बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संस्मरणमा रामप्रसाद वञ्जाडे

शनिबार, १० पुस २०७८, १० : ५३
शनिबार, १० पुस २०७८

मंसिर ८ गते विहान एकजना दाजुको फोन आयो । मैले भनेँ– शुभविहानी दाजु । उहाँले भन्नुभयो– खै के शुभविहानी भन्ने हो र ! उहाँको जवाफले म अचम्ममा परे । ‘किन के भयो र दाजु,’ मैले तत्काल प्रतिप्रश्न गरेँ । उहाँले रामप्रसाद वञ्जाडेको सडक दुर्घटनामा परी निधन भएको अनपेक्षित खबर सुनाउनु भयो । म छाँगाबाट खसेजस्तै भएँ । 

बुटवलमै रहेका भाइलाई फोन गरेँ । रामप्रसाद वञ्जाडे यही मंसिर ७ गते दाङदेउखुरीको भालुबाङको कार्यक्रममा सहभागी भएर फर्किदै हुनुहुन्थ्यो । सोही क्रममा विपरीत दिशाबाट आएको बसले साँझ ८ बजे ठक्कर दिँदा गम्भीर घाइते हुनु भएछ । र, उपचारका लागि बुटवल सिटी अस्पतालमा लगिएकोमा अर्को विहान ५ बजे निधन भएको थप जानकारी पाइयो  ।
 
उहाँको परिवारका सदस्यसँग मेरो राम्रो सम्बन्ध छ । तर टेलिफोन गर्ने हिम्मत आएन । अनि घुम्न थाले रामप्रसाद दाइसँगका स्मृतिका पानाहरू । २०५१ सालमा हुनुपर्छ, तत्कालीन संयुक्त जनमोर्चा नेपालको जिल्ला सम्मेलन थियो । सन्धिखर्क सभागृहमा भएको जिल्ला सम्मेलनमा उहाँ अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सदस्यको हैसियतले अतिथिको रूपमा त्यहाँ उपस्थित हुनुभएको थियो । २०५४ सालको असोज महिना अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला सम्मेलन थियो । पूर्णिमाको अघिल्लो दिन साँझ प्रायः तत्कालीन जनमोर्चाकालदेखि नै अर्घाको मैदानमा जनसभा र सांस्कृतिक कार्यक्रम हुने गर्दथ्यो । यो प्रक्रिया पछिसम्म जारी रह्यो । अहिले भने त्यो सिलसिला टुटेको छ । उहाँ हँसिलो मुद्रामा त्यहाँ उपस्थित हुनुहुन्थ्यो । त्यस दिन सम्मेलन समापन भई घोषणासभा र सांस्कृतिक कार्यक्रम भएको थियो । उहाँको जुझारु भाषण अहिले पनि स्मृतिमा ताजा छ ।

उहाँसँगको अर्को भेट २०५८ असोजमा जुरेको थियो ।  माओवादी पार्टी जनयुद्धमा गइसकेपछि पहिलो वार्ता चलिरहेको थियो । अर्घाकै मैदानमा जनसभा र सांस्कृतिक कार्यक्रम भयो । सञ्चालक वञ्जाडे दाइ हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन यति व्यवस्थित र रोमाञ्चित थियो कि निकट भविष्यमै माओवादी पार्टीले देश सञ्चालन गर्दैछ भन्ने आभाष हामीलाई भयो । हाम्रो अवस्था त्यहाँसम्म पुगिसकेको छ भन्ने उहाँले उद्घोष गर्नुभएको थियो । नभन्दै त्यही युद्धको बलमा केही वर्षमै सामन्ती राजतन्त्रको अन्त्य भयो र देशमा गणतन्त्र आयो । उहाँले भनेजस्तो देशमा माओवादीले सरकार सञ्चालन गर्ने अवस्था पनि आयो । तर रामप्रसाद वञ्जाडेले गरीब, दुःखी जनताको राज्य निर्माण गर्ने नेपाली जनताको लागि देखेका सपना भने आजसम्म पूरा हुन सकेन ।

त्यसपछि उहाँसँगको भेट माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि मात्रै भयो । उहाँ विभिन्न कार्यक्षेत्र हुँदै अर्घाखाँची जिल्लाको माओवादी पार्टीको इञ्चार्ज भएर जानुभएको रहेछ । जिल्लाको विकास निर्माणलगायतका सामाजिक कार्यहरूमा उहाँसँग भेट हुने नै भयो । तर जतिपटक उहाँसँग भेट भयो, उहाँमा उत्साह, देशको बारेमा सोच्ने विषय, जुझारूपन कहिल्यै कमी देखिएन ।

२०६४ को संविधानसभाको निर्वाचन पहिलेको कुरा हो । एकजना साथीले अर्घाखाँचीको तत्कालीन २ नम्बर निर्वाचन क्षेत्रका साथीहरूलाई रामप्रसाद वञ्जाडे दाइसँग भेट गराउनु भएछ । रामप्रसाद दाइ त्यसबेला खुसी मात्र हुनु भएन, ती साथीको संगठन गर्ने क्षमता र उहाँमा पत्रकारिता क्षेत्रको ज्ञान भएको देखेर पत्रकार महासंघ अर्घाखाँचीको सदस्य बनाउन सहयोग गर्नुभएछ । ती मित्र अहिले पनि जिल्लाको पत्रकार महासंघको सदस्य हुनुहुन्छ । यहाँ भन्न खोजेको के हो भने कार्यक्रर्ताको क्षमता चिनेर त्यहीअनुसार विकास गराउन सक्ने खुबी उहाँमा थियो । 

पहिलो संविधानसभाको निर्वाचनमा उहाँ अर्घाखाँची जिल्लाको तत्कालीन क्षेत्र नंंं. २ बाट संविधानसभाको उम्मेदवार हुनुभएको थियो । उहाँ आफै निर्वाचनमा उम्मेदवार हुँदाहुँदै पनि पार्टीको निर्देशनअनुसार क्षेत्र नं. १ का उम्मेदवार केन्द्रीय नेतृत्वलाई चुनाव जिताउन लाग्नुभयो । नभन्दै क्षेत्र नं. १ मा माओवादीको जित भयो । यसले पार्टी र क्रान्तिप्रतिको उहाँको दृष्टिकोण थप प्रष्ट हुन्छ । 

रामप्रसाद दाइसँग पछिल्लो समय कोभिड–१९ को पहिलो लहर निस्तेज भएपछि काठमाडौं, न्यूरोडमा भेट भयो । त्यतिबेला उहाँ पार्टीमा जिम्मेवारीविहीन हुनुहुन्थ्यो । तथापि, उत्साह र ऊर्जाको कुनै कमी थिएन । कोभिड–१९ लाई हुने खाने र व्यापारी वर्गले अलि बढी अतिरञ्जित गरेको र सरकारले सोहीबमोजिमको योजना वनाउन नसकेको उहाँको ठम्याइ थियो । 

कतिपय सन्दर्भमा उहाँका विवादित विषयहरू पनि सार्वजनिक नभएका होइनन् । तर उहाँको जीवनशैली र आरोपमा कहीँ कतै तादम्यता देखिँदैनथ्यो । सायद कतिपय व्यक्तिहरूले स–साना विषयहरूलाई बढाइचढाइ गरेर अतिरञ्जित गरेको देखिन्छ । उहाँ अन्तरसंघर्षको चपेटामा पर्नुभएको थियो ।  पार्टीमा अन्य कतिपय विवादित व्यक्तिहरूले ठाउँ पाइरहँदा, पार्टी एकताको बेलामा भूमिकाविहीन हुनुभएको थियो । फेरि पनि उहाँ कहिल्यै विचलित हुनुभएन । पछिल्लो समय माओवादी पार्टीले उहाँलाई रूपन्देही जिल्लाजस्तो महत्त्वपूर्ण ठाउँको जिम्मेवारी दिएको थियो । जीवनभर लाभका पद नलिएका रामप्रसाद वञ्जाडेका सामु ती सम्भावना पनि सामुन्ने आएको देखिन्थ्यो ।  उहाँको सादा जीवन, देश जनता र पार्टीलाई केन्द्रमा राख्ने कुरा कम्युनिस्ट आन्दोलनमा होमिएकाको लागि सिकाइको विषय हुन सक्छ ।        
 
शान्ति मावि धारापानी, अर्घाखाँचीमा अध्ययन गर्दा विद्यार्थी राजनीतिमा लाग्नुभएका रामप्रसाद वञ्जाडे नेकपा (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्यसम्म हुनुभएको थियो । २०५८ मा गोरखाको जौवारी चौकी कब्जा  गर्ने क्रममा प्राविधिक रूपमा दुर्घटना हुन पुग्यो । त्यस क्रममा उहाँ सख्त घाइते नै हुनुभयो । लामो समयको उपचारपछि निको हुनुभएका उहाँ वास्तवमा माओवादी आन्दोलनका जिउँदो शहीद हुनुहुन्थ्यो । 

उहाँको अर्को नाम टंकमणि थियो । उहाँका बारेमा गोपी ज्ञवाली दैनिक लुम्विनीमा लेख्नुहुन्छ– युद्ध चर्किंदै गर्दा जनमुक्ति सेनाका लागि युद्ध सामग्रीहरूको व्यवस्थापन, नेपालमा युद्ध चर्किंदै जाँदा नेपालका सहरी क्षेत्रमा रहेका छापाखानामा पार्टीका दस्तावेज, प्रकाशनहरू एवं पर्चा पम्पलेट प्रकाशनमा पनि कमरेड टंकमणिको महत्त्वपूर्ण भूमिका रह्यो ।

जनयुद्धको अन्तिम चरणमा सरकारी पक्षको निर्देशनमा नवलपरासीमा माओवादी प्रतिकार समूहको उदय भएको अवधिमा कमरेड टंकमणिलाई नवलपरासीको पार्टी जिल्ला इञ्चार्जको जिम्मामा पठाइएको थियो, जहाँ माओवादी प्रतिकार समितिलाई नियन्त्रणमा लिन कमरेड टंकमणिको महत्वपूर्ण भूमिकालाई बिर्सन मिल्दैन । युद्धकालमा टंकमणिको नेतृत्वमा सम्पन्न गरेका अनेक घटना छन्, जसलाई अहिले यो आलेखमा लेख्न सम्भव छैन ।  
बुटवलमा संगठन विस्तारको विषयमा रामप्रसाद वञ्जाडेभन्दा पुराना विद्यार्थी नेता विनबहादुर कुँवर लेख्नुहुन्छ– बुटवलमा संगठन निर्माण गर्दा रामप्रसादकै नेतृत्वमा यहाँ विद्यार्थी संगठन बन्यो । २०४५/०४६ सालपछि त जहाँ हेरौं मसाल अनि जहाँ हेर्यो अखिल छैठौं नै भयो । लुम्बिनी अञ्चलभरि नै मसाल पार्टी र अखिल छैठौंको निर्माण र विस्तारका लागि कमरेड रामप्रसाद वञ्जाडेको ठूलो योगदान रहेको थियो ।  

यसरी विद्यार्थीकालदेखि जीवनको अन्तिम क्षणसम्म रामप्रसाद वञ्जाडे संघर्षशील जीवन ब्यतीत गर्नुुभयो । उहाँ प्रष्टवक्ता हुनुहुन्थ्यो । चाकडी/चाप्लुसी भन्ने शब्दावली उहाँको ‘ज्ञानकोश’मा थिएन । जनता–कार्यकर्ताको पीरमर्का बुझ्ने र समाधान गर्नेमा उहाँ सधैं अगाडि उभिनुहुन्थ्यो । जनयुद्धका आँधीमय दिनहरूमा दुस्मनसँग लुकामारी खेल्दै, शक्तिशाली बम विस्फोटबाट समेत जोगिन सफल जिउँदा शहीद रामप्रसाद वञ्जाडे (टंकमणि शर्मा) ले सडक दुर्घटनामा भने हार्नुभयो । मात्र ५५ वर्षको उमेरमा उहाँ सदाको लागि यस संसारबाट अस्ताउनुभयो ।  भौतिक रूपमा अस्ताए पनि सम्झनामा उहाँ सधैं अमर रहिरहनु हुनेछ । अलबिदा रामप्रसाद दाई !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गंगा पन्थी
गंगा पन्थी
लेखकबाट थप