सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिलाको जीवन : ‘सोचेझैं जिन्दगी रैनछ’

शुक्रबार, १६ पुस २०७८, १५ : ५८
शुक्रबार, १६ पुस २०७८

सामान्य आँखाले महिलाको जीवन हेर्दा कति सजिलो र रहरलाग्दो देखिन्छ । तर महिलाको भागमा शायद यही गीत गुन्गनाउन लेखिएको छ, ‘सोचेझैं जिन्दगी रैनछ’ । बाल्यकालको त्यो रहर, जवान बेलाको त्यो सपना, अनि सपना अनुसारको ‘राजकुमार’ नपाउँदाको त्रास, त्यसपछि बुढेसकालको एक्लोपन । बुढ्यौलीमा पुरुषले पुनः बिहे गर्न अनुमति पाउँछ तर महिलाले जवानमै पति गुमाए पनि विधवा जीवन बिताउनु पर्ने हुन्छ । बाल्यकालमा बाबुआमाको सहारा, जवानमा पतिको सहारा अनि बुढ्यौलीमा छोराछोरीको सहारा । छोरी, श्रीमती र आमा यी तीनवटै भूमिका निभाउन त्यति सजिलो कहाँ पो छ र ? शायद यस्तै भएर एकजना विद्वानले भनेका छन् कि महिला एउटा लहरा हो, जो नजिकैको रुखमा बेरिएर जिन्दगी जिउन बाध्य हुन्छे । 

आफूलाई कसैले केही भनिहाले पनि चुप लागेर बस्नुपर्ने नियम हाम्रो समाजले बनाएको छ । सानैदेखि सुन्दै आएको कुरा छोरी भएपछि सहन सक्नु पर्छ । सबै कामधन्दा सिक्ने क्रमसँगै बाल्यकालदेखि सहन पनि सिकिँदो रहेछ । हेर्दा कति सरलजस्तो देखिन्छ जीवन तर त्यो भित्रको रोदन व्याख्या गर्न सकिदैन । त्यसो त जहाँ महिला नै महिलादेखि सुरक्षित छैनन् भने पुरुषबाट झन के नै आश गर्नु ।
यो समाजले दिएको कठोर वचनले होला, मलाई अहिले आफू बाहिरी रुपमा निकै बलियो झैं लाग्छ । तर कहिलेकाहिँ आफ्नै साथीभाइहरुका अनुभव सुन्दा मुटु निकै दुःखेर आउँछ । एकजनाले भनेकी थिइन्, “बाल्यकालदेखिको आफन्तकै त्यो नराम्रो र घिनलाग्दो छुवाइ अनि गरेको दुव्र्यवहार, हेराइ सबै सहँदा सहँदै कुनबेला मनमा घृणा भरिन्छ थाहा नै नहुँदो रहेछ । अहिले सम्झिँदा निकै गाह्रो भएर आउँछ ती घृणाले भरिएका क्षणहरु ।” अहिले हजारौंको भीडमा हुँदा पनि ती कुराले उनलाई एक्लै बनाउँछ । 

आफूलाई कसैले केही भनिहाले पनि चुप लागेर बस्नुपर्ने नियम हाम्रो समाजले बनाएको छ । सानैदेखि सुन्दै आएको कुरा छोरी भएपछि सहन सक्नुपर्छ । सबै कामधन्दा सिक्ने क्रमसँगै बाल्यकालदेखि सहन पनि सिकिदो रहेछ । हेर्दा कति सरलजस्तो देखिन्छ जीवन तर त्यो भित्रको रोदन व्याख्या गर्न सकिदैन ।

सानी छँदा मेरो साथीलाई गरिएको त्यो अभद्र व्यवहार, त्यो चिच्याएको आवाज तर सुन्नलाई कोही नभएको अवस्था । यस्ता कहालीलाग्दा कुरा सुन्दा मुटु छिया छिया हुन्छ ।  उनका अनुसार कति पटक अरुले के भन्ला भन्ने डरले चुप लागिन्छ त कति पटक बा आमाको इज्जत जान्छ कि भन्ने  डरले । त्यसैले, आफू चुपचाप बस्दा बाल्यकालको अन्जान गल्तीलाई हतियार बनाएर पछिसम्म फाइदा उठाउन खोज्नेको कमी छैन यहाँ । 

एकान्तमा लोभ देखाएर फाइदा उठाउने, अनेकौँ यस्ता घटनाबाट पीडित हुँदै आइरहेका छन् चेलीहरु । भन्न त नारी पुरुष बराबर भन्छन् तर वास्तविक जीवनमा भने त्यस्तो नहुँदो रहेछ । ती गिद्दे नजरहरु हरेक बेला वरिपरि घुमिरहँदा अनेकौं सोचहरु आउँदा रहेछन् । अनि कहिलेकाहीँ कामकै सिलसिलामा रात पर्यो भने डराएर हिँड्नुपर्ने बाध्यता हुन्छ । बरु भुस्याहा कुकुरसँग डर लाग्दैन तर दुइखुट्टे विवेकहीन पुरुषसँग डर लाग्छ । 

नारीको जीवनमा हरेक पाइलामा अनेकौँ कठिनाइ, बाधाहरु आइपर्छन् । अझ दिनहुँझैं बलात्कारको घटना सुन्दा आफू छोरी भएर किन जन्मिए जस्तो हुन्छ । अस्ति भर्खरै घटेको त्यो घटना, जहाँ ५ बर्षीया बालिका बलात्कृत भइन् । मान्छेको नजरमा दोषी त त्यै बालिका नै हो नि ! आखिर किन एक्लै घरबाहिर हिँडी ? किन छोटो कपडा लगाइ ? किन केटाहरुसँग मस्किँदै बोली ? अझ कोही त यतिसम्म नि भन्छन् कि ठिक्क भयो, त्यस्तालाई त्यस्तै हुनुपर्छ । मान्छेको सोच यतिसम्म ‘घटिया’ हुन्छ कि उता एकजना निर्दोषको ज्यान गएको हुन्छ, यता उसलाई मृत्युपछि पनि अनेकौँ शब्दवाणले अपमानित गरिन्छ ।  तर त्यो ५ वर्षिय बालिकाको के दोष, जसले भर्खर खेल्ने कुद्ने उमेरमा कलिलो अवस्थामै आफ्नो ज्यान गुमाउन पर्यो । महिला पुरुष बराबर भन्नेबेला के अहिले पनि महिलाले यसरी नै ज्यान गुमाउनु पर्ने हो ? भोलि कतै मेरैबारे यस्तो खबर आउने त हैन ? भोलि गएर मेरै बाउ आमाले यो पीडा भोग्नुपर्ने त हैन ? मलाई यस्तै खालका प्रश्नले कहिलेकाहीँ दिन रात पिरोल्ने गर्छ । 

हरेक छोरीको मस्तिष्कमा यस्तो छाप बसेको छ कि आफ्नो गल्ति नहुँदा पनि समाजले मलाई नै दोषी देख्छ कि भन्ने । र, इज्जतकै लागि चुपचाप बस्नुपर्ने । यदि पहिलेदेखि नै छोरीले सहनु हुँदैन भन्ने आत्मबल बढाएको भए शायद यौन दुव्र्यवहारको घटनामा कमी आउने थियो । यो सबै दोष कसको त ? समाजकै होइन र ? तर समाज कसले बनाउँछ ? हामीले नै होइन र ? तपाईं हामीबाटै समाज बन्छ भने हाम्रै चेलिबेटीहरु किन असुरक्षित ? आखिर चेलिबेटीहरु कहिलेदेखि स्वतन्त्र भएर हिँड्न पाउने ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप