मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विचारकहरु र राष्ट्रको नियति

मङ्गलबार, ०६ पुस २०७८, ०६ : ४९
मङ्गलबार, ०६ पुस २०७८

सोभियत संघको अन्तिम दुई दशकताका त्यो देशका प्रमुख विचारक थिए मिखाइल सुसलोव । सन् ६० को दशकको सुरुवातदेखि ८० को दशकको सुरुवातसम्म मिखाइल सुसलोवले सोभियत संघको गति र दिशालाई निर्देशित गरेका थिए । सुसलोव  खु्रश्चेव र ब्रेझ्नेव युगका मुख्य विचारक मानिन्थे । अझ १८ वर्षसम्म चलेको ब्रेझ्नेव युगको मुख्य हर्ताकर्ता मिखाइल सुसलोव नै थिए ।

ब्रेझ्नेव युगलाई सुस्तताको युग मानिन्छ । यसै समयमा सोभियत संघ अमेरिकाभन्दा पछाडि पर्‍यो र ब्रेझ्नेवको मृत्यु भएको ९ वर्षभित्रै सोभियत संघको विघटन भयो । मिखाइल सुसलोवलाई पार्टीको विचारक मानिए पनि उनको खास काम भने पार्टीका महासचिब ख्रुश्चेव वा ब्रेझ्नेवको भाषणमा लेनिनका समयमा सान्दर्भिक उक्तिहरू फिट गर्नु मात्र थियो ।

मिखाइल सुसलोव

सुसलोवको अफिसमा एउटा विशाल फाइल क्याबिनेट भएको दराज थियो । जसमा लेनिनका हजारौं भनाइहरू लेखिएका लाइब्रेरी कार्डहरू थिए । ती भनाइहरूलाई विषयवस्तु अनुसार व्यवस्थित गरिएको थियो । जब महासचिवको भाषण वा पार्टीको र पोलिटब्युरोले सुरु गर्न लागेको कुनै अभियान, आर्थिक कार्यक्रम वा अन्तर्राष्ट्रिय नीतिलाई बैधानिकता दिनु पर्थ्यो, मिखाइल सुसलोवको काम सुरु हुन्थ्यो । उनले आफ्नो दराज खोल्थे र त्यहाँ रहेका लेनिनका उक्तिहरू लेखिएका कार्डहरूलाई आफ्ना लामा र पातला औँलाहरूले पल्टाउँथे र तीमध्येबाट एउटा उपयुक्त उक्ति छनौट गरेर सम्बन्धित ठाउँमा फिट गरिदिन्थे । 

शीतयुद्धमा अमेरिकाको विजयको पूर्वसन्ध्यामा फ्रान्सिस फुकुयामाले The End of History and the Last Manभन्ने विचारोत्तेजक लेख लेखेका थिए । यो लेखमा फुकुयामाले के दाबी गरेका थिए भने अब पूर्व र पश्चिमबीचको विचारधाराको लडाइँ समाप्त भयो । यस लडाइँमा पश्चिमी उदारवादी प्रजातन्त्रले निर्णायक जित हासिल गर्‍यो ।

त्यस्तै अर्का महत्वपूर्ण विचारक थिए फ्रान्सिस फुकुयामा । अमेरिकी राजनीतिशास्त्री फुकुयामा अमेरिकी रास्ट्रपति रोनाल्ड रेगनको बहुचर्चित रेगन डक्ट्रिनका प्रतिपादक पनि थिए । रेगन डक्ट्रिनलाई ८० को दशकमा भएको सोभियत संघ विघटनको प्रमुख उत्प्रेरकका रुपमा मानिन्छ । 

फ्रान्सिस फुकुयामा

शीतयुद्धमा अमेरिकाको विजयको पूर्वसन्ध्यामा फ्रान्सिस फुकुयामाले The End of History and the Last Manभन्ने विचारोत्तेजक लेख लेखेका थिए । यो लेखमा फुकुयामाले के दाबी गरेका थिए भने अब पूर्व र पश्चिमबीचको विचारधाराको लडाइँ समाप्त भयो । यस लडाइँमा पश्चिमी उदारवादी प्रजातन्त्रले निर्णायक जित हासिल गर्‍यो ।

उनले थप के पनि दाबी गरे भने विश्वभर उदारवादी प्रजातन्त्र, खुला बजार अर्थतन्त्र र पश्चिमी जीवनशैलीको फैलावटले मानवताको सामाजिक–सांस्कृतिक विकासको अन्तिम चरण पुगेको संकेत गरेको छ । र, यो नै मानव समुदायले निर्माण गर्ने शासनको अन्तिम स्वरुप हो ।

अझ उनले प्रजातन्त्रलाई मानव क्रान्तिको अन्तिम रुप हो भनेर दाबीसमेत गरे । प्रजान्त्रका लागि पूर्वी यूरोप र सोभियत संघमा भएको आन्दोलनले फ्रान्सिस फुकुयामालाई त्यस बखत सही साबित गर्‍यो । अझ दुई बर्ष पछि सोभियत संघको विघटन र अमेरिकाले शीतयुद्ध जितेपछि फुकुयामालाई पुँजीवादको दार्शनिककै उपाधि दिन थालियो ।

तर, सिंगापुरका कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय राजनीतिका विद्वान किशोर महबूबानीका अनुसार फुकुयामाको यो निबन्धले अमेरिका र सम्पूर्ण पश्चिमी जगतको मस्तिस्कमा व्यापक रुपमा क्षति पुर्यायो । शीतयुद्धमा जितको उन्मादमा रमाइरहेको अमेरिका र पश्चिमी जगतलाई यो निबन्धले आँखामा पट्टी लगाइदियो । जसका कारण उनीहरूले चीनको उदय भएको थाहै पाएनन् । जब थाहा पाए, त्यसबेला धेरै ढिलो भैसकेको थियो ।

त्यस्तै एकजना अर्का विचारक छन् वाङ हुनिङ । वाङ हुनिङ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो, स्थायी समितिका सदस्य तथा सचिवालयका प्रथम सचिव हुन् । उनलाई वर्तमान चिनियाँ राष्ट्रपति सि जिनपिङका विचारकसमेत भन्ने गरिन्छ ।

वाङ हुनिङको जन्म सन् १९५५ मा संघाईमा भएको हो । उनले संघाईको फुडान युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरे । वाङ हुनिङ तीस बर्षकै उमेरमा प्राध्यापक बने । उनले सन् १९८८ मा ६ महिनासम्म अमेरिकाको आइओवा, मिचिगन र बर्कले युनिभर्सिटीहरूमा रिसर्च फेलोका रुपमा अध्ययन गरे ।

वर्तमान चिनियाँ राष्ट्रपति सि जिनपिङका महत्वपूर्ण कार्यक्रमहरू चिनियाँ सपना, बेल्ट एण्ड रोड, भ्रष्टाचार बिरोधी अभियानमा वाङ हुनिङको प्रभाव देख्न सकिन्छ । अझ केही चीन अध्ययन गर्ने सिनोलोजिस्टहरू सि जिनपिङ विचारधाराको निर्माणमा समेत वाङ हुनिङको भूमिका रहेको बताउने गर्छन् । अहिले केही समययता चीनमा केही सामाजिक सुधारका क्षेत्रमा केही कामहरू सुरु गरिएका छन् । तीमध्ये केही उल्लेखनीय कामहरू हुन्–

वाङ हुनिङको विलक्षण बौद्धिक प्रतिभा देखेर तत्कालीन चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव जियाङ जमिनले विशेष अनुरोध गरेर पार्टीमा भित्र्याएका थिए । वाङको बौद्धिकताकै कारण उनी जियाङ जमिन, हु जिन्ताओ र अहिले सि जिनपिङको कार्यकालमा समेत सक्रियरुपमा क्रियाशील छन् ।

वाङ हुनिङले अमेरिकामा अध्ययनका क्रममा रहँदा अमेरिकी समाजलाई सूक्ष्मरुपले अवलोकन र अध्ययन गरेका थिए ।  त्यसैका आधारमा उनले अमेरिका अगेन्स्ट अमेरिका (America Against America) भन्ने किताब लेखेका थिए । यो किताबलाई प्रसिद्ध फ्रान्सेली इतिहासकार तथा चिन्तक एलेक्सी डी टकभिलको डेमोक्रेसी इन अमेरिका (Democracy in America) संग तुलना गरिन्छ ।

वाङ हुनिङले अमेरिका अगेन्स्ट अमेरिका त्यसबेला लेखेका थिए, जब पूर्वी युरोपमा साम्यवादी सरकारहरू ढल्दै थिए, सोभियत संघ विघटनको संघारमा थियो र अमेरिका शीतयुद्धमा जितको नजिक थियो । त्यस बखत चीनले अमेरिकालाई चुनौती दिने कुनै सम्भावना पनि थिएन । बरु अमेरिकाको प्रतिस्पर्धी राष्ट्र जापान थियो । त्यसबेला वाङ हुनिङले अमेरिकाको सबल पक्ष र कमजोरीहरूको गहन अध्ययन गरेर यो पुस्तक लेखेका थिए ।

वाङ हुनिङका अनुसार चिनियाँ विद्वानका रुपमा उनमा चिनियाँ परिघटना र अमेरिकी परिघटना दुवै अध्ययन गर्ने दोहोरो उत्तरदायित्व थियो । जसले गर्दा आफूलाई र विश्वलाई झन् राम्रोसँग बुझ्न सकियोस् र चीनलाई बलियो बनाउने बाटो पहिल्याउन सकियोस् ।

वाङ हुनिङले आफ्नो पुस्तकमा अमेरिकाको सामाजिक राजनीतिक प्रणालीको गहन अध्ययन गरेका थिए । आफ्नो अध्ययनको निष्कर्षका रुपमा उनले भनेका छन् – जसरी अमेरिकामा व्यक्तिवाद, सुखवाद र प्रजातन्त्रमा जोड दिने परम्परा छ, यी विशेषताहरूले यो देशलाई अरु देशभन्दा तुलनात्मक लाभ दिएको छ । तर, यिनै विशेषताहरूका कारण अन्ततः ठूलो द्वन्द्व सिर्जना गर्नेछ र अमेरिकाको पतन हुनेछ ।

वाङ हुनिङले अमेरिकाको सामाजिक राजनीतिक प्रणालीलाई सामुहिकता, निस्वार्थता र अधिनायकत्वमा अडेको जापानजस्तो देशले जित्न सक्ने विचार व्यक्त गरेका थिए । २०२० मा भएको अमेरिकी रास्ट्रपति निर्वाचनमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अस्वीकार गरेपछि र उनका समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गरेपछि वाङ हुनिङले ३० बर्ष अगाडि लेखेको पुस्तक अमेरिका अगेन्स्ट अमेरिका फेरि चर्चित बन्न पुगेको थियो । त्यसबेला चीनभित्रको अनलाइन बजारमा धेरै पहिला नै आउट अफ प्रिन्ट भैसकेको यो पुस्तक आफ्नो मूल्यभन्दा तीन हजार गुणा बढी मूल्य अर्थात १६ हजार ५०० युआन (२५०० डलर) सम्ममा बिक्री भएको थियो। 

वर्तमान चिनियाँ राष्ट्रपति सि जिनपिङका महत्वपूर्ण कार्यक्रमहरू चिनियाँ सपना, बेल्ट एण्ड रोड, भ्रष्टाचार बिरोधी अभियानमा वाङ हुनिङको प्रभाव देख्न सकिन्छ । अझ केही चीन अध्ययन गर्ने सिनोलोजिस्टहरू सि जिनपिङ विचारधाराको निर्माणमा समेत वाङ हुनिङको भूमिका रहेको बताउने गर्छन् । अहिले केही समययता चीनमा केही सामाजिक सुधारका क्षेत्रमा केही कामहरू सुरु गरिएका छन् । तीमध्ये केही उल्लेखनीय कामहरू हुन्–

१. बालबालिकालाई हप्ताको तीनघण्टा भन्दा बढी भिडियो गेम खेल्न रोक ।

२. निजी ट्युसन र कोचिङ्गलाई प्रतिबन्ध ।

३. टीभीमा स्त्रीजन्य स्वाभाव भएका पुरुषहरू रहेको कार्यक्रमहरू प्रसारणमा रोक ।

४. सेलिब्रेटीका सन्तानहरूले भाग लिएका रियालिटी शोहरू प्रसारणमा रोक ।

५. टीभीमा महँगा कस्मेटिक सर्जरीहरूको विज्ञापन प्रसारण गर्न प्रतिबन्ध ।

६. ९–९–६ कार्य घण्टा बन्द गर्ने निर्णय । (चीनमा कामदारहरूले प्रायः कम्पनीहरूमा बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा, हप्ताको ६ दिन काम गर्नु अनिवार्य थियो । यो मजदुरविरोधी कार्यलाई अहिले बन्द गरिएको छ । )

७. निजी व्यवसायिक घरानाहरूमाथि नियन्त्रण ।

यी कामहरू केवल आधुनिकतामाथि परम्परागत सोचको हस्तक्षेप मात्र होइन । त्यस्तै, यी कामहरू फेरि अधिनायकवादतर्फको उल्टो यात्रा पनि होइन । यी बन्देजहरू अमेरिकाले भोगेजस्तै सामाजिक पतन चीनले पनि व्यहोर्नु नपरोस् भनेर सुरु गरिएको हो । ता कि चीन विकसित बन्दै जाँदा यो देश सम्पन्न, सन्तुलित र सुखी देश बनोस् । अमेरिकाजस्तै सामाजिक पतनले ग्रस्त देश नबनोस् भन्ने उद्देश्यले यी नियन्त्रणहरू सुरु गरिएका हुन् ।

यो सोचका पछाडि वाङ हुनिङले अमेरिकामाथि गरेको अध्ययनको प्रष्ट छाप देख्न सकिन्छ । राष्ट्रको उत्थान र पतनमा तिनका विचारक र दार्शनिकहरूको पनि मुख्य भूमिका हुने गर्दछ ।

महाशक्ति राष्ट्रहरूको विगत आधा शताब्दीयताका यी तीन विचारकहरू बारेको अध्ययनले सम्बन्धित देशको नियतिबारे केही जानकारी दिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केदार सिटौला
केदार सिटौला
लेखकबाट थप