सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले सम्मेलनबाट के पारित गर्नुपर्छ ?

आइतबार, ११ पुस २०७८, ११ : ११
आइतबार, ११ पुस २०७८

मानव दासत्वले मानव मुक्तिको सवाल खडा गरेको हो । दमन र अत्याचारले विद्रोहको सिर्जना गरेको हो । यदि अन्याय हुँदैनथ्यो भने न्यायको कुरै आउँदैनथ्यो । अदि शोषण हुँदैनथ्यो भने मुक्तिको कुरै जन्मिने थिएन । विश्वमा जब मानव शोषण, दमन र अत्याचार ब्याप्त भयो, जब मान्छेले मान्छेलाई पशुसरह दासको रुपमा निजी स्वार्थका लागि प्रयोग गर्ने र किनबेचसम्म गर्ने अमानवीय कूकर्मले सीमा नाघ्यो, तब मुक्तिको कुरा उठ्यो । मान्छेहरु सामूहिक आवाज निकाल्न थाले, संगठित हुन थाले र दलहरु स्थापना भए । मुक्ति या मृत्युका नारा घन्किए । ‘मर्ता क्या नै कर्ता’ जस्ता हिन्दी उखानले सार्थकता पाए ।

विश्वमा सुसंगठित र संस्थागत रुपमा मानव मुक्तिको पहिलो उद्घोष कम्युनिष्टले गरे । त्यसको सैद्धान्तिक व्याख्या  कार्ल मार्क्सले गरे । समाज विकास र विभेदका चरित्रको चित्रण मात्र गरेनन्, बरु त्यसबाट सम्पूर्ण मानव मुक्ति र समतामूलक विश्वको समेत परिकल्पना गरेर सुत्रबद्ध गरे । जसलाई वैज्ञानिक समाजबाद हुँदै साम्यवादको नाम दिए । कम्युनिस्टहरु आफै पनि सर्वहारा हुन्छन् अथवा कोही ब्यक्ति हुने खाने वर्गकै भए पनि सर्वहारा तथा उत्पीडित वर्ग समुदायको मुक्ति अझ भनौ सम्पूर्ण मानव मुक्तिका खातिर आफूलाई समर्पित गर्दछन भने ती पनि असल कम्युनिस्ट हुन् । उदाहरणको रुपमा कार्ल मार्क्सका सहयोद्धा कमरेड फेडेरिक एङ्गेल्सलाई लिन सकिन्छ । त्यसैले त संसारमा निम्छरा वर्गले कम्युनिस्टलाई विश्वास गरेका हुन् । सामन्ती वर्ग र पुँजीपति सोच चिन्तनहरुले कम्युनिस्टलाई खतराको रुपमा हेर्ने गरेका हुन् । कम्युनिस्टहरुले नै रुस, चीनजस्ता विश्वको अधिकांश जनसंख्या र भूगोल ओगटेका देशहरुलाई छोटो समयमै निक्कै तल्लो स्तरबाट विश्व शक्तिमा दर्ज गरिदिए ।

हाम्रो नेपालमा पनि त्यसै विश्वासका साथ कम्युनिस्ट पार्टीको स्थापना गरिएको हुनाले अधिकांश नेपाली जनताले कम्युनिस्ट मन पराए । अपसोच कम्युनिस्टहरुले आफ्नो चरित्र निर्माण र सुन्दर आदर्शको अनुसरण गर्न नसक्दा नेपालमा मात्र हैन, विश्वमै कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा गयो ।

अहिले माओवादीले विचारको विकास र नेतृत्व निर्माणको नारा दिएर  पुराष्ट्रिय  सम्मेलन गर्दैछ । फेरि पनि उसले आफूलाई  निजी स्वार्थबाट अलग गर्न  सक्दछ  कि सक्दैन ? अरुभन्दा फरक बनाउन सक्छ या अरुहरुजस्तै कम्युनिस्ट शब्दलाई कमाइ खाने भाँडोको रुपमा प्रयोग मात्र गर्दछ ? यो गम्भीर सवाल हो । माओवादीहरुको भविष्य निर्माणको एउटा दरिलो बिषय यो हुन आएको छ ।

नेपालमा पनि कम्युनिस्ट भन्ने शब्द लोकप्रियताको लागि मात्र उपयोग गर्ने प्रचलन विकास भयो । त्यस्तो खालको अवसरवादी सोच  र चिन्तनलाई परास्त गर्दै र आफूहरुलाई सम्पूर्ण रुपमा मानव मुक्तिका लागि समर्पित गर्दै तत्कालीन नेकपा माओवादीले महान जनयुद्धको शंखनाद गर्‍यो । त्यसले विश्वमा साँघुरिदै गएको कम्युनिस्टको साखलाई नयाँ विश्वास प्रदान गर्‍यो । नेपालमा शोषित उत्पीडित वर्गको उल्लेख्य सहभागिता र समर्थन रह्यो । त्यसले क्षणभरमै नेपालमा मात्र हस्तक्षेप गरेन बरु विश्व साम्राज्यवादलाई नै चुनौती दियो र हलचल ल्यायो । यसो हुनुको रहस्य के थियो ? त्यसको एउटै बलियो आधार भनेको निजी  स्वार्थलाई त्याग गर्न सक्ने आत्मबल नै थियो । जब हामीभित्र स्वार्थ रहँदैन, तब न पद चाहिन्छ, न त प्रतिष्ठा नै । न त धन चाहिन्छ, न त सुख सयल नै ।

मान्छेले आफ्ना निजी स्वार्थ त्याग्न सक्यो भने जुनसुकै महासमर पनि विजय गर्न सक्दछ । भन्न त सही विचार र कुशल नेतृत्वले मात्र आन्दोलनलाई सही दिशा दिन सक्दछ भनिन्छ । तर मेरो बुझाइमा सही विचार र कुशल नेतृत्व तब जन्मिन्छ, जब व्यक्तिले आफ्ना निजी स्वार्थलाई परास्त गर्दै सबल आत्मनिर्णयमा विजय प्राप्त गर्न सक्दछ । हो, त्यही महत्वपूर्ण पक्ष नै माओवादी आन्दोलनको उचाइको प्रमुख आधार थियो ।

जनयुद्ध ताका माओवादीले एउटा नारा ल्याएको थियो, ‘परिवारको पार्टीकरण, पार्टीको सामाजिकीकरण’ । साँच्चै गर्व गर्न लायक नारा थियो त्यो । केन्द्रदेखि तलतिर लागू गर्ने निर्देशन थियो । त्यो जिल्ला कमिटी र एरिया कमिटीसम्म लागु हुन खोज्दै थियो । धेरैजसो नेताहरुले आफ्ना परिवारलाई पूर्णकालीन बनाएर पार्टीको विभिन्न काममा लगाए । असारे काकाको जीवन संगिनी पार्टीको उत्पादन कार्यदलमा काम गर्थिन् र अचार बनाउँथिन् । उनको नाम नै ‘अचारे काकी थियो’ । उनी नमुना हुन्, यस्ता थुप्रै परिवार बनिसकेका थिए।

परन्तु शान्ति  प्रक्रियापश्चात् ती त कता गए थाहा भएन । बरु ती आफूलाई सम्पूर्ण रुपले क्रान्तिमा समर्पित गरेका महान नेताहरु विकृत संसदवादी र पुँजीवादी  नेताहरुलाई पछि पार्दै बिस्तारै ब्यक्तिगत सम्पत्ति थुपार्ने र पद र प्रतिष्ठाको लागि नैतिकतासमेत तिलाञ्जली दिने प्रवृत्ति हावी भयो । र, आम उत्पीडित जनताको विश्वासमा बादल लाग्यो । माओवादीलाई चौतर्फी घेराबन्दीमा राखेर जनतामा अपराधिक करार गर्ने प्रयत्न निक्कै भयो र केही जनतामा त्यो गलत विश्वास पनि कन्ठस्थ बनाइयो । तर मुख्य कुरा आफै भित्रको निजी स्वार्थले जित्दै जानुले पार्टी  गलत दिशामा गएको हो ।

यति हुँदाहुँदै पनि नेपाली राजनीतिमा उत्पीडित वर्ग समुदायको लागि अझै केही आशा भनेको माओवादीप्रति नै छ । माओवादीका आस्थाको मत अझै सुरक्षित छ । भलै  विचार र  व्यवहारमा  एकरुपता न आउँदा त्यो छिन्न भिन्न भइरहेको छ ।

अहिले माओवादीले विचारको विकास र नेतृत्व निर्माणको नारा दिएर  पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा आफ्नो राष्ट्रिय  सम्मेलन गर्दैछ । फेरि पनि उसले आफूलाई  निजी स्वार्थबाट अलग गर्न  सक्दछ  कि सक्दैन ? अरुभन्दा फरक बनाउन सक्छ या अरुहरुजस्तै कम्युनिस्ट शब्दलाई कमाइ खाने भाँडोको रुपमा प्रयोग मात्र गर्दछ ? यो गम्भीर सवाल हो । माओवादीहरूको भविष्य निर्माणको एउटा दरिलो बिषय यो हुन आएको छ ।

संस्कार र संस्कृति माथिबाट लागू हुन्छ । आमाबाबुले जस्तो सिकाउँछन्, छोराछोरी त्यस्तै सिक्दछन् । हिजो ब्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने संस्कार नेतृत्वबाटै सुरुवात गरिएको थियो र तलसम्म पुगेको थियो । अहिले पनि यदि पार्टीलाई जनता माझ लोकप्रिय बनाउने र आफ्नै नेतृत्वमा सकेसम्म आफ्नै पालामा माओवादीहरुले  समाजवादी क्रान्तिको नेतृत्व लिने हो भने सम्मेलनले एउटा चोटिलो निर्णय गर्न आवश्यक छ । शुद्धीकरण आफैँबाट सुरु हुन्छ, अरुलाई हिलो छ्याप्न त सबैले सजिलै सक्दछन् तर महान व्यक्तिहरुले मात्र आफूलाई शुद्धीकरण गर्दछन् र अरुको अनुसरणीय बन्दछन् । माओवादी पनि  अरुजस्तै हो भने किन यति शहीदको रगत बगाएको ? किन अलग पार्टी बनाएर खिचडी पकाइरहनु ? त्यसैले यतिबेला आफ्नै शिरमा आगो झोस्न नितान्त जरुरी छ । निजी स्वार्थमाथिको विजयले मात्र छिन्न भिन्न रहेको आफ्नो सम्पूर्ण शक्ति पनि सहज रुपमा एकताबद्ध हुन सक्नेछ ।

के हामीलाई ती सहयोद्धा जसका परिवार आज पीडादायी जीवन बिताइ रहेछन्, तिनको अवस्थाले कत्ति पनि पोल्दैन ? शहीदका परिवारसंग एक माना चामल र ओत लाग्ने घर छैन । तर, हाम्रा छोराछोरी पढ्नकै लागि सबैभन्दा महङ्गा विद्यालय र विदेश जानु पर्ने ? हामीलाई महङ्गा गरगहना र सुट–बुट चाहिने ? यस बिषयमा  माओवादीहरुले मम भन्न आवश्यक छ ।

 माओवादी अध्यक्ष प्रचण्डले  बारम्बार भन्ने गरेका छन्, ‘हामी बिग्रेकै छौँ, यो सत्य आत्मालोचना हो । आत्मालोचनाले मात्र पुग्दैन, आत्मालोचनाले चरित्र र प्रवृत्तिमा सकरात्मक बदलाव ल्याउन जरुरी हुन्छ । सामान्य हेरफेरले सुध्रने गरेर माओवादीहरू बिग्रेका छैनन् । हो, अरु दलका नेता कार्यकर्ताभन्दा माओवादीहरू असल छन् । तर, चरित्र र व्यवहारले उनीहरु पनि त्यही पुँजीवादी  र स्वार्थी फोहोरी खेलमा रुमल्लिरहेको प्रष्ट देख्न सकिन्छ ।

अब माओवादी नेताहरुले आफ्ना चरित्र र व्यवहारलाई पूर्णतया  उल्ट्याएर पुरानै सुन्दर चरित्र र व्यवहारमा रुपान्तरण गर्न आवश्यक छ । हिजोका हजारौं हजार शहीद र बेपत्ता योद्धाहरुले के पाए ? के हामी सुख सयलको बाटोमा हिँडिरहेका छौ ? के हामीलाई ती सहयोद्धा जसका परिवार आज पीडादायी जीवन बिताइ रहेछन्, तिनको अवस्थाले कत्ति पनि पोल्दैन ? शहीदका परिवारसंग एक माना चामल र ओत लाग्ने घर छैन । तर, हाम्रा छोराछोरी पढ्नकै लागि सबैभन्दा महङ्गा विद्यालय र विदेश जानु पर्ने ? हामीलाई महङ्गा गरगहना र सुट–बुट चाहिने ? यस बिषयमा  माओवादीहरूले मम भन्न आवश्यक छ ।

अहिले पार्टीलाई नयाँ उचाइमा उठाएर देशलाई कायापलट गर्न आवश्यक छ । यतातिर आगामी अधिवेशनले के कति सोच्न र निर्णय लिन सक्दछ ? के साँच्चै फेरि पनि माओवादी पूर्ण समर्पित निशस्त्र युद्धमा विजयी बन्न सक्ला ? के साँच्चै निजी स्वार्थरुपी सर्वहारा विरुद्धको चरित्रबाट विजय प्राप्त गरेर आफूलाई चे ग्वेभारा, फिडेल क्यास्त्रो, ह्युगो चावेज बनाउन सक्ला ? के साँच्चै  फेरि पनि शहीदको रगतलाई उचित न्याय दिन सक्ला ? यसको वैचारिक निकास नेतृत्व र विचार निर्माणको लागि आह्वान गरिएको राष्ट्रिय सम्मेलनबाट आउनेछ भन्ने अपेक्षा आमनेपालीले गरेका छन् ।

अन्त्यमा, विचारले उचाइ चुमोस्, पार्टी सशक्त बनोस्, देशले निकास पाओस्, जनताले विकास पाओस् । महाधिवेशनमा रुपान्तरण भएको माओवादी राष्ट्रिय सम्मेलन सफलताको भव्य शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप