सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अँध्यारोबाट ज्ञानको ज्योति छर्दै ‘सुरेश कुमार’

बिहीबार, २० माघ २०७८, ०९ : ११
बिहीबार, २० माघ २०७८

‘के अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ?’ अहँ चाहिँदैन । इच्छा र आँट भएमा सुनेर पनि ज्ञानको ज्योति छर्न सकिने रहेछ । जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने अध्ययन सर्वोत्कृष्ट हुँदो रहेछ भन्ने एक उदाहरणीय व्यक्ति हुन् ‘सुरेश कुमार’ । वीरेन्द्रनगर नगरपालिका–३ पतेनीका सुरेश कुमार खड्काले आफूजस्तै दृष्टिविहीन २० जना विद्यार्थीहरुको भित्री आँखा खोलिरहेका छन् ।  

३५ वर्षीय सुरेश कुमारको ४ वर्षको उमेरमै  दादुराको ‘इन्फेक्शन’ का कारण आँखाको ज्योति सदाका लागि गुम्यो । उज्यालो संसार एकाएक कालो अन्धकारमा परिणत भइदियो । आफूले बाहिरी संसार नदेखे पनि असाध्यै मिहिनेत गर्ने उनको दिमाग तीक्ष्ण थियो । 

०५२ सालतिर सुर्खेतको भेरीगङ्गा नगरपालिकाको रामघाट भन्ने स्थानमा पहिलो पटक दृष्टिविहीनका लागि विद्यालय खोलिएको थियो । सुरेश त्यहाँ भर्ना भए । सुरेश सुर्खेतबाट दृष्टिविहीन विद्यार्थी अध्ययन गर्ने पहिलो ब्याचको विद्यार्थीमा पर्दछन् । उनी पढाइमा मात्र होइन, खेलकुद क्षेत्रमा पनि अब्बल थिए । ०६४ सालमा क्रिकेट खेल्न नेपालबाट ‘फस्ट बलाइन्ड नेशनल टिम’ को प्रतिनिधित्व गदै पाकिस्तान गएको अनुभव उनी गर्वका साथ सुनाउँछन् । 

एसएलसीपछि उनी उच्च शिक्षाको लागि काठमाडौँ आए । सानोठिमी शिक्षा क्याम्पस, भक्तपुरमा भर्ना भई किताबको अध्ययन मात्र होइन, कम्प्युटर सिक्नेदेखि इन्टरनेटका बारेमा समेत छामेरै अध्ययन गरे । स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा उनी सुर्खेत आएर वीरेन्द्रनगरको नेरा माध्यमिक विद्यालयमा पढाउन थाले । 

एक दशकदेखि शिक्षण नै उनको कर्म बनेको छ । सुरेश भन्छन्, ‘०६७ साल असोज १८ गतेदेखि शिक्षण पेसामा आबद्ध भएर अहिलेसम्म यसमै रमाएको छु ।’ ०७२ जेठ २४ मा श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा दृष्टिविहीन भएका व्यक्तिको लागि स्रोत कक्षा कार्यक्रम सुरु भयो । उनी त्यहाँ छानिएपछि अहिले पनि सोही विद्यालयमा शिक्षण गरिरहेका छन् । 

दृष्टिविहीन हुँदैमा जीवनको बाटो रुमल्लिँदैन । बरु दृढ–संकल्प र इच्छाशक्ति भए गन्तव्यको यात्रा रोकिँदैन भन्ने कुरामा विश्वास राख्छन् सुरेश कुमार । उनी आज तिनै  दृष्टिविहीनहरूका लागि मार्गदर्शक बनिरहेका छन् । उनले अँध्यारोबाट नै ज्ञानको ज्योति छरिरहेका छन् । थुप्रै  निराश मनहरूका लागि आशा बनेका छन् ।

‘बाहिरी रूपमा दृष्टिविहीनहरूको जीवन असाध्यै गाह्रो होला, आँखा नदेखेर कसरी दिनचर्या चलाउँछन् होला भनेर सोच्छौँ, खासमा हाम्रो जीवन त्यति कठिन चाहिँ हुँदैन,’ उनले आफ्नो अनुभव सुनाउँदै भने,‘तपाईं सद्दे आँखा भएकाहरूले जसरी सामान्य जीवन बाँचिरहनुभएको छ, हामी पनि आफ्नै दुनियाँमा सहज रूपमा दिनचर्या बिताइरहेका हुन्छौँ । बाँच्ने तौरतरिका आ–आफ्नै हुन्छ ।’ 

प्रेम र विवाह  

दृष्टिविहीनहरू पनि उमेरसँगै प्रेम–विवाह र रोमाञ्चमय वातावरणमा रमाउन सक्छन् भन्ने उदाहरण पनि हुन् सुरेश कुमार । भक्तपुरमै बसेर कलेज पढिरहेका बेला काठमाडौँकी सुनिता पोखरेलसँग उनको चिनजान भयो । सुनिता दृष्टिविहीन होइनन् । उनी भन्छन्, ‘मेरी श्रीमती बाहुन परिवारको छोरी । म क्षेत्री, त्यसमाथि दृष्टिविहीन । कलेज पढ्दै गर्दा प्रेम बस्यो । प्रेम सम्बन्धमा बाँधिएको तीन महिनामै बिहे भयो ।’ प्रेम प्रसङ्गको कुरा गर्दा सुरेश कुमार लजालु हुन्छन् । मुस्कुराउँदै उनले भने,‘कलेजमा हाम्रो विषय एउटै थियो एच्छिक नेपाली । मान्छेहरू प्रेम सम्बन्ध भएपछि अलिक ‘वेट’ गर्थे केरे, मेरो त लभ परेसि तीन महिनामै बिहे भयो हौ ।’ 

उनी बाहुन–क्षेत्रीको संस्कारमा केही भिन्नताले फरक पारेपनि कुनै समस्या नआएको बताउँछन् ।  सुरेश कुमार दम्पतीका अहिले दुई सन्तान छन् । उनलाई पठन–पाठनदेखि घर व्यवहारमा श्रीमतीले निकै सपोर्ट गर्छिन् । त्यसैले, आफू अपाङ्गता भएको व्यक्ति भन्ने फिल नै छैन उनलाई । 

ब्याचलर सकाएका सुरेश अहिले शिक्षणसँगै मध्यपश्चिम विश्वविद्यालयमा ‘सोसल वर्क’मा एमए अध्ययन गरिरहेका छन् । सुनिता  भने अपाङ्गता सशक्तीकरण केन्द्रमा ‘सबैका लागि पढाइ कार्यक्रम’मा कार्यरत छिन् ।

असम्भव केही रहेनछ

सुरेश कुमारको अनुभवमा ‘दृष्टिविहीन भएर होइन, अज्ञानताले संसार अँध्यारो हुँदो रहेछ ।’ शिक्षा आर्जन गरेपछि जीवनको बाटो आफै उज्यालो हुँदै जाँदो रहेछ । दृष्टिविहीन हुँदैमा रोएर बस्ने होइन । न त नियतिलाई दोष दिने हो, माया र हौसला पाए, संसार उज्यालो पार्न सकिन्छ,’ उनी भन्छन्, ‘जीवनमा असम्भव केही रहेनछ । त्यसका लागि मिहिनेत र इच्छाशक्ति चाहिँदो रहेछ । म अहिले अत्यन्त खुसी छु ।’ उनका विचारमा दृष्टिविहीनलाई अवसर र वातावरण ‘क्रियट’ गरिदिने हो भने समाजको उत्पादनशील र सम्मानित व्यक्ति हुन सक्छन् । 

अपाङ्ग अधिकारका लागि वकालत

सुरेश अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा अभियन्ताको रूपमा काम गरिरहेका उनीसँग २ कार्यकाल नेत्रहीन संघ सुर्खेतको अध्यक्ष भएर नेतृत्व गरे । अहिले पनि उक्त संस्थाको सल्लाहकार अनि राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको कोषाध्यक्ष छन् ।

सुरेश फेसबुक, टिकटक लगायतका एपको पनि प्रयोग गर्छन् । ‘टिकटक भिडियो म देख्दिन तर सुन्छु,’ उनले भने । दिउँसो विद्यालय जाने उनी बेलुका छ बजेपछि परिवारसँग बिताउँछन् । फुर्सदमा साथीभाइसँग रमाउँछन् । ‘बिहानै पाँच बजे उठ्छु,’ उनले भने, ‘कहिले नृत्यकर्म गर्छु त कहिले ‘मर्निङ् वाक’ पनि । उनी बेलुकीको वीवीसी नेपाली सेवा प्रसारण नियमित सुनेपछि मात्रै सुत्ने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप