बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कथा : शहीद

आइतबार, १६ माघ २०७८, ०८ : ५६
आइतबार, १६ माघ २०७८


“बाबु  !”
“ओ देवता बाबु !”
“सुन्नु भएन ?”

अखबारका पङ्क्तिबाट आँखा हटाएर मैले आगन्तुकपट्टि हेरेँ । उसका हातमा एउटा सादा लिफाफा र एक पाना कागज थियो । हल्ला मच्चाएर मेरो शान्ति भङ्ग गरिदिएको हुनाले आगन्तुक उपर मलाई अलि अलि रिस उठिराखेको थियो । झर्केर सोधेँ– “के बाबु–बाबु चिच्याइरहेको ? को बाबुलाई खोज्छौँ तिमी ?”

“उही कलेजमा पढ्ने गोरो– गोरो, पातलो बाबु क्या, चस्मा लाउने ।”
आगन्तुक सायद मभन्दा पहिले यस कोठामा बस्ने विद्यार्थीलाई खोजिरहेको थियो । मैले उत्तर दिएँ– “उनी त अस्ति नै गैसके ।”

“गैसके, ओहो ! एक पटक खबर पनि दिएनन् । साँच्चै नेपालका मानिसलाई मायाँ–मोह भनेको एक जात हुँदैन । अब लौ, मेरी डल्लीलाई खत कसले लेखिदिन्छ !”

मैले उत्सुकतापूर्वक सोधेँ– “को डल्लीलाई चिठी लोखाउँछौ ?”

“रामकी आमालाई ।”

“को रामकी आमा ?”

आगन्तुकले आँखा झिम्क्याएर आफ्नू अट्टाहासले कोठा घन्काउँदै भन्यो– “मेरी स्वास्नी क्या ! रामको आमा ! अब त बुझ्नुभो ?”

एक छिनपछि आगन्तुकले हातको कागज र लिफाफा मतिर लम्काएर भन्यो– “अच्छा बाबु, तपाईं नै लेखिदिनोस् ।”

“मलाई कसैको चिठीसिठी लेख्ने फुर्सत छैन ।”

“वाह, फुर्सत छैन ! गजबको कुरो गर्नुभो ! देवता बाबु कतिजनाको चिठी लेखिदिन्थे, थाहा पाउनुहुन्छ ? सहरमा आधाभन्दा बढ्ता कुल्ली–कवाडी, दरवान, रिक्सावाला नेपालीहरूको चिठी उनै लेखिदिन्थे । बेरामी हुँदा ओखतीमुलो गराउँथे । कतिजनालाई नोकरी लगाइदिन्थे । कैयौँ बेखर्चीलाई खर्च दिएर पाल्थे । के गर्नु, उनी दुई वर्ष बसिदिएको भए नेपालीहरूको ठूलो उपकार हुने थियो ।”

“उनलाई फुर्सद हुँदो हो, लेख्दा हुन् । मसँग अर्काको चिठीसिठी लेख्ने त्यस्तो फाल्तु टाइम छैन ।”

आगन्तुकले ठूलाठूला आँखा तुल्याएर टाउको हल्लाएर भन्यो– “वाह, एउटा चिठी लेखिदिने टाइम छैन ! साँच्चै आजकलका तपाईंहरू पढेलेखेका मानिसले दयामाया भन्ने कुरालाई ठ्याम्मै बिर्सिदिनुभो । यो त बडो दुःखको कुरा हो !”

एक छिनपछि आगन्तुकले आँखा झिम्क्याएर उही अट्टटहासका साथ भन्यो– “अच्छा पैसा लिनुहुन्छ ?”

“अँ, कति दिन्छौ ?”

“पैसासैसा मसँग एक कौडी पनि छैन । तपाईं नेपाल फर्कने बेलामा आफ्नू रिक्सामा राखेर स्टेसनसम्म पुर्याइदिउँदा । भन्नुहोस् मञ्जुर छ ?”

“पक्का ?”

“बिलकुल पक्का साहेब, वीरबहादुर कसैलाई धोका दिन जान्दैन ।”

आगन्तुकका हातबाट कागज–लिफाफा लिएर उसले भनेबोजिम चिठी लेखिदिएँ । चिठीको मजबुन यस्तो थियो–

“दरबानीमा लाउनखान मात्र ठीक हुने, एक पैसो नजोगिने हुनाले आजकाल रिक्सा चलाउने काम गरिहेको छु । साह्रै कडा मिहिनेत गर्नुपर्छ । खाने सुत्ने फुर्सत रहँदैन । अहिलेसम्म चार सय जम्मा पारिसकेँ, अब दसैँसम्ममा छ सात सय पुर्याउँछु र दसैँमा घर आउँछु, अनि खेत निखन्नुपर्ला । दसैँमा आउँदा तिमी र रामलाई नयाँ नयाँ कपडाहरू लिएर आउनेछु । अब त राम ठूलो भैसक्यो होला । चकचक गरेर तिमीलाई हैरान पार्दो हो । सडकमा सानासाना केटाकेटी खेलेको देख्दा मलाई रामको झझल्को लाग्छ । यता टाढा परदेशमा खालि तिमीहरूको मायाले बाँचिरहेको छु” इत्यादि । 

चिठी सुनिसकेपछि उसले आफ्नू हाँसोले कोठा घन्काउँदै आँखा झिम्क्याएर भन्यो– “वाह बाबु, वाह ! चिठी हेर्नेवित्तिकै रामोराम डल्ली दङ्ग पर्छे । तपाईं त देवता बाबुभन्दा राम्रो लेख्नु हुँदो रहेछ गाँठे । सत्ते अब पन्ध्र दिनमा सारा कुल्ली–दरवानहरूले घेरेनन् भने मलाई भन्नु ।”

मैले हाँसेर भनेँ– “हो, रिक्सा त हाँकिरहेकै छौ अब चिठी लेख्ने कुरो पनि घन्टा बजाएर सबैलाई सुनाउँदै हिँड्नु ।”

अनि उसले एकछिन भित्तापट्टि हेरेर लामू सास फेरेर भन्यो– “मैले कसैलाई सुनाउनु पर्दैन बाबु, यस कमरामा सबै आफैँ आइपुग्छन् । यो देवता बाबु बस्ने कमरा हो ।”

एकछिनपछि मैले भनेँ– “वीरबहादुर ! के तिम्रो खेत अर्काले लिएको छ ?”

“जी, गाउँकै साहुले पाँच सयमा बन्धक खाएको छ ।”

“एकै पटक किन त्यतिको ऋण लिएको त ?”

“किन एकै पटक लिन्थेँ ! डल्लीलाई बिहे गर्दा एक सय लिएको थिएँ । त्यसैलाई दोब्¥याई–तेब्¥याई पाँच सय पारेर खेत खाइरहेको छ । खेत कस्तो छ नि जान्नुभो ? तीन बाली लाग्छ, बीस मुरी मसिनो धान फल्छ । गाउँभरिको मुटु खेत हो हजुर, बाजेले किनेको ।”

“तिमीले बिहे गरेको कति वर्ष भो ?”

“दस वर्ष भो, त्यसबेला डल्ली चौध वर्षकी हुँदी हो, अहिले चौबीस वर्षकी भई ।”

“दसै वर्षमा एक सयको पाँच सय भो त ?”

“ब्याज कति लिन्छ नि जान्नुभो ? सैकडा पच्चीस, अनि ब्याजको स्याज, स्याजको स्याज गर्दा पाँच सय पुग्न कति बेर लाग्छ ?”

एक छिनपछि बिँडी सल्काउँदै हाँसेर भन्यो– “खाओस् साले, कति दिन खाला ?”

मैले मनमनले भने– “सरकार गरिब प्रजालाई सस्तो ब्याजमा ऋण दिने प्रबन्ध किन गर्दैन ?”

एक दिन बिहान वीरबहादुर मेरा कोठामा पस्यो र मलाई देख्नेबित्तिकै सलाम गरेर उही दिव्य हास्यका साथ भन्यो– “थाहा पाउनुभो बाबु ! आज चोरले मेरो ट्रङ्क फोरेर सबै रुपियाँ चोरेछ ! थानामा रिपोर्ट लेखाएर आउँदैछु ।”

मैले विस्मयका साथ सोधेँ– “के सबै लगेछ ?”

“एक पैसा बाँकी छैन, कपडा–लत्ता पनि लगेछ ।”

वीरबहादुरका कुरा सुनेर मलाई अपार दुःख भो । मनमनले भनेँ– “साहुका पीरले स्वास्नी–छोराछोरी छोडेर विदेशिएको यस गरिबले परिना बगाएर कमाएको धन कुन पापीले छिन्यो होला ?”

एक छिनपछि बिँडी सल्काउँदै वीरबहादुरले भन्यो– “जान्नु भो बाबु; कसले चोरी गर्यो ?”

“म के जानूँ कसले चोरी ग¥यो ! म चोरी गर्न थोरै गएको थिएँ र ?”

“त्यही धने सालेको काम हो । लौ जे किरिया हाल भने पनि सक्छु ।”

सालेले म गरिबको सालभरको पसिना खायो । त्यसलाई परमेश्वरले हातहातै फल दिएनन् भने मलाई भन्नुहोला ।”

मैले लामो सास फेरेर भनेँ– “भाइ, फल त अवश्यै पाउनुपर्छ ।”

“चोरी गरेर के गर्छ नि जान्नुभो ?” रातभर तेह्र नम्बरको कमरामा बसेर जुवा खेल्छ अनि बाँकी पैसा त्यही स्टिसननेरको चिया बेच्ने साहिँली छ नि, हो त्यही रन्डीलाई दिन्छ र रक्सी धोकेर आधा दिनसम्म सुतिरहन्छ ।”

“त्यो साहिँली भन्ने कहाँकी मानिस रहिछ वीरबहादुर ?”

“कोनि राँड पोखरातिरकी छेत्रिनी हुँ भन्छे । मान्छेहरू दमै टिपेर आएकी भन्छन् । यहाँ आउँदा एउटा नौजवान मगर लिएर आएकी थिई । मगर ठिटो खसी काटेर मासु बेच्थ्यो । विचरा पोहोर साल हैजाले मर्यो । त्यसपछि तीन दर्जन पुर्याइसकी होली ! सहरभरिका ड्राइभर–दरवाहनहरूको अखडा त्यहाँ छ । राँडी गाजल लाएर पान चपाएर बसिरहन्छे । अस्ति भन्थी– ‘वीरबहादुर दाइ तपाईं त कहिल्यै पनि आउनुहुन्न । हामीसँग रिसाउनुभएको छ क्यारे ?’ एक नम्बरकी चेपारे छ राँड ।”

“कहिलेकाहीँ तिमी पनि गस्ती लगाउँछौ कि वीरबहादुर कसो हो ?”

“रामराम ! जे कसम ख्वाउनुहोस् न, घरमा भगवती जस्ती स्वास्नी छ हजुर ! छोरो पाएकी । वीरबहादुर त्यस्तो नालायक काम कहिल्यै गर्दैन ।”

“धने को हो नि वीरबहादुर ?”

“नुवाकोटको क्षेत्री हो, मिलमा भैँसागाडी हाँक्छ ।”

“तिमीहरू परदेशमा किन रुपियाँ–पैसा साथमा राख्छौँ ? डाँकखानाको सेभिङ ब्याङ्कमा जम्मा गर्ने गर । त्यसो गरे त चोरिने डर रहँदैन नि ।”

“के गर्नु हजुर, हामी पहाड पर्वतका नपढेका मानिसलाई त त्यस्तो गरिहन पनि असजिलो पर्दोरहेछ ।”

एक छिनपछि वीरबहादुरले टेबिलमा राखेको घडीपट्टि हेरेर आङ तानेर भन्यो– “ओहो ! आठ बजिसकेछ ! बिदा दिनोस् बाबु ! तीन–तीन जना बेरामीलाई ख्वाउनु छ । विचराहरू भोकले छट्पटाइरहेका होलान्.... ।

“बिरामीलाई ख्वाउनु छ ? को बिरामी ?”

“को–को भनूँ बाबु ? मलाई रोजै दुई चार जना बेरामीको स्याहार सुसार गर्ने काम परिआउँछ । आज नम्बर सातमा दुईजना छन्, नम्बर पाँचमा एक जना । परदेशको ठाउँ बिचराहरू बेरामी हुनासाथ बोलाउँछन्, आफ्नू मुलुकका मानिस हुन् बाबु ! हामीले नहेरे कसले हेर्छ ?”

वीरबहादुर उठेर गयो । मेरा मनमा कुरा खेल्न थाल्यो– “यो कस्तो विचित्र मानिस हो, सालभरको कमाइ चारियो भन्छ तर फिक्री छैन । झन् बिरामीहरूलाई ख्वाउने–प्याउने दायित्व बोकेर हिँड्छ । यसलाई नेपालीहरू आफ्ना मानिस भन्ने पूरा ख्याल छ ।” दायित्व लिएर मात्र दायित्व परिआउने हो कि नलिए पनि पर्ने हो मैले केही निर्णय गर्न सकिनँ । 

एक सातापछिको कुरा हो । वीरबहादुरसँग स्टेसनरीको रुखमुनि भेटभो । साइकल रिक्सा सियाँलमा राखेर पानको पसलअगाडि बिँडी तान्न लागेको रहेछ । मलाई देख्नासाथ अग्लो हात उठाएर सलाम गर्यो र उही आफ्नो दिव्य हास्यका साथ भन्यो– “थाहा पाउनुभो बाबु ! धने साले गिरफ्तार भो । हिजो राति टे«नबाट एक जना नेपाली मुसाफिरको कुम्लो टिपेर भाग्न लागेको रहेछ । पुलिसले उत्तिखेरै पक्रेर लग्यो । अहिले थानाको हाजतमा बसिरहेछ । अब बजिया तीन वर्ष जाकिएन भने मलाई भन्नुहोला !”

“हजातमा भएको तिमीले खुद देख्यौ ?”

“खुद थानाबाट सरासर आउँदैछु ।”

“के खुसी लागेर हेर्न गएको त ?”

“नाइँ बाबु ! त्यो पापी थुनिएकोमा केको खुसी लाग्नु ? दरोगासाहेबलाई पुर्याउन गएको थिएँ । बजिया हाजतमा कम्बल ओढेर हतकडी लगाएर झोक्रिएर बसेको रहेछ । मलाई देखेर भन्थ्यो ‘दाइ मद्दत गर ।’ चाहेँ भने सालेलाई भोलि छोडाउन सक्छु तर यसपालि चेतोस् ।”

“चोरीमा गिरफ्तार भएको मानिस कसैले छोडाउँदैमा छुट्न सक्छ र ?”

“जान्नुहुन्छ बाबु ! सारा दरोगा–पुलिसहरू वीरबहादुरका हातमा छन् । सब सालेलाई त मै लादी लादी हिँड्छु । पुलिसहरू कुनै सालेसँग भाडा लिन्नँ । त्यो मोटो दरोगा छ नि, हो त्यसलाई भनिदिएँ भने भोलि नै छोडिदिन्छ तर एक पटक त सातो लिन्छ ।”

“भो पुलिसले छोडिदिन्छ, त्यही भरोसामा बस ।”

“के कुरा गर्नुहुन्छ, पोहोर साल हिन्दु–मुसलमानको दङ्गामा त्यसलाई मैले बचाएको हुँ बाबु ! एउटा मुसलमानले छुरा हानेर त्यसको भुँडी खाइसको थियो, चट्ट म अगाडि गएर छेकेँ र बाँच्यो । त्यसलाई लाग्ने छुरा मेरो पाखुरामा लाग्यो र पन्ध्र दिन अस्पताल सुतेँ । अहिलेसम्म खत छँदैछ । नपत्याए यी हेर्नुहोस् । 

वीरबहादुरले कमिजको बाहुला सारेर खत देखायो र फेरि गर्वका साथ भन्यो– “त्यहाँदेखि मैले जे भने पनि मान्छ । त्यसलाई भनेर मैले चार जना नेपालीलाई छोडाइसकेको छु । पोहोर साल त्यही धने सालेलाई पनि सराबको केसमा छोडाइदिएको थिएँ । यसपालि छोडाउन्नँ । सालेको बानी छुटोस् ।”

एक छिनपछि भन्यो– “आज मुसाफिरहरू छैनन् बाबु, डेरामा जान्छु । त्यो पाँच नम्बर कोठामा बस्ने बेरामी सिकिस्त छ । सायद बाँच्दैन क्यार ! मर्यो भने फेरि घाटमा पुर्याउनुपर्छ । 

“त्यो बिरामी कहाँको मानिस हो वीरबहादुर ?”

“रामेछापको गुरुङ हो । त्यहाँ परको बङ्गालीकहाँ भाँडा माझ्थ्यो ।”

“के मरेको जति सबैलाई घाटमा पुर्याउँछन् ?”

“बेवारिसे मूर्दालाई कसले पुर्याउँथ्यो बाबु ! डुम–मेहतरले कुकुर बिरालो फालेझैँ घिच्याएर फालिदिन्छन् । मैले भेटेका जतिलाई घाटमा पुर्याएर जलाइदिने गरेको छु । तर के गर्नु बाबु, बोक्ने मानिस र दाउराले बडो मुस्किल पर्छ । नेपालीहरूलाई भन्न गयो भने यो जात र ऊ जात भन्न थाल्छन् । कफन दाउरामा गरेर मेरो हरसाल सौ सवासौ रुपियाँ खर्च हुन्छ । अब के गर्ने त, आफ्ना देशका मानिस हुन्, अर्थोक नभए पनि धर्म त होला ।”

एकछिनपछि रिक्सामा चढेर भन्यो– “तपाईंको डेरा पनि त उतै हो नि, बस्नुहोस्, डेरानेर उतारिदिउँदा ।”

मैले हाँसेर भनेँ– “भाडा लिने भए मात्रै बस्छु किनकि म पुलिस होइनँ नि, भन त भाडा लिन मञ्जुर छौँ ?”

“अरे बाबु, त्यति बित्ताभरको ठाउँमा उतारदिन पनि तपाईंसँग भाडा लिने ? गरिब छु, मजदुरी गर्छु तर पैसाको निम्ति आत्मा बेचेको छैन ।”

“यो रिक्सा त आफ्नै होला ?”

“नाइँ बाबु, आफ्नू भए त बेचबाच पारेर पोरै घर पुगिसक्ने थिएँ । घन्टाघरको सामुन्ने त्यो बिल्डिङ छ नि, हो त्यही मारवाडीको हो । सहरमा उसको एक सय रिक्सा चल्छन् ।”

“साँच्चै भन त वीरबहादुर, दिनमा कति कमाउँछौ ?”

“के कमाउनु बाबु, कुनै दिन आठ दस रुपियाँ पनि होइजान्छ कुनै दिन जेबबाट रिक्साको किराया तिरेर डेरामा जान्छु !”

“रिक्सा नचलेको दिनको पनि किराया तिर्नुपर्छ ? यो त सरासर जुलुम हो भाइ !” 

“गाडी चलोस् या नचलोस् एक पैसा छोड्दैन, एक नम्बरको चुइँ छ साले ।”

“किराया कति दिनुपर्छ नि ?”

“रोजको तीन रुपियाँ । केही छैन बाबु ! तन काटेर दुई पैसा निकाल्छौँ ।”

वीरबहादुर मलाई जबाफ पनि दिँदै जान्थ्यो, बाटामा परिचित मानिसलाई देख्दा हात उठाएर कसैलाई ‘राम, राम’ कसैलाई ‘सलाम’ पनि भन्दै जान्थ्यो । रिक्सा वेगसँग दौडाइरहेको थियो । कति मानिससँग परिचय थियो उसको, त्यसको खुस, मिजास र विनयशीलता देखेर म दङ्गा भैरहेको थिएँ । 

डेड महिनापछिको कुरा हो, एक दिन बिहान वीरबहादुर फेरि मेरो कोठामा दाखिल भयो । उसका दुवै आँखामा आँशु छचल्किरहका थिए । मलाई देख्नेबित्तिकै छातीमा भक्कानु परेर रुन लाग्यो । 

मैले मनमनमा भनेँ– “यस दुःखलाई हाँसोमा उडाइदिने निःशोक प्राणीको हृदय आज कुन महान् आघातकले विचलित गरायो होला ? यो चोट अवश्य सामान्य छैन होला !” अनि प्रकटमा भनेँ– “किन यस्तो विवश भइरहेका छौ वीरबहादुर ? तिमीलाई के भो ?”

“के भन्नु बाबु ! मेरो राम खसेछ । मेरो राजालार्ई दैवले चुँडेर लग्यो !” वीरबहादुर झन् घोप्टो परेर डाको छोडेर रुन लाग्यो । मैले पनि मन थाम्न सकिनँ । गहभरि आँशु भो । एकैछिनपछि वीरबहादुरले आँसु पुछ्दै भन्यो– “मेरो राम राजा रहीशको छोरोजस्तो राम्रो थियो । गोरो, कल्कलाउँदो, यति अग्लो निधार भएको, बाँचिरहेको भए ठूलो मानिस हुने थियो ।”

अनि उसले अलि धैर्य गरेर भन्यो– “यो साल मेरो ठूलो दशा रहेछ बाबु ! भएभरको कमाइ चोरले लग्यो । आज छोरो मरेको चिठी आयो । उता डल्ली रोएर मर्न लागेकी होली । भर्सेला परोस् साहु साहु ! म भोलि घर जान्छु हजुर !”

भालिपल्ट वीरबहादुरलाई पुर्याउन म पनि स्टेसनसम्म गएँ । धनसम्पत्तिको नाममा ऊसँग एउटा कब्जा फुक्लेको थोत्रो ट्रङ्क र एउटा पुरानो कम्बलको सानु गुन्टा सिवाय केही थिएन । इन्जिनले सिटी दिएपछि उसले गहभरि आँसु पारेर सलाम गर्यो । मेरो आँखाबाट पनि अचानक दुई थोपा आँशु खसे । रेल हिँडेपछि पनि मैले धेरैबेरसम्म वीरबहादुरको झ्यालतिर हेरिरहेँ । 

मलाई आज आफ्नै परिवारको कुनै आत्मीय व्यक्ति विछोड भएजस्तो दुःख भइरहेको थियो । 

नेपालमा भित्रभित्रै सल्किरहेको क्रन्तिको आगो एकै पटक दन्कियो । आफ्ना प्यारा प्रजालाई आजाद गराउनका निमित्त हाम्रा वीर सम्राट त्रिभुवन वीरबिक्रम शाहदेव ०७ साल कात्तिक २१ गते आफ्ना सारा परिवार लिई शरणार्थीका रूपमा नेपालकै हिन्द–दूतावासमा प्रवेश गर्नुभो र कात्तिक ३६ गते हिन्द–संस्कारका संरक्षणमा विमानद्वारा दिल्ली प्रस्थान गर्नुभो । त्यसै  दिन रातको ३ बजे नेपाली काँग्रेसले पूर्व मानेभञ्ज्याङदेखि लिएर पश्चिम महाकालीसम्म नेपालका सामन्ती सरकारका विरुद्ध गृहयुद्धको घोषणा गर्यो । काँग्रेसले नौतनवा, गोरखपुर, पटना, लखनौ, कटिहार इत्यादि ठाउँठाउँमा  जनमुक्ति सेनाको भर्ती सुरु गर्यो । भारतका स्कुल, कलेजमा पढ्ने धेरैजसो नेपाली विद्यार्थीहरूले पनि क्रन्तिमा सक्रिय भाग लिए । हामी ठाउँठाउँमा मेडिकल कलेजमा पढ्ने विद्यार्थीहरू पनि रेडक्रसमा काम गर्नानिमित्त काँग्रेसको हेड अफिसमा जम्मा भयौँ । म विराटनगरको सैनिक अस्पतालमा खटिएँ । 

रातको नौ बजे म हस्पिटलको वार्डमा प्रवेश गरेर घायल सैनिकहरूको जाँच गर्न लागेँ । त्यस्तैमा पर कुनाको बेडबाट एकजना घायल सैनिकले भन्यो– “बाबु ! जय नेपाल !”

स्वर चिनेजस्तो लाग्यो तर ठीक ठम्याउन सकिनँ र बेड नजिकै पुगेँ । म अक्मकिएको देखेर क्षीण स्वरले भन्यो– “चिन्नु भएन बाबु, वीरबहादुरलाई ?”

मेरो आश्चर्यको सीमा रहेन, उत्सुकतापूर्वक सोधेँ– वीरबहादुर, तिमी यहाँ कसरी आइपुग्यौ ? तिमी त घर हिँडेका थियौ ।”

उसले आँसु झार्दै भन्यो– “तपाईंसँग बिदा भएर पर्सिपल्ट बिहान गोरखपुर पुगेँ । प्लेटफारममा अचानक देवता बाबुसँग भेट भो र उहाँले आश्चर्य मानेर सोध्नुभयो– “वीरबहादुर, तिमी यस्तो छाँटसँग कहाँ जान लागेको ?” मैले रोएर आफ्नू हाल सबै भनिदिएँ । अनि उहाँले गहभरि आँसु पारेर भन्नुभयो– “हरे ! राम खसेछ ? डल्लीलाई कस्तो छ नि ?” मैले भनेँ– “ऊ पनि रोएर मर्न लागेकी होली ।”

“अनि ?”

“अनि देवता बाबुले भन्नुभो– ‘वीरबहादुर संसार यस्तै छ, अपशोच नगर ! हामीले आजादीका लागि नेपालका सामन्त सरकारसँग लडाइँ सुरु गर्यौँ । मुक्तिसेनाका निमित्त स्वयंसेवकहरूको बहुतै जरुरत छ । तिमीजस्ता बहादुर कमान्डर पाए एउटा मोर्चामा हाम्रो अवश्य विजय हुनेछ । तिमी घर जान पाउँदैनौ । सेनामा भर्ती हुनुपर्छ ।’ मैले हात जोडेर भनेँ– ‘बाबु, एक पटक डल्लीको मुख मात्रै हेरेर आउन दिनुहोस् अनि जे भन्नुहुन्छ मान्नेछु ।”

“अनि ?”

“अनि उहाँले भन्नुभो– ‘हेर वीरबहादुर ! तिमीलाई यो कुरा सुनेर दुःख लाग्ला । मेरो पनि भदौमा जहान परलोक भैछन् । काखको छोरालाई दिदीले लगेर पाल्नुभएको छ अरे । उता सरकारले घरखेत जफत गरिराखेको छ । आफू चन्दा मागेर खान्छु । भन त मेरो मन कस्तो भएको होला ? तर याद राख, आमाको पुकारभन्दा स्वास्नी, छोराछोरीको पुकार ठूलो होइन । जन्जिरले बाँधिएकी नेपाल आमा यस बखत आफ्ना समस्त सन्तासँग हात पसारेर रोइरहेकी छन् । आमाको बन्धन हामी सबै मिलेर तोड्नुपर्छ । तिमीलाई थाहै छ, सन् ४२ को गदरमा भारतका हजारौँ लालहरूले देशका निमित्त कसरी हाँसी हाँसीकन आफ्नो प्राणको बलि दिए । तिमीलाई आमाको माया लाग्दैन ? एक दिन मर्नु त छँदैछ, मानिसले मर्न जान्नुपर्छ । जुन जाति मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ ।”

“अनि ?”

“अनि के ? तपाईंलाई थाहै छ; हामी देवता बाबुको आज्ञा काट्न सक्दैनौँ । उहाँले मलाई पनि प्लाटुन कमान्डरमा भर्ती गरेर विराटनगर पठाइदिनुभो । त्यही बेला विश्वस्त सूत्रबाट थाहा भो, विराटनगरका सरकारी सेनाका मद्दतका निमित्त नेपालबाट तीन सय फौज तराईको बाटो आइरहेका छन् । यो खबर पाएर हाम्रा सेनापतिले सय जवान सिपाही दिएर सरकारी सेना रोक्ने काममा मलाई खटाउनुभो । कोसी नदीका कुशहाघाटमा सरकारी सेनासँग हाम्रो घमसान लडाइँ प¥यो । दुवैतिरका धेरै जवान हताहत भए । तीन सय जवानको अगाडि सय जवान टिक्न कठिन थियो । हाम्रो मुक्ति सेनाका जवानहरूको हिम्मत टुट्न लाग्यो । मैले विचार गरेँ– ‘सरकारी सेना अगाडि बढ्यो भने हाम्रा बाँकी रहेका जवान त अवश्य सोतर हुने नै छन्; साथसाथै विराटनगरका अरू चार सय जवान पनि घेरामा परेर खतम हुन्छन् ।’ अनि मैले आफ्नू सेनाका जवानहरूलाई भनेँ ‘वीर जवान हो ! आज मर्ने, मार्ने दिन हो । खबरदार ! कोही नहटून् । हाम्रो एक जवान र एक गोली शेष रहेसम्म पनि दुस्मनलाई एक पाइलो अगाडि बढ्न दिनुहुन्न । सङ्ख्या थोरै भए पनि हामीसँग सत्य र ईश्वरको बल छ । दुस्मनको मुटु हल्लिसकेको छ । बहुतै चाँडो हाम्रो विजय हुन्छ ।”

“अनि ?”

“अनि मेरा जवानले फेरि आफ्नो शौर्य र पराक्रम देखाउन थाले । तर त्यहीबेला दुस्मनले हानेको एक गोली मेरो छातीमा लाग्यो र म बेहोश भएर गिरेँ । होश फिरेपछि मैले आफूलाई यहाँ बेडमा सुतिरहेको पाएँ । 

एक छिनपछि फेरि उसले आँसु झार्दै भन्यो– “बाबु ! लडाइँमा मैले धेरै पटक मृत्युसँग खेलवाड गरिसकेको छु । त्यसो हुनाले मर्नमा त मलाई अलिकता पनि फिक्री छैन । तर एक पटक डल्लीको मुख हेर्न पाइनँ । ठूलो अपशोच यही कुराको छ ।”

मैले भनेँ– “अघि पनि तिमीले फौजमा काम गरेका थियौँ ?”

“जी, अघि मैले २, ४ गोर्खा रेजिमेन्टमा पाँच साल नोकरी गरेको थिएँ । दोस्रो ठूलो लडाइँमा हाम्रो पल्टन बर्मामा लड्थ्यो ।”

“वीरबहादुर ! तिमीजस्ता बहादुर योद्धालाई यो खबर सुनेर खुसी नै लाग्ला, तिम्रा देवता बाबु पनि अस्तिको लडाइँमा शहीद हुनुभो !”

“अहो ! देवता बाबु मर्नुभो ! उहाँ महान् पुरुष हुनुहुन्थ्यो....!

वीरबहादुर  आँखा चिम्लेर दुवै हात जोरी एकछिन् मौन रह्यो । अनि फेरि मतिर हेरेर उसले भन्यो– “बाबु, मेरा शरीरका सारा पुर्जाहरू चुँडिन लागेका छन् । घाउ साह्रै दुखिरहेछ । यस पटक म अवश्य बाँच्दिनँ । मेरी डल्लीलाई एउटा चिठी पठाइदिनुहोला ।”

मेरो गहभरि आँसु भो; मैले भने– “तिमी विश्वास राख वीरबहादुर म डल्लीलाई चिठी अवश्य पठाइदिनेछु ।”

मैले वीरबहादुरलाई पेनिसिलिनको सुई दिएँ । उसको पथ्यको व्यवस्था मिलाएर आफ्नू चार्ज साथी डाक्टर नरेन्द्रध्वज जोसीलाई सुम्पेर म रात्रि विश्रामका निमित्त डेरातर्फ हिँडेँ । 

मेरा मनमा विचारको ज्वाराभाटा चल्न लाग्यो । ओहो ! मृत्युको रूप पनि कति प्रकारको हुन्छ ! ऊ देशको निमित्त वीरगतिले मर्न लाग्यो !

अरू हजारौँ नेपालीहरू ठाउँठाउँमा कुकुर–बिराला मरेजस्तो मरिरहेका छन् । अब डल्लीलाई चिठी पो के भनेर लेखिदिऊँ ? छोरो मरेको वर्ष दिन भएको छैन, लोग्ने परदेशमा यसरी मर्न लागिरहेको छ । जग्गाजमिन साहुले अँठ्याइराखेको छ । चिठी पउँदा ती दीन–हीन विधवाको हृदय कस्तो होला ? लोग्नेको क्रियाकाष्टा गर्ने पैसा पनि पो छ कि छैन ? अब सायद उनीसँग बन्धक राख्ने गहना पनि केही होवैन ! मेरो मन एकतमासको भो । 

बिहानदेखि आकाश बादलले ढाकिराखेको थियो । टाइम–टाइममा चिसो बतास चल्थ्यो । पुसको जाडोले तरुण रूप धारण गरेको थियो । म कपडा लगाएर अस्पताल जान तयार भइरहेको थिएँ । त्यस्तैमा पर क्षितिजमा ठूलो कोलाहल गर्दै मानिसहरू आउन लागेको देखेँ । अघि अघि मुक्ति सेनाका हतियारबन्द सिपाहीहरू थिए । त्यसपछि एक हातमा आरती र एक हातमा माला लिएका महिला स्वयं सेविकाहरूको दल थियो । त्यसपछि आठ जना स्वयंसेवकहरूलो एउटा लास बोकेका थिए । लास ठूलो राष्ट्रिय झन्डाले ढाकेर फूलमाला, अबिर, लावाले सिँगारी राखेको थियो । त्यसपछि राष्ट्रिय झन्डा लिएका पुरुष स्वयंसेवक र नागरिकहरूको दल थियो । सबैजना जोसका साथ बुलन्द आवाजले नारा लगाइरहेका थिए–

“इकलाव– जिन्दावाद !”

“वीर शहीद– जिन्दावाद !”

“वीरबहादुर– जिन्दावाद !”

बुझ्दा अर्थी मेरै चिरपरिचित वीरबहादुरको रहेछ । मेरा आँखाबाट आँसुका धारा बग्न लागे । 

(नासो कथा सङ्ग्रह २०२६ बाट ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप