सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ठेक्का सम्झौताको साढे १० वर्षमा बल्ल बन्यो पुल

बुधबार, २८ पुस २०७८, १० : ३७
बुधबार, २८ पुस २०७८

निर्माण सम्झौता भएको साढे १० वर्षपछि बागमती प्रदेशको २ जिल्ला सिन्धुली र मकवानपुर जोड्ने बागमती खोलामा पुल निर्माण भएको हो । एक दशक लामो प्रतीक्षापछि पुल निर्माण भएकोमा स्थानीय भने दङ्ग छन् ।

निर्माणका लागि ठेक्का सम्झौता भएर विगत १० वर्ष ६ महिनासम्म सम्पन्न हुन नसकेको पुल अझै पूर्ण रुपमा तयार भइसकेको भने छैन । निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । पुल नबन्दा विगतमा स्थानीयवासीले निकै सास्ती भोग्नु परेको थियो भने वर्षाको समयमा त खोलाले बगाएर केही व्यक्तिले ज्यानसमेत गुमाएका थिए ।

२०६८ साल असारमा ठेक्का सम्झौता भएपछि पुल बन्ने आशामा त्यहाँका बासिन्दा खुशी भएका थिए । तर, त्यो खुशी लामो समय टिक्न सकेन । निर्माण अवधि समाप्त हुँदासम्म पुल नबनेपछि स्थानीयवासी निराश भए ।

५ वर्षको अवधिसम्म पनि पुल बन्न नसकेपछि त्यहाँका बासिन्दाले पुल बन्ने आशा नै मारिसकेका थिए । पक्की पुल बन्ला अनि सहज होला भन्ने आशामा वर्षौँ बिताएका स्थानीयवासीले ८ वर्षसम्म पुलको पिल्लरमात्र हेरेर चित्त बुझाउथे ।

यस्तो छ पुलको वर्तमान अवस्था 

दश वर्षपछि पुलको अधिकांश भाग ढलान भएको छ । पुलमा रेलिङ निर्माण गर्ने काम पनि सकिएको छ भने रेलिङको रङ रोगनको काम भने बाँकी छ । पुलको २ वटा एबुटमेन्ट, पायर फाउण्डेशन, १० वटा पायर निर्माणको काम सम्पन्न भइसकेको छ ।

११ स्पानको सो पुलको सबै स्पान निर्माणको काम सम्पन्न भएको छ । एक्सपान्सन जोइन्ट, फुटपाथ निर्माणको काम पनि सकिएको छ भने वेरिङ कोर्सको काम बाँकी छ । वेरिङ कोर्सको काम आगामी माघभित्र सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

त्यस्तै पुलसम्म पुग्ने एप्रोच सडकको निर्माण कार्य अन्तर्गत एउटा स्ल्याव कल्भर्टको निर्माण कार्य माघबाट सुरु गरी फागुनसम्ममा कालोपत्रे गर्ने निर्माण कम्पनीको तयारी छ । पुलको संरक्षणका लागि नदी तटबन्ध गर्ने कार्य जारी रहेको र आगामी फागुनभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ ।

पुल निर्माणमा ढिलाई किन भयो ?

२०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवा नामक निर्माण व्यवसायी कम्पनीले २३ करोड ५३ लाख ९ हजार रुपैयाँ लागतमा सो पुल निर्माणको ठेक्का लिएको थियो । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) सडकखण्डमा पर्ने सिन्धुली र मकवानपुर जोड्ने सो पुलको लम्बाई ४ सय ३ मिटर छ ।

लामो समयसम्म निर्माण व्यवसायी कम्पनीको ढिलासुस्तीको कारण पुल निर्माणको काम हुनै सकेन । सुरुवाती चरणमा निर्माण कम्पनीले निर्माणको काम क्यानन गौतम जेभी नामक कम्पनीलाई पेटी ठेक्कामा दिँदा समयमै पुल निर्माण हुन नसकेको हो ।

ठेकेदारबाट तहगत पेटी ठेकेदारसम्म पुल निर्माणको काम बाँडिदा पुल निर्माणको काम अघि बढ्न सकेन । ८ वर्षसम्म त पुलको पिल्लरमात्र ठडिएका थिए । स्थानीयवासीले पुल निर्माणका लागि विभिन्न तहमा हार गुहार नगरेका पनि होइनन् तर, उनीहरुको कुराको सुनुवाइ भएन ।

देश संघीयतामा गएपछि स्थानीय तहलाई पनि केही अधिकार प्राप्त भयो । तर, सो पुल निर्माणमा मकवानपुर र सिन्धुलीका ती स्थानीय तह पनि सक्षम थिएनन् । उनीहरुले आफ्नो स्थानबाट सकेको पहल गरे पनि पुल निर्माण हुन सकेन ।

विभिन्न समयमा म्याद थपिँदै आएको सो पुल निर्माणमा बागमती प्रदेश सरकारले पनि चासो देखायो तर ठेकेदार कम्पनी सम्पर्कमै नआएपछि बागमती प्रदेशसभामा सोबारे व्यापक विरोध भयो । विरोध बढ्दै गएपछि निर्माण कम्पनीलाई कारवाहीको चेतावनी दिइयो । उक्त चेतावनीपछि भने निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा आए ।

निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले पुल निर्माणका लागि पुनः म्याद थप गर्न माग गरे अनुसार म्याद दिइयो र पुल निर्माणले तीव्रता पायो । पछिल्लो समय सो पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०७८ साल असारसम्म थपिएको थियो । तर, कोरोना संकटका कारण समयमै काम हुन सकेन । काम पूरा नभएपछि पुनः सो पुल निर्माणका लागि २०७८ चैत ३० गतेसम्मको म्याद थप गरिएको छ ।

आगामी चैत मसान्तसम्ममा पुल निर्माण सम्पन्न गरेर वैशाख १५ गते पुल उद्घाटनको मिति तय गर्न सकिने निर्माण कम्पनीका सञ्चालक लामिछाने बताउँछन् ।

मुख्यमन्त्री पाण्डेको विशेष चासो

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सो पुल निर्माणका लागि विशेष चासो दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको केही समयमै जनप्रतिनिधिसहित सुरक्षा निकायलाई साथ लिएर पुलको स्थलगत निरीक्षणमा पुगेका मुख्यमन्त्री पाण्डेले निर्माणको काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिएका थिए ।

मुख्यमन्त्री पाण्डेले मंगलबार पनि स्थलगत रुपमा सो पुलको निरीक्षण गरेका छन् । उनले सिन्धुली र मकवानपुरका जनप्रतिनिधि, संसद र सुरक्षा निकायका प्रतिनिधिसहित पुलको निरीक्षण गरेका हुन् ।

निर्माण कम्पनीका सञ्चालक लामिछानेको उपस्थितिमा मुख्यमन्त्री पाण्डेले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा आउने प्रतिनिधिहरू सो पुलको प्रयोग गर्न सक्ने गरी निर्माणको काम सक्न निर्देशन पनि दिए ।

उनले जनताको लागि बनाइएको सो पुलमा कुनै राजनीतिक बहाना गरेर निर्माणको काम रोक्न नमिल्ने भन्दै केही समस्या परे सम्पर्कमा आउन पनि निर्माण कम्पनीलाई आग्रह गरे ।

‘यो जनताको लागि बनाइएको पुल हो । समयमा सक्नु पर्ने तपाईको जिम्मेवारी हो । संरक्षणका लागि सरकारका निकाय छन् । हामी त्यसको जिम्मेवारी लिन्छौं, सुरक्षा दिने काम सुरक्षाका साथीहरुले गर्छन्,’ उनले भने, ‘कुनै बहानामा पुल निर्माणको काम रोकिनु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप