स्वास्थ्य मन्त्री खतिवडा र जापानी राजदूतबीच भेटवार्ता
बिहीबार, २२ पुस २०७८, १८ : ०३
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुबीच दुई देशबीच कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएको छ । सो अवसरमा जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।
नेपालका लागि जापानी राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताए । यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाए ।