रातोपाटी @ ब्याटल ग्राउन्ड : दिलबहादुर दिलमा बागीको डर !
राजेश भण्डारी/बिजु महर्जन
लमजुङ - लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हामफालेका काङ्ग्रेस नेता दिलबहादुर घर्तीलाई बागी उम्मेदवारको दौडधूपले तनाव दिएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका स्थायी घर भएका द्वारिकाप्रसाद मिश्र पार्टीसँग बार्गेनिङ गर्ने नियतले मात्रै हैन, चुनाव जित्नकै लागि बागी उठेपछि घर्तीलाई उनको उम्मेदवारी महँगो पर्ने देखिएको छ ।
द्वारीका आफू मात्रै चुनावी मैदानमा छैनन्, तरुण दलको पूर्वजिल्ला सचिवलाई प्रदेशसभाको ‘ख’ तर्फबाट साथै लिएर चुनाव लडेका छन् ।
सुन्दरबजार नगरपालिका–९ स्थित सिउँडीबामा मिश्रले निर्वाचन परिचालन समितिको कार्यालय खोलेका छन् । दुई चारवटा गाडी लिएर हरेक दिन चुनाव प्रचारमा हिँड्ने मिश्रले लमजुङका आधाजसो भू–भागमा चुनाव प्रचार गरिसकेका छन् ।
‘अहिले कता हुनुहुन्छ ?’ बेँसीसहरबाट रातोपाटीले टेलिफोन सम्पर्क गर्दा उनले भने– ‘चुनाव प्रचार–प्रसार गर्दै नायुडाँडो आइपुगेको छु, नायुडाँडो लमजुङको ऐतिहासिक ठाउँ हो । यहाँ प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम गुरुङ पनि सँगै हुनुहुन्छ ।’
गएको स्थानीय निकायको निर्वाचनमा पनि काङ्ग्रेसले टिकट बेचेको आरोप लगाउँदै उनले बागी उम्मेदवारी दिएका थिए । ‘स्वतन्त्र उम्मेदवार’को ब्यानरमा ठेकी चिन्ह लिएर सुन्दरबजार नगरपालिकाको मेयर लडेका मिश्रले दुई हजार ७६७ मत पाएका थिए । उनले ल्याएको मतको तुलनामा नेपाली काङ्ग्रेसका आधिकारिक उम्मेदवार बद्रिमान श्रेष्ठले तीन हजार २ सय मात्र मात्र हाँसिल गरे । मिश्रले काङ्ग्रेसको भोट काटेपछि एमालेका नवराज पाण्डे मेयरमा निर्वाचित भए ।
‘काङ्ग्रेसभित्र भएको आपराधिक, अलोकप्रियता, कमिसन र दलालीको विरुद्ध हाम्रो उम्मेदवारी हो’, मिश्रले भने– ‘हाम्रो जित सुनिश्चित छ ।’
दिलबहादुरका विरुद्ध बागी उम्मेदवारी दिएसँगै जिल्ला कार्यसमिति लमजुङले उनलाई पार्टीबाट निष्काशन गरिसकेको छ । तर, मिश्रले काङ्ग्रेसले गर्ने कारवाही आफूलाई मतलव नभएको बताए । उनले भने– ‘हामी बीपीको चिन्तनसँग आबद्ध छौँ, हरिबोल भट्टराईहरूसँग कुरा भइरहेको छ, कारवाही गरे पनि बीपीकै अनुयायी हौँ, काङ्ग्रेसले हाम्रो लेकप्रियतामाथि अपमान गरेको छ, बलिको बोका बनाएर छिनाउने काम गरेको छ ।’
प्रतिनिधिसभामा टेबुल लिएर चुनाव लडेका मिश्रले कसैलाई हराउन मात्र नभएर आफैंले जित्नका लागि चुनाव लडेको दाबी गरेका छन् ।
यता काङ्ग्रेसका आधिकारिक उम्मेदवार घर्तीले आफू लमजुङको माथिल्लो भागमा चुनाव प्रचारमा लागेको भन्दै ‘बागी’को प्रसङ्गमा बोल्न अस्वीकार गरेका छन् । बागी बारे जिज्ञासा राखेपछि उनले भने– ‘अहिले प्रचारमा छु, पछि कुरा गरौँला ।’
नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ताले भने मिश्रको पकड सुन्दरबजार क्षेत्रमा मात्रै भएको भन्दै उनको उम्मेदवारीले दिलबहादुरालाई कुनै धक्का नलाग्ने दाबी गरेका छन् । लमजुङ सदरमुकाममा भेटिएका नेपाली काङ्ग्रेसका नगर सचिव बिमल श्रेष्ठले भने– ‘उहाँ चारवटा गाडी लिएर प्रचारमा हिँड्नुभएको छ तर साथमा मान्छै नै छैैनन्, हामी उहाँको उम्मेदवारी फिर्ता गराउने प्रयत्नमा छौँ ।’
काङ्ग्रेसका अर्का अगुवा कार्यकर्ता एवम् दोर्दी गाउँपालिकाबाट निर्वाचित वडा सदस्य दीपक अधिकारीले द्वारीका मिश्र काङ्ग्रेसमा नभएको बताए । ‘उहाँ काङ्ग्रेसको मान्छे नै हैन, पार्टी पङ्क्तिले उनलाई घाती भन्ने गरेको छ’– अधिकारीले भने, ‘उनी हिजो एमालेबाट आएका हुन्, काङ्ग्रेसका कार्यकर्ताले रुचाएका मान्छे हैनन् ।’
जनतालाई ‘मेला’को चटारो, नेताका आ–आफ्ना डम्फु !
लमजुङमा चुनावी सरगर्मी अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । धान काट्ने र भित्र्याउने सिजन भएको हुनाले स्थानीयहरू खेततिरै व्यस्त छन् । त्यस्तोमा उम्मेदवारहरू आफ्ना सीमित कार्यकर्ताको साथमा निर्वाचन प्रचारमा खटिएका छन् । लमजुङको बजार क्षेत्रमा त खासै चुनाव लागेकै छैन् ।
‘अहिले अन्न भित्र्याउने सिजन भएकाले जनता काममा व्यस्त छन्’– काङ्ग्रेसका अगुवा कार्यकता विमल श्रेष्ठ भन्छन्– ‘सहरी क्षेत्रमा मङ्सिर २ गतेपछि मात्र चुनावी सरगर्मी बढ्ला, अहिले ग्रामीण क्षेत्रतिर चुनावी माहोल तातेको देखिन्छ ।’
मङ्गलबार सुन्दरबजार नगरपालिका–२ मा पुग्दा स्थानीयहरू धानको मुठा कस्दै थिए । ‘हामी मेला अएको, कुन चिन्हमा कसलाई भोट हाल्ने केही थाहा छैन’– स्थानीय चन्द्रबहादुर विकले भने– ‘गाउँका टाठा–बाठाले जसलाई भन्छन्, उसैलाई हाल्नुपर्ला !’
स्थानीय सुनिता विकको घरमा अहिलेसम्म कुनै उम्मेदवार भोट माग्न आएका छैनन् । ‘१० गते चुनाव भन्ने चाहिँ सुनेको छु’– रातोपाटीसँग कुरा गर्दै सुनिताले भनिन्, ‘भोट माग्न कोही आएको छैन, चाहिनेले भोट माग्न नआएपछि किन हाल्नु ?’
सुन्दरबजार–१ का विष्णु विक मङ्गलबार देव गुरुङको भाषण सुन्दै थिए । भाषणमा गुरुङले विकासे सपना बाँडे पनि आफ्नो गाउँमा पानीको हाहाकार भएको बारे कुनै नेताले नबोलेको गुनासो गर्दैै उनले भने– ‘खाने पानीको समस्या छ, त्यसबारे कोही बोलेका छैनन् ।’ ‘भोट कसलाई’ भन्ने जिज्ञासामा उनले भने, ‘निर्णय गरेकै छैन, टोलमा सल्लाह गरेर एकै ठाउँमा हाल्छौँ ।’
सर्वसाधारणले कसलाई भोट दिने भन्नेबारे निर्णय नगरे पनि राजनीतिक दलका जिल्ला नेताहरू भने आआफ्नै पार्टीले जित्ने डम्फु बजाइरहेका छन् ।
‘काङ्ग्रेसले लमजुङलाई आफ्ने गढ ठानेको छ, तर काङ्ग्रेसले उल्लेख्य काम नगरेको हुनाले जित्ने आधार नै छैन’– नेकपा एमालेका जिल्ला अध्यक्ष मायानाथ अधिकारी भन्छन्– ‘एमाले एक्लै लड्दा पनि लमजुङमा जित्ने अवस्था थियो तर अहिले माओवादी केन्द्र र हामी संयुक्त लडेको हुनाले हाम्रो जितलाई कसैले रोक्न सक्ने अवस्था नै छैन ।’
राप्रपासँगको तालमेलमा चुनाव लडेको लोकतान्त्रिक गठबन्धमा आबद्ध नेपाली काङ्ग्रेस लमुजुङका अगुवा कार्यकता दीपक अधिकारी काङ्ग्रेसले नै जित्ने दाबी गर्छन् । ‘काङ्ग्रेसले हार्दा लोकतन्त्रमाथि खतरा हुन्छ भन्नेकुरा जनताले बुझेका छन्’ अधिकारीले भने– ‘अर्को कुरा, हिजो हामी स्थानीय निर्वाचनमा एक्लै लडेका थियौँ, अहिले राप्रपासँगको तालमेलबाट हामीलाई ४ हजार मत थप हुन्छ, त्यसैले जित हाम्रै हो ।’
स्थानीय निर्वाचनमा लमजुङमा काङ्ग्रेसले ३२ हजार ६१४ मत पाएको थियो भने राप्रपाले जम्मा ७२० मत पाएको थियो । त्यस्तै नेकपा एमालेले ३० हजार ३१३ मत ल्याउँदा माओवादी केन्द्रले ६ हजार १८२ मत ल्याएको थियो । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने अहिले लोकतान्त्रिक गठबन्धका दिलबहादुर घर्तीको पक्षमा ३३ हजार ३३४ मत छ । सोही मतलाई आधार मान्दा वाम गठबन्धनका गुरुङको पक्षमा ३६ हजार ४९५ मत रहेको छ ।
रातोपाटी @ ब्याटल ग्राउन्ड
बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)
ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री, अब बामपन्थी आँधी आउँछ
ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?
विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !
पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?
काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली
गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?
प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा (फोटोफिचर)