चापागाईंले ल्याए ‘अनौठो वरदान’
पौराणिक कथामा आधारित महेश्वर चापागाईंको ‘अनौठो वरदान’ चित्रकथा प्रकाशित गरिएको छ । दीपक थामीको चित्राङ्कन रहेको यस चित्रकथामा घमण्ड, अहंकार र दम्भले मानिसलाई पतनको बाटोतिर कसरी उन्मुख गराउँछ भनेर देखाइएको छ ।
कथाबस्तुअनुसार राजा हिरण्यकशिपु अमरत्व प्राप्त गर्न चाहन्छन्, जसका लागि उनी हिमालय पर्वतमा भगवान् ब्रह्माको कठोर तपस्या गर्न थाल्छन् । उनी ब्रह्माबाट अमरत्वको वरदान प्राप्त गर्न सफल पनि हुन्छन् । हिरण्यकशिपुले अमरत्वको वरदान प्राप्त गरिसकेपछि स्वयं आफैलाई देवता घोषणा गरेर स्वर्ग, पृथ्वी र पाताल कब्जा गर्छन् । सम्पूर्ण जगत उनको आतंक र अन्यायबाट भयभित हुन्छ । तर हिरण्यकशिपुका छोरा प्रह्लाद भनेआफ्नो बुबाको दम्भ र अहंकार स्वीकार्न तयार हुँदैनन् ।
कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथा ५ वर्ष वा माथिका बालबालिकाको लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा ८ वर्ष माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त छ । चापागाईंको यो पहिलो बाल पुस्तक हो ।