सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वको पहिलो घटना : अमेरिकामा ५६ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

मङ्गलबार, २७ पुस २०७८, ०९ : १३
मङ्गलबार, २७ पुस २०७८

आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक ५७ वर्षीय अमेरिकी पुरुष भएका छन् ।

चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन ।

'प्रत्यारोपण गर वा मरको अवस्था थियो,' ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए ।

'मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो । '

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो ।

प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ ।

शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई 'अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने' बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ ।

OrganDonor.gov का अनुसार सङ्कटको अर्थ अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ ।

त्यसमा एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ ।

माग पूरा गर्न जनावरको अङ्ग प्रयोगको सम्भावनाबारे लामो समयदेखि विचार गरिँदै आएको हो र सुँगुरको मुटुको भल्भ प्रयोग गर्ने विषय सामान्य भइसकेको छ ।

सन् २०२१ को अक्टोबरमा न्यूयोर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए ।

त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो ।

यद्यपि, त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन ।

अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन् ।

शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो ।

'निको भएपछि ओछ्यानबाट बाहिरिने अपेक्षामा म छु,' उनले गत बिहीवार भनेका थिए ।

अब के हुनेछ भन्ने ठ्याक्कै स्पष्ट छैन। प्रत्यारोपणमा प्रयोग गरिएको सुँगुरलाई आनुवंशिक रूपमा परिवर्तन गरिएको थियो ।

ग्रिफिथले उनहरूले 'सावधानीपूर्वक उक्त प्रक्रिया' चालेको र बेनेटलाई पनि अनुगमन गरिरहेको बताए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप