आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपामा विवाद : बैठक बोलाउन अध्यक्ष यादवमाथि दबाब

मङ्गलबार, १८ माघ २०७८, १३ : २५
मङ्गलबार, १८ माघ २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो । 

कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले बस्न नसकेको हो थाहा पाउन नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘कार्यकारिणी समिति बैठक बसेको चार पाँच महिना भइसक्यो, अर्को बैठक बसिहाल्नुपर्ने थियो, ढिलो भइरहेको छ, केन्द्रीय समितिको बैठक बोलाउने बेला पनि भइसकेको छ ।’  बैठक नबसेको कारण पार्टीका थुप्रै कामहरू ठप्प रहेको बताउँदै उनले नेतृत्वले चाँडै नै बैठक राख्ने विश्वास व्यक्त गरे । 

नेताहरूका अनुसार जसपाका केन्द्रीय सदस्यहरूको कार्य विभाजन बाँकी छ । कार्यकारिणी समिति विस्तार पनि भएको छैन । यी सबै कार्यका लागि राष्ट्रियसभाको चुनावपछि बैठक बस्ने सहमति भएको थियो । तर चुनाव सम्पन्न भएको एकसाता बितेपनि अध्यक्षले बैठक नबोलाएको भट्टराई पक्षीय नेताहरूको आरोप छ । उनी पक्षीय एक नेताले भने, ‘हामी अझै केही दिन कुर्छौ, अध्यक्षजीले बैठक बोलाउनु भएन भने लिखित रूपमै बैठकका लागि माग गर्छौँ । त्यसपछि पनि बैठक बोलाउनु भएन भने त्यसपछि हामी आफै बहुमत सदस्यहरूको बैठक बोलाउँछौँ ।’

ती नेताका अनुसार भट्टराईमा हाल कोरोना पोजेटिभ रहेका कारण मात्रै बैठकका लागि हतार नगरिएको हो । अर्का कार्यकारिणी सदस्य मनिष सुमनले भने पार्टीका वरिष्ठ नेता अशोक राई उपत्यका बाहिर रहेको र परिषद्का अध्यक्ष भट्टराईलाई पनि कोरोना पोजेटिभ भएको कारणले बैठकमा ढिलाइ भइरहेको जस्तो आफूलाई लागेको बताए । उनले छिट्टै बैठक बस्ने पनि विश्वास व्यक्त गरे । जसपाका कार्यालय सचिव एवं कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रियसभाको चुनावपछि बैठक बस्ने कुरा भएको तर अहिलेसम्म बैठकको मिति तय नभएको बताए । उनले भने, ‘बैठक बस्छ, तर आज भोलि नै बस्ने कुरा मेरो जानकारीमा आएको छैन । तर बैठक चाँडै नबस्ने कुरा भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप