सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जोशिला र गतिशील युवाको नेतृत्वमा एनआईसी एशिया बैंकको आश्चर्यजनक रुपान्तरण

बिहीबार, १३ माघ २०७८, १९ : ४१
बिहीबार, १३ माघ २०७८

विकास र समृद्धिका लागि युवाको आवश्यकता महत्वपूर्ण मानिन्छ । यो मान्यता राजनीतिदेखि लिएर व्यावसायिक क्षेत्रमा पनि स्थापित छ । बैंकका सन्दर्भमा एनआईसी एशिया बैंकले पनि युवा कर्मचारीहरुकै ऊर्जाबाट आफूलाई उन्नतस्तरमा ल्याउन सफल भएको छ ।

एनआईसी एशिया बैंकको पछिल्लो तथ्यांक अनुसार करिब ४ हजार कर्मचारीमध्ये ९५ प्रतिशत कर्मचारी युवा अवस्थाका छन् । बाँकी ५ प्रतिशत कर्मचारीमात्र ४० वर्षभन्दा माथि उमेरका छन् । उक्त बैंकका औसत कर्मचारीको उमेर २९ वर्ष छ । नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ वर्षदेखि ४० वर्षसम्मको उमेरलाई युवा मानिन्छ । यसैलाई आधार मान्ने हो भने पनि एनआईसी एशिया बैंकमा ९५ प्रतिशत कर्मचारी युवा छन् ।

२७ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंक ‘नम्बर वान’ कसरी बन्न पुग्यो भन्नेमा धेरैको चासो देखिन्छ । नयाँ कार्यशैलीमा अभ्यस्त युवाहरुको क्षमता, ऊर्जा र नयाँ दृष्टिकोणले नै एनआईसी एशिया बैंक उत्कृष्ट बैंक बन्न पुगेको सो बैंकका कर्मचारीहरुको दाबी छ ।

एनआईसी एशिया बैंकमा कार्यरत युवा बैंकर्सले एउटै व्यक्ति वा संस्थालाई धेरै ऋण दिनुभन्दा थोरै थोरै ऋण धेरै व्यक्तिलाई दिन उपयुक्त हुने नीति अख्तियार गरे । एउटा व्यक्ति वा संस्थाले लिएको ऋण डुब्ने अवस्थामा पुगे पनि बैंक नै डगमगाउने स्थितिमा नपुग्ने निष्कर्ष उक्त बैंकको जिम्मेवार तहमा रहेका युवा पुस्ताले निकालेका थिए । त्यही रणनीति अनुसार काम गर्दा एनआईसी एशिया बैंक निरन्तर दरिलो भएर उभिन सकेको सो बैंकका कर्मचारीहरुको भनाइ छ । बैंकले नयाँ इतिहास रच्दै अगाडि बढ्नुको मूल कारण युवा जनशक्ति नै रहेको उनीहरु बताउँछन् ।

एनआईसी एशिया बैंकले साना तथा मझौला उद्यमी कर्जा (एसएमई)मा बढी जोड दिँदै आएको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा एनआईसी एशिया बैंक अग्रणी स्थानमा छ । एनआईसी एशिया बैंकको कुल कर्जामा ५ करोड रुपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश करिब ९० प्रतिशत छ । यस्तो कर्जाले कर्जा जोखिम कम गर्छ र निष्कृय कर्जा कम बनाउने कर्मचारीहरु बताउँछन् । फलस्वरुप एनआईसी एशिया बैंकले निष्कृय कर्जालाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

एनआईसी एशिया बैंकले कर्जा लगानीमात्र होइन, निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ । एनआईसी एशियाले पछिल्लो समय ल्याएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता यसको एउटा उदाहरण हो । उच्चतम ब्याज र २४ आकर्षक फाईदासहित यस्तो खाता योजना सञ्चालनमा ल्याएको बैंकको दाबी छ । एनआईसी एशिया बैंकले अबलम्बन गरेको यही पथलाई अन्य बैंकले पनि फलो गर्न थालेको देखिन्छ ।

त्यसैगरी एनआईसी एशिया बैंकले शाखा सञ्जालमा पनि आफूलाई सबै सबैभन्दा ठूलो बैंकका रुपमा स्थापित गरेको छ । यस बैंकका शाखा ३५८ पुगेको छ । त्यसैगरी एटिएम सबैभन्दा बढी भएको बैंकको श्रेय समेत यसैलाई जान्छ । एनआईसी एशिया बैंकका एटिएम संख्या ४७३ पुगेका छन् । बैंकका कुल ग्राहक पनि निजी बैंकहरुमध्ये सबैभन्दा धेरै छन् । एनआईसी एशिया बैंकका शाखाले गाउँ गाउँमा वित्तीय पहुँच पु¥याउनका साथै सिरानी मुनिको रकमसमेत बैंकिङ्ग प्रणालीमा ल्याउने काम गरेका छन् । बैंकको यही सबल पक्षलाई एनआईसी एशिया बैंकको निकटम प्रतिद्वन्द्वी नबिल बैंकले पनि फलो गर्न खोजिरहेको छ ।

त्यसैगरी, एनआईसी एशिया बैंकले उच्च क्षमताको युवा जनशक्ति तयार गर्दै आगाडि बढेको देखिन्छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतदेखि कतिपय अन्य कर्मचारी चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिबाट आएका छन् । उल्लेखनीय छ, चार्टर्ड एकाउन्टेन्ट ज्यादै मेहनती र नयाँ रणनीति लिएर काम गर्न सक्ने हुन्छन् । एनआईसी एशिया बैंकले अबलम्बन गरेको त्यही बाटोलाई अन्य बैंकले पनि फलो गर्न थालेका छन् ।

सबैको पहिलो रोजाइको बैंक

एनआईसी एशिया बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्न पुगेको यसका कर्मचारीहरुको दाबी छ । ‘२४ वर्षदेखिको अनवरत यात्राको दौरानमा आज एनआईसी एशिया बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोेशन कुमार न्यौपानेले भने ।

‘अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौं,’ उनले भने, ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय स्वभाविक रुपमा ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीलाई नै जान्छ ।’ साथै, भविष्यमा अझ उन्नतस्तरको बैंक, सबैले गर्व गर्न सक्ने बैंक र सबैको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ काम गरिरहेको जानकारी पनि उनले दिए ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणमा कर्जा, निक्षेप, स्वःपूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्या (निजी क्षेत्रका बैंकहरुमा) का सूचकांकमा एनआईसी एशिया बैंक नम्बर एक देखिएको छ ।

डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरेको छ । फलस्वरुप गत आर्थिक वर्षसम्ममा बैंकको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुगेको छ । जुन आर्थिक वर्ष २०७६/७७ मा ७०ः३०  थियो ।

थोरै ऋण धेरैमा प्रवाह गर्दाको फाइदा

एनआईसी एशिया बैंकको खराब कर्जा न्यून छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत एनआईसी  एशिया बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गरेको छ । निष्कृय कर्जालाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न एनआईसी एशिया बैंक सफल भएको छ ।

एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण प्रवाह गर्दा त्यस्तो रकम असुली हुन सकेन भने खराब कर्जा बढ्ने र त्यसले नाफामा समेत प्रभावित पार्ने हुँदा बैंक त्यसतर्फ सचेत भएको देखिन्छ । जबकि अन्य बैंकले एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण दिँदा खराब कर्जा बढ्न पुगेको देखिन्छ । बैंकले अवलम्बन गरेको कर्जाको मिश्रणमा खुद्रा तथा एसएमई कर्जाको मिश्रण बढाउने र साना आकारको कर्जाको मिश्रण बजार केन्द्रित गर्न अघि बढ्ने रणनीतिको फलस्वरुप बैंकको एनपिएमा कमी आउने देखिन्छ ।

बैंकले अझै परिस्कृत रुपमा सेवा दिने उद्देश्यका साथ काम गरिरहेको बैंकका सिइओ न्यौपानेले बताए । ‘नयाँ नयाँ टेक्नोलोजी एवं दीर्घकालीन रणनीति कार्यान्वयनमा ल्याएर बैंकलाई अझ बढी सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनाउने योजनामा छौं,’ उनले भने, ‘अहिले पनि बैंकसम्म नआई घर वा आफ्नै कार्यालयमा बसेर पनि बैंकको काम गर्न सकिन्छ । त्यसलाई पनि अझ परिस्कृत र सहज बनाउँदै जानेछौं ।’

युवा सिइओको रुपान्तरणकारी नेतृत्व

नेपाल चार्टर्ड एकाउन्टस् संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट डिग्री लिएका बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले २०७४ चैत्र २ देखि यस बैंकको नेतृत्व सम्हालेका हुन् । बैंक कर्मचारीहरुमा निरन्तर हौसला, प्रेरणा र प्रोत्साहन जगाई बैंकको उज्यालो भविष्य निर्माणका लागि दीर्घकालीन रणनीतिको यथोचित कार्यान्वयनमा युगान्तकारी भूमिका निर्वाह गर्ने कामको प्रमुख श्रेय बैंकका सिइओ न्यौपानेलाई नै जान्छ । साथै, छोटो समयको बैंकिङ्ग अनुभव मै बैंककोे सर्वोच्च भूमिका पाएर बैंकलाई सबै सरोकारवालाहरुको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाउन न्यौपानेको अहम भूमिका छ । जसका लागि न्यौपानेले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा व्याप्त रहेको परम्परावादी बैंक व्यवस्थापन शैलीलाई चिर्दै आक्रामक बजार विस्तारलाई अगाडि बढाउन महत्वपूर्ण कदम अगाडि सारे । फलस्वरुप एनआईसी एशिया बैंकले न्यौपानेको नेतृत्वमा कर्जा, निक्षेप, स्वःपूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय र एटिएमको आधारमा देशको बैंक तथा वित्तीय क्षेत्रमध्ये ‘नम्बर एक बैंक’ को ताज हासिल गर्न सफल भयो ।

बैंकको सबैभन्दा ठूलो सम्पत्तिको रुपमा उनको कार्यकालमा बैंकको इतिहासमै नयाँ नयाँ रेकर्ड कायम गर्दै बैंकले देशभर २८ लाखभन्दा बढी ग्राहक माझ बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरु मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल भएको देखिन्छ ।

बैंकको आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जबाट आफ्नो प्रभावकारी बैंकिङ्ग पेसा सुरु गरेका न्यौपानेले कुशल रणनीतिको प्रभावकारी कार्यान्वयन र बहुआयामिक कौशलता प्रदर्शन गरी परम्परागत रुपमा सञ्चालित नेपालको बैंक तथा वित्तीय क्षेत्रमा नवीनतम दीर्घकालीन रणनीतिलाई अवलम्बन गरेका छन् । जसमा उनको नेतृत्वमा तयार गरिएको बैंककोे ‘रणनीति २०२०’ योजनालाई कोसेढुंगाको रुपमा लिइन्छ । यस बाहेक न्यौपानेले निर्माण गरेको ‘एनआईसी एशियन डिएनए’ ले आफूमा रुपान्तरणकारी भूमिका निर्वाह गर्न प्रेरित गरिरहेको कर्मचारीहरु बताउँछन् ।

साथै नेपालको समग्र बैंकिङ्ग क्षेत्रको बृहत्तर रुपान्तरणकारी यात्राको निरन्तरताका लागि न्यौपानेले प्रमुख भूमिका निर्वाह गरेका छन् । बैंकलाई यो उचाइमा पु-याउनका लागि बैंकको सञ्चालक समिति र समितिका अध्यक्ष तुलसी राम अग्रवालको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ । उनले बैंकको युवा पंक्तिलाई दिएको अटुट भरोसा, स्नेह र हौसलाले गर्दा पनि बैंकले छोटो समयमा ठुलो फट्को मारेको कर्मचारीहरुको बुझाइ छ ।

समस्त ग्राहक, नियमनकारी निकायहरू, शेयरधनीहरू लगायत सम्पूर्ण सरोकारवालाको समेत अगाध माया र विश्वास एवं कर्मचारीहरूको मेहनतले बैंकलाई अग्रणी बनाउन विशेष योगदान पु¥याएको बैंकका युवा कर्मचारी बताउँछन् ।

यसैबीच सिइओ न्यौपाने २०७७ चैत २७ मा राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ तथा कर्पोरेट बिजनेस म्यागेजिनको ‘कर्पोरेट सिइओ अफ द इयर, २०७८’ बाट सम्मानित भएका छन् । साथै, बेलायतको प्रतिष्ठित ग्लोबल बिजनेस आउटलुक म्यागजिनले सिइओ न्यौपानेले नेपालको बैंकिङ्ग क्षेत्रमा कुशल नेतृत्वबाट दिएको अहम् भूमिकालाई उच्च सम्मान गर्दै ‘बैंकिङ्ग सिइओ अफ द इयर–नेपाल २०२१’ बाट सम्मान गरेको छ । युवा कर्मचारीलाई परिचालन गरेर नागरिकको तत्कालको आवश्यकता के हो भन्ने बिषयमा थप अध्ययन गरेर बैंकलाई नम्बर वान बनाउँदै जाने योजनामा रहेको सिइओ न्यौपानेले बताए । बैंकले बिभिन्न आकर्षक फाइदाहरु सहित नयाँ नयाँ योजना सार्वजनिक गरिरहेको छ । बैंकले भरखरै मात्रै २४ फाइदासहितको सर्वश्रेष्ठ निक्षेप योजना ल्याएको छ । एनआईसी एशियाले उक्त योजनामा ल्याएको फाइदाहरु अन्य बैंकहरुमा नरहेको दाबी गरेको छ । जहिले पनि नयाँ नयाँ फाइदा दिनेमा आफू एक कदम अगाडि नै देखिएको एनआईसी  एशिया बैंकको भनाइ छ । ऊर्जाशिल र क्षमतावान बैंकका सिइओ र एनआईसी एशिया बैंकका सम्पूर्ण कर्मचारीले गर्दा नै बैंकले नयाँ उचाइ चुम्न पुगेको कर्मचारीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप