आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माघ तेस्रो सातादेखि संक्रमणदर दैनिक २० हजार बढी !

९० प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण अनुमान
शुक्रबार, ०७ माघ २०७८, १४ : ०१
शुक्रबार, ०७ माघ २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनाको तेस्रो साता संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार माघको तेस्रो सातादेखि दैनिक २० हजारभन्दा बढी संक्रमित हुन सक्ने अनुमान गरिएको छ । हाल भइरहेको पीसीआर तथा एन्टिजेन परीक्षणको आधारमा मन्त्रालयले तेस्रो सातासम्म संक्रमण दर उत्कर्षमा पुग्ने आँकलन गरेको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए ।

माघको तेस्रो सातासम्म करिब १३ हजार संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुन सक्छ, जसमध्ये ९ हजार ८४८ जनामा भने सामान्य लक्षण मात्रै देखिने, करिब १ हजार बढीमा गम्भीर विरामीको लक्षण तथा करिब ३९५ जना गम्भीर बिरामी हुने आँकलन छ । विहीबार अहिलेसम्मकै सबैभन्दा धेरै १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, माघको तेस्रो साताबाट विस्तारै घट्दै गएर चैत्रको अन्त्यतिर कोरोना संक्रमण नियन्त्रणमा आउने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको हो । कोरोना महामारीको दोस्रो लहरमा संक्रमण दर उत्कर्षमा पुग्दा अस्पतालमा बेड, एचडीयू, आईसीयू, भेन्टिलेटर र अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाएमा थिए । हाल कोरोनाको तेस्रो लहरसँग जुध्न भने स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य पूर्वाधारको अवस्था

सातै प्रदेशमा ८ हजार २०२ आइसोलेशन वेड तयारी अवस्थामा राखिएको छ । एचडीयू बेड ३ हजार ८४६ रहेको छ भने आइसीयू २ हजार ७९७ वटा तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । यस्तै, एक हजार ८ वटा भेन्टिलेटरको सङ्ख्या पुर्याइएको छ भने अक्सिजन सिलिन्डर १३ हजार ९ सय ३९ वटा, अक्सिजन कन्सनट्रेटर ६ सय ९३ रहेको छ । देशभरमा ९८ वटा अक्सिजन प्लान्ट निर्माण गरिएको छ र ट्यांक २५ वटा बनाइएको छ । मन्त्रालय मातहतका ७८ वटा अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गरिएको छ । 

कोरोना महामारीको दोस्रो लहरमा संक्रमण दर ४४.४९ प्रतिशत पुग्दा अस्पताल संक्रमितले भरिएको थियो । तर, कोरोनाको तेस्रो लहरमा अहिलेसम्मकै उच्च १२ हजार ३३८ जनामा संक्रमण पुष्टि हुँदा अस्पतालमा गम्भीर प्रकृतिका संक्रमितको चाप न्यून छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १० वटा अस्पतालका जेनरल वार्डमा २७६ जना उपचारत छन् । एचडीयू ३५३ जना उपचाररत छन् भने ६३ जना आईसीयूमा तथा १४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यसरी ओमिक्रोन भेरियन्ट आक्रमक रुपमा फैलिए पनि अस्पतालमा संक्रमित भइ गम्भीर प्रकृतिका बिरामी कम रहेको राजधानीका अस्पतालहरूको आँकडाले देखाउँछ । संक्रामक रोग विषेशज्ञ प्राडा जनक कोइरालाले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कम घातक भएपनि तीन गुणा संक्रामक भएकाले सतर्क हुनुपर्ने बताउँछन् । संक्रमण दरले तीव्रता पाएसँगै त्यही अनुपातमा जटिल स्वास्थ्य समस्या भएका बिरामी भने बढ्न सक्ने डा.कोइराला बताउँछन् ।

९० प्रतिशतलाई ओमिक्रोन भेरियन्ट

अन्य राष्ट्रहरुमा ओमिक्रोन भेरियन्ट छोटो अवधिमा तीव्र रुपमा फैलिएझैँ नेपालमा पनि त्यही रुपमा फैलिएको पाइएको छ । संक्रामक रोग विशेषज्ञ तथा प्राडा कोइरालाले तीव्र रुपमा ओमिक्रोन फैलिदा डेल्टा भेरियन्टको फैलावट कम पाइएको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले संक्रमण हुनेहरुमा ओमिक्रोन, डेल्टाबाहेक अन्य जुन कुनै भेरियन्ट संक्रमण पुष्टि भए पनि खुलाएको छैन । नेपालमा जिन सिक्वेन्सिङ गर्दा २७ जनालाई मात्रै ओमिक्रोन भेरियन्ट पुष्टि भएको यस अघि स्वास्थ्य मन्त्रालयले जनाएको थियो । यद्यपि स्वास्थ्य मन्त्रालयले हाल ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको बताउँदै आएपनि कतिलाई सो भेरियन्ट देखिएको छ भन्नेबारे प्रष्ट पार्न सकेको छैन ।

संक्रामक रोग विशेषज्ञ डा.कोइरालाका अनुसार जिन सिक्वेन्सिङ कम गर्ने भएको कोरोना संक्रमितमध्ये कसलाई ओमिक्रोन भेरियन्ट संक्रमण भएको हो थाहा पाइँदैन ।

पछिल्लो समय संक्रमण दर ह्वात्तै बढेकाले ९० प्रतिशतलाई ओमिक्रोन भेरिएन्ट लाग्न सक्ने डा. कोइराला अनुमान लगाउँछन् । जिन सिक्वेन्सिङ बाहेक पीसीआर परीक्षण गर्दा पोजेटिभ नतिजा आइएस जिन देखिएको खण्डमा ओमिक्रोन भेरियन्ट हो कि भनेर शंका गर्न सकिने ठाउँ रहेको उनले बताए ।  

अव एक महिनासम्म प्रदर्शन, भीडभाड, कार्यालयमा काम गर्दा, सार्वजनिक यातायात चढ्दा, घरबाहिर अत्यावश्यक परी निस्कन परेमा अनिवार्य सामाजिक दूरी कायम, मास्कको सही प्रयोग गरेको खण्डमा प्रक्षेपण गरेजति संक्रमितको सङ्ख्या नपुग्ने प्राडा कोइराला जिकिर गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप