आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्री ग्याँसको १५ प्रतिशत सेयर छोराको नाममा स्थानान्तरण गर्दै श्रम मन्त्री

मङ्गलबार, २७ पुस २०७८, ०७ : ०८
मङ्गलबार, २७ पुस २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्री ग्याँस वानको सेयर जेठो छोरा अङ्कुश श्रेष्ठको नाममा स्थानान्तरण गरिदिने भएका छन् । आफ्नो नाममा रहेको उद्योगको १५ प्रतिशत सेयर श्रेष्ठले छोराको नाममा स्थानान्तरण गर्ने भएका हुन् ।

श्रेष्ठले मन्त्रालय हेर्न पर्ने भएकाले नभ्याएको भन्दै छोराको नाममा सेयर ट्रान्सफर गर्ने तयारी गरेको बताइएको छ । छोरा अङ्कुशको नाममा सेयर स्थानान्तरण गर्ने फाइल यतिबेला उद्योग विभागमा पुगेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले उद्योगको सेयर स्थानान्तरण गर्ने फाइल विभाग पठाइदिएको हो ।

उद्योगमा ८५ प्रतिशत सेयर जापानी लगानीकर्ताको छ । उद्योगको बहुमत सेयर विदेशी लगानीकर्ताको नाममा रहेकाले कम्पनी रजिस्ट्रारको कार्यालयले सेयर स्थानान्तरण सम्बन्धी फाइल विभाग पठाइदिएको स्रोतले जानकारी दियो । सेयर स्थानान्तरणको फाइल पुगेपछि विभागले आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।

छोराको नाममा सेयर स्थानान्तरण गर्न जापानी लगानीकर्ताको स्वीकृति आइसकेको छ । सोही स्वीकृति बोकेर मन्त्री श्रेष्ठका निजी सचिव सेयर स्थानान्तरणको फाइल बोकेर विभाग पुगेका हुन् । सेयर स्थानान्तरण गर्नका लागि उद्योगको सेयर मूल्य ‘सेयर पर भ्यालू’ निकाल्नुपर्ने र सोहीअनुसार प्रक्रिया अगाडी बढ्ने विभागले जानकारी दिएको छ । प्रतिकित्ता सेयर मूल्य १०० रुपैयाँभन्दा बढी भएमा स्थानान्तरण गर्दा कर लाग्ने र सोभन्दा तल भए नलाग्ने विभागको भनाई छ ।

के छ सेयर स्थानान्तरणको प्रक्रिया ?

उद्योगको मुख्य लगानीकर्तासहित सम्पूर्ण लगानीकर्ताको स्वीकृति पेस गरेपछि विभागले सेयर स्थानान्तरणको सैद्धान्तिक सहमति दिन्छ । विभागको सैद्धान्तिक सहमति पाएपछि मन्त्री श्रेष्ठको नाममा रहेको सेयर छोराको नाममा नामसारी हुन्छ । यसलाई सेयर लगत भनिन्छ । कम्पनी रजिस्ट्रारले गर्ने ‘सेयर लगत’को एक कपि विभागमा पेस गर्नुपर्छ ।

श्रम मन्त्री किन बेच्दै छन् सेयर ?

मन्त्री श्रेष्ठको उद्योगबाट उत्पादन हुने श्री ग्याँसलाई गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन उत्पादन गरेको भन्दै मङ्सिर पहिलो साता कारबाही गरेको थियो । मन्त्रीकै उद्योगले गुणस्तरहीन उत्पादन गरेको भन्दै आलोचना खेप्नु परेको थियो ।

लगत्तै उनले आफ्नो नाममा रहेको उद्योगको सेयर छोराको नाममा स्थानान्तरण गर्न लागेको बताइएको छ । मन्त्री श्रेष्ठले आफ्नो कार्यकाल भएकै समयमा सेयर स्थानान्तरण सम्पन्न गर्न चाहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप