सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : जेठमा होला त स्थानीय तहको निर्वाचन ? सरकारको खर्चभन्दा आम्दानी धेरै

सहिद दिवस मनाइयो : सहिदहरुको एकीकृत अभिलेख बनाउन प्रधानमन्त्रीको निर्देशन
आइतबार, १६ माघ २०७८, २१ : १७
आइतबार, १६ माघ २०७८

आज २०७८ माघ १६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा जेठमा होला त स्थानीय तहको निर्वाचन ? ओलीलाई कारवाहीको माग गर्दै उजुरी, सहिद दिवस मनाइयो : सहिदहरुको एकीकृत अभिलेख बनाउन प्रधानमन्त्रीको निर्देशन, राप्रपामा २४ पदाधिकारी मनोनित, प्रवक्तामात्र चार जना, माघ २१ गते नेकपा (क्रान्तिकारी माओवादी) ले देशव्यापी प्रदर्शन गर्ने, सरकारको खर्चभन्दा आम्दानी धेरै, तीन हजार ५४० जनामा कोरोना संक्रमण, संसदमा सीट नभएको भन्दै जब सांसद शाही बाहिरिइन् लगायत छन् ।

१. जेठमा होला त स्थानीय तहको निर्वाचन ?
सत्ता साझेदार दल आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर ती दलकै कतिपय नेता भने अझै कानुनी जटिलता कायम रहेको भन्दै त्यसलाई फुकाएरमात्र निर्वाचन गराउनुपर्ने तर्क गर्दै आएका छन् । सरकारले निर्वाचनको मिति घोषणा गर्न बाँकी नै छ । निर्वाचनको विषयलाई लिएर सबै दल एक मत हुन अझै सकेका छैनन् ।

​२. ओलीलाई कारवाहीको माग गर्दै उजुरी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । ओलीले संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका निवासी अभिजित अधिकारीले उजुरी गरेका हुन् । 

​३. सहिद दिवस मनाइयो : सहिदहरुको एकीकृत अभिलेख बनाउन प्रधानमन्त्रीको निर्देशन 
आइतबार सहिद दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित सहिद स्तम्भमा पुगेर सहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन् । यसैबीच प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा २४ पदाधिकारी मनोनित गरेका छन् । उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री लगायतका पदमा विभिन्न नेतालाई मनोनित गरिएको हो । अध्यक्ष लिङ्देनले प्रवक्तामा मात्र चार जनालाई मनोनित गरेका छन् । 

 

५. माघ २१ गते नेकपा (क्रान्तिकारी माओवादी)ले देशव्यापी प्रदर्शन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको भन्दै खबरदारी स्वरुप सो पार्टीले विरोध प्रदर्शन गर्न लागेको हो । 

 

६. सरकारको खर्चभन्दा आम्दानी धेरै
सरकारले चालू आर्थिक वर्षको ६ महिना १५ दिनमा खर्चभन्दा आम्दानी धेरै गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यसबीच पाँच खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्दा ६ खर्ब १६ अर्ब रुपैयाँ स्रोत जुटाएको हो । खर्चभन्दा स्रोत प्राप्ति ७२ अर्ब रुपैयाँ बढी हो । 

७. तीन हजार ५४० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५४० जनामा कोरोना संक्रमण भएको छ । यो अवधिमा ६ हजार ३५९ जना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ जना थप भएको छ । यद्यपि मृतकको संख्या भने पछिल्लो २४ घण्टाको मात्र नभएर केही दिन अघिदेखि गणना छुटेकाहरूसमेत समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले संसद बैठक चलिरहँदा आफूले सीट नपाएको गुनासो गरिन् । राप्रपाबाट निर्वाचित उनले संसदमा आफ्नो दलले स्थान पाउने कि नपाउने भन्दै प्रश्न गरिन् । आफूलाई सीटको व्यवस्था नगरिएको भन्दै उनी बैठक छाडेर बाहिरिएकी थिइन् ।

९. नेप्से १०५ अंकले बढ्यो
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ । गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहीबार समान्य सुधार आएको नेप्से यो साताको पहिलो कारोबार दिनमै १०० अंकभन्दा बढीले उकालो लागेको हो ।

१०. आयोगको सिफारिस अनुसार स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न पूर्वमन्त्री त्रिपाठीको माग
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आयोगको सिफारिसअनुसार स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन् । उनले स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्र भएको तर प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नभएको आरोप लगाए । 

११. र यो पनि,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् । आइतबार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताएका हुन् । ​

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । माघ १३ मा खाल्डोबाट उत्खनन् गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए ।

सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सँगसँगै चुनावी तयारीलाई पनि तीव्रता दिएको छ । उक्त पार्टीले पुसको दोस्रो हप्तादेखि किसान आन्दोलन सुरु गर्नुअघि नै चुनावको तयारी सुरु गरिसकेको थियो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप