सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेफामा जनस्वास्थ्यकर्मीहरूको कित्ताकाट किन ?

मङ्गलबार, २० पुस २०७८, १० : ४५
मङ्गलबार, २० पुस २०७८

नेपाल जनस्वास्थ्य संघ (नेफा) तीन दशकअघि स्थापना भएको विशुद्ध पेशागत संस्था हो । यसमा जनस्वास्थ्यको क्षेत्रमा कार्य गर्ने प्राविधिक र व्यावसायिक जनशक्तिहरुको समन्वय र सहकार्य छ । स्वास्थ्य सूचनामा पहुँच पुर्याई जनताको स्वास्थ्य अवस्थामा गुणस्तरीय सुधार ल्याउन टेवा पुर्याउने नेफाको ध्येय छ । 

विगतको निरन्तरतास्वरुप आगामी पुस २४ गते हुन गइरहेको नेफाको चुनावमा स्पष्ट कित्ताकाट देखिएको छ । स्थापनाको उद्धेश्य पवित्र भए पनि प्रायः चुनावी समयमा मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा छाउने यो संस्था अघिपछि गुमनाम जस्तै हुने गरेको छ । विभिन्न दल र गुट निकट जनस्वास्थ्य कर्मीहरुको प्यानलसहित चुनावी घोषणा पत्र वा प्रतिवद्धता पत्र हेर्दा कुनै खोट देखिदैन । तर, विगतका प्रतिवद्धताको कार्यान्वयन अवस्था हेर्दा भने उदेक लागेर आउँछ ।

सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने संस्था र यसका सदस्यहरु, राजनीतिक र गुटगत पूर्वाग्रह बोकेर प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक अभ्यासका हिसाबले त ठिकै होला । तर यसले संस्थागत उन्नतिभन्दा राजनीति मात्रै हावी हुने उत्तिकै खतरा रहन्छ । त्यसैले जनस्वास्थ्यकर्मीहरुले यसपटक मतदान गर्दा के को आधारमा प्रतिनिधि छान्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ । नेफाको आजीवन सदस्यको नाताले मतदानको माहोलमा निम्न बुँदामा ध्यान पुर्याउन सके वेश हुने देख्छु । 

१) गुटगत आस्थाका आधारमा मतदान नगरौं । बरु अबको कार्यसमिति पदाधिकारी र सदस्यहरु चयन गर्दा पेसा, विषय विज्ञता, पेशागत योगदानका आधारमा मात्र मतदान गरौं ।  

जनस्वास्थ्यकर्मीलाई उपयोग गर्ने प्रमुख आधिकारिक निकाय स्वास्थ्य मन्त्रालय हो । तर संघीय मन्त्रालयमा अहिलेसम्म जनस्वास्थ्य कर्मीको दरबन्दी ५१३ जनाको मात्र छ । जबकि स्वास्थ्य ब्यवसायी परिषदमा दर्ता भएका जनस्वास्थ्यकर्मीको संख्या ५ हजारको हाराहारीमा छ ।

२) नेपालमा जनस्वास्थ्यका क्षेत्रमा व्यापक विकृति छ । त्यसलाई नियमन र निराकरण गर्न विगतको घोषणा पत्रहरूमा भनिएजस्तो जनस्वास्थ्य परिषदको परिकल्पना कहाँ पुग्यो ? जस्तै प्रत्येक तहमा नयाँ दरबन्दी सिर्जना, उत्पादन र खपतको सन्तुलनका लागि कस्ता प्रयास भए ? समय सापेक्ष पाठ्यक्रमको विकास र सुधार बारेमा नेफाले कति प्रगति गर्यो भन्ने कुरामा प्रश्न गरांै । घोषणापत्र मात्र नहेरौँ, यसमा विगतको बस्तुगत प्रगतिसँग तुलना पनि गरौं । 

३) नेपालमा जनस्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र वितरण निकै चिन्ताजनक अवस्थामा छ । विद्यमान अवस्थामा जनस्वास्थ्यकर्मीको उत्पादन हेर्ने हो भने लगभग ३१  वीपीएच र  ८ एमपीएच कलेज सञ्चालनमा छ । यी कलेजबाट मात्र बार्षिक १५ सय भन्दा माथि जनशक्ति उत्पादन हुन्छन्, जसमा विदेशबाट पढेर आउने संख्या पनि उल्लेख्य छ । 

जनस्वास्थ्यकर्मीलाई उपयोग गर्ने प्रमुख आधिकारिक निकाय स्वास्थ्य मन्त्रालय हो । तर संघीय मन्त्रालयमा अहिलेसम्म जनस्वास्थ्यकर्मीको दरबन्दी ५१३ जनाको मात्र छ । जबकि स्वास्थ्य ब्यवसायी परिषदमा दर्ता भएका जनस्वास्थ्यकर्मीको संख्या ५ हजारको हाराहारीमा छ । त्यसैले, अबको नेतृत्व  स्वास्थ्य मन्त्रालय र राज्य सञ्चालनका अन्य निकाय साथै राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थाहरूसँग समन्वय गर्न सक्ने नेतृत्वको आवश्यकता छ ।

४) जनस्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति (ब्रेन ड्रेन) सम्बन्धि समस्याको समाधान निकाल्न विदेशबाट जनस्वास्थ्य बिषय अध्यन गरेकाहरुको समस्याको समाधानको बारेमा पनि संघले सुझबुझका साथ कदम चाल्नु पर्ने अवस्था छ । उदाहरणका लागि अहिलेको अवस्थामा कुनै नेपालीले जोन हप्किन्स विश्वविद्यालयबाट एमपीएच गरेर आयो भने त्यसले नेपालमा समकक्षता नपाउने वातावरण छ । तर उसले संसारको वा नेपालको कुनै कलेजमा गयो र दुई वर्ष बिताएर आयो भने उसले समकक्षता पाउँछ । किनकि उक्त व्यक्तिसंग दुई वर्ष समय बिताएको ‘रेकर्ड’ हुन्छ । अर्थात् यहाँको शिक्षा प्रणालीले गुणस्तर र सिकाइ विधिलाई गौण र पढाइमा बिताएको समयलाई मात्र महत्व दिएको महसुस हुन्छ । 

नेपालमा जनस्वास्थ्य विधाको स्नातकोत्तर तह (एमपीएच) को लागि बनेको नयाँ मापदण्ड राम्रो छ । तर, यसको व्यवस्थामा भनिएको विदेशका विश्वविद्यालयबाट पढेकाको विद्यार्थीको हकमा २ वर्ष वा १२० क्रेडिट आवरको व्यवस्था यो अलि बढी गुणस्तरको नाममा शैक्षिक सिन्डिकेट जस्तो देखिन्छ । समकक्षताको सवालमा नेफाले  स्वास्थ्य ब्यवसायी परिषद, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको पाठ्यक्रम विकास शाखासँग समन्वय गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।

अहिलेको अवस्थामा कुनै नेपालीले जोन हप्किन्स विश्वविद्यालयबाट एमपीएच गरेर आयो भने त्यसले नेपालमा समकक्षता नपाउने वातावरण छ । तर उसले संसारको वा नेपालको कुनै कलेजमा गयो र दुई वर्ष बिताएर आयो भने उसले समकक्षता पाउँछ ।

५) ५ देखि ६ हजार आधिकारिक परिषदमा दर्ता भएका जनस्वास्थ्यकर्मी भएको देशमा नेफाको २०७८ को अन्तिम मतदाता नामावली सूची हेर्दा १७१८ जना मात्र छन् । परम्परागत र खर्चिलो निर्वाचन प्रणाली पनि यसको कारक हो । एक तिहाइ मात्र यसको सदस्य हुँदा वैधानिकताको पाटोमा ठूलो प्रश्न चिन्ह खडा भएको छ ।  

६) अब आउने कार्यसमितिमा कम्तिमा नेफालाई प्रविधिमैत्री बनाउन सक्ने, गुटभन्दा माथि उठेर सबैलाई समेट्न प्रयास गर्ने, जनस्वास्थ्य क्षेत्रका नीति अनुसन्धान, अवसर, समस्या र चुनौतीको सही विश्लेषण गर्न सक्नेलाई छान्न सक्नुपर्छ । साथै, राष्ट्रिय र अन्तर्राष्ट्रिय नियामक र सरोकारवालाहरुसँग जनस्वास्थ्य विकासको लागि नवीनतम उपायसहित समन्वय र सहकार्य गर्न सक्ने जस्ता आधारभूत गुणस्तर भएका उमेदवारहरूमा ध्यान दिन जरुरी छ । 

७) घोषित भएका समूह बाहिरबाट व्यक्तिगत रुपमै योगदान गर्छु भनेर अगाडी आएका दक्ष व्यक्तित्वहरु छन् भने ठिक पदमा सही र दक्ष व्यक्तिलाई निर्वाचित गराउनुपर्ने देखिन्छ ।  
नेपाल जनस्वास्थ्य संघ (नेफा) ले नेपालको स्वास्थ्य क्षेत्रमा केही योगदान त पक्कै गरेको छ । तर जुन ध्येयका  साथ संस्था स्थापना भएको थियो, व्यवहारमा हालसम्म गुणात्मक सुधारका काम भएको महसुस गर्न सकिदैन । आगामी नेफा नेतृत्वले राजनीतिक र गुटगत समूहभन्दा व्यावसायिकतालाई प्राथमिकतामा राख्न जरुरी देखिन्छ । यसलाई सैद्धान्तिक र व्यवहारिक रुपमा स्वायत्त र स्वतन्त्र संस्थाको रुपमा विकास गर्न सक्नुपर्छ । 

लेखक नेपाल जनस्वास्थ्य संघको आजीवन सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप