडियाले यस्ता गीतहरूलाई हेर्ने नजर नै भिन्न छ । जसका कारण यस्ता खालका गीतहरू ओझेलमा छन्,’ उनी भन्छन्, ‘मिडियाले कुनै पनि गीत–संगीतले समाजका लागि दिन खोजेको सन्देश के हो भन्ने कुरालाई स्थान दिनुपर्ने हो । तर अहिले रमाईलो, उत्ताउला खालका गीतहरूले स्थान पाएको हामी पाउँछौं ।’

क्रान्तिकारी गीत गाउँदैमा कलाकारलाई राजनीतिको ट्याग लाउने प्रचलन पनि गलत रहेको उनको भनाइ छ ।

गीत–संगीतसँगै बिमा क्षेत्रको जागिरे यात्रा

१५ वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेका शाहीले थुप्रै मेला–महोत्सवमा समेत भाग लिएका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिमका कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएका शाही गीत–संगीतसँगै अहिले बिमा क्षेत्रमा जागिर पनि गर्छन् ।

उनी यूनाईटेड इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख हुन् । उनी भन्छन्, ‘प्रगतिशील धारका गीत गाउने कलाकर्मीहरूलाई यो क्षेत्रले मात्रै आर्थिकोपार्जनको पाटोले सबल बनाउन सक्दैन । जसले गर्दा कुनै न कुनै पेसा समाउनुपर्ने बाध्यता हुन्छ ।’

त्यसैले आफू जागिरमा आवद्ध भएको उनले बताए । उनी जागिर गर्नुको मुख्य उद्देश्य भनेको परिवारप्रतिको उत्तरदायित्व नै रहेको बताउँछन् । ‘जागिर भनेको नियमित कमाईको आधार हो । जुन गीत–संगीतबाट सम्भव छैन,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप