बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक भयानक तुफान

शनिबार, २२ माघ २०७८, १३ : २८
शनिबार, २२ माघ २०७८

गोपीनाथ सिकारको सौखिन थियो । ऊ सिकार खेल्न जंगल जान्थ्यो अनि जंगली पशुपंक्षीको सिकार गरी हवेली फर्किन्थ्यो । उसलाई कानूनले छुँदैनथ्यो । छोओस् पनि कसरी, गोपीनाथ छोटेराजा जो थियो । 

एक दिन ऊ बाघको सिकार गरी हवेली फर्किएको थियो । हवेली फर्किंदा उसको हातमा सुगाको बच्चा पनि थियो । सुगाको बचेरा अति मीठो बोल्थ्यो । ऊ चतुर पनि थियो । सुगा पिँजडाभित्रबाट मधुर ध्वनिमा ‘गोपी कृष्ण कहो’ भट्याउँथ्यो । छोटेराजा सुगाले आफ्नो नामको भजन गाएको देखेर दंग पर्दथ्यो । सुगाले ‘गोपी कृष्ण कहो’ गाउनुको खास उद्देश्य थियो । त्यो हो, छोटे राजाको मन पगालेर पिँजडा मुक्त हुनु । तर त्यो क्षण कहिल्यै आएन ।

कैयौँ कोशिशका बाबजुद मनसुवा पूरा नभएपछि सुगा दिनप्रतिदिन निराश हुँदै गयो । कालन्तरमा भयानक मनोरोगले ग्रस्त हुन पुग्यो । सुगा हमेसा झोक्राएर बस्थ्यो । दिएका खानेकुरा खाँदैनथ्यो । निराहारको कारण उसको शरीर दुब्लोपातलो हुँदै गयो । ऊ हरदम पिँजडाबाट कसरी मुक्त हुन सकिन्छ भन्ने बारेमा सोचिरहन्थ्यो । 

यस्तैमा एक विहान गोपीनाथका आँखा पिँजडाभित्र लडिरहेको सुगामाथि परे गोपीनाथले सुगालाई पिँजडाबाट बाहिर निकाल्यो । अनि उपचारका लागि पशु चिकित्सकलाई फोन गर्यो । सुगा त्यही मौका छोपेर भुर्र उड्यो । । वास्तवमा त्यो सुगाको अभिनय मात्र थियो भन्ने उसलाई थाहै भएन । ऊ बेग हान्दै हवेलीभन्दा एक कोश पर रहेका सिद्ध योगीको कुटीमा पुग्यो । 

योगी तपोवलद्वारा सिद्धी हासिल गरेका ब्यक्ति थिए । उनमा मनचाहे वरदान दिन सक्ने सामथ्र्य थियो । योगी कसैको पनि कुभलो हुने काम गर्दैनथे । उनले शरणको मरण गर्न जानेकै थिएनन् । योगीले शरणमा आएका थुप्रै प्राणीलाई न्याय दिलाएका थिए । सुगा स्वतन्त्रता चाहन्थ्यो । ऊ त्यस्तो स्वतन्त्रताको पक्षपाती थियो, जहाँ उसको उडान, खानपान, उठबसमा कोही कसैको लगाम नरहोस् ।  

सुगाले योगीसंग हवेलीमा बन्दी जीवन बिताउनु पर्दाको पीडा सुनायो । आफूमा अन्य पंक्षीजस्तै आकाशमा उन्मुक्त उडान भर्ने प्रवल उत्कण्ठा रहेको बतायो । उसको गिद्द बन्ने इच्छा थियो । यसर्थ उसले ‘सुगाबाट गिद्ध हुन पाऊँ’ भनी वरदान माग्यो । योगीले विना विलम्व तथास्तु भनी वरदान दिए । सुगा गिद्दको नयाँ अवतार ग्रहण गर्दै त्यहाँबाट उड्यो ।  

योगीकुटीबाट सय किलोमिटर उत्तर पश्चिममा स्वतन्त्रता पर्वत नाम गरेको पहाड थियो । शोषण, उत्पीडनबाट मुक्त पंक्षीहरुको तीर्थस्थल जस्तै थियो त्यो पहाड । सुगाबाट नयाँ अवतार पाएको उक्त गिद्दले स्वतन्त्रता पर्वतको शिखरमा उमंगको पाइला टेक्यो । 

योगीले त्यहाँ नवोदित गिद्दको स्वागतका लागि अग्रिम प्रबन्ध गरेका थिए । हजारौँ पंक्षीहरुले नवोदित गिद्दलाई करतलध्वनिका साथ स्वागत गरे । गलामा माला पहिर्याइदिए । 

स्वतन्त्रता पर्वतको वातावरण अति रमणीय थियो । पहाडको शिखरमा विशाल घाँसे मैदान थियो । सयकडौँ प्रजातिका बनफूलहरु फुलिरहेका थिए । स्वच्छ आकाश, सुन्दर झरना, तालतलैयाले स्वतन्त्रता पर्वत प्रकृतिको दिव्यभूमि समान लाग्दथ्यो । 

स्वतन्त्रता पर्वतमा अवतरण गरेपछि नवोदित गिद्दले आफ्नो जीवन सीमान्तकृत, बहिस्कृत र तिरस्कृत समुदायको उत्थान र विकासमा लगाउने प्रण गर्यो । त्यसको भोलिपल्टैदेखि देशदेशावरको भ्रमणमा निक्लियो । ऊ सगोत्रीहरु बस्ने गुफा, ओडार, भीर–पहरामा पुग्यो । सीमान्तकृत गिद्द समुदायले भोग्नु परेको समस्याका बारेमा गहिरो अध्ययन–अन्वेषण गरयो । तिनका आन्तरिक पीर ब्यथा बुझ्यो । त्यस अभियानका कारण उक्त गिद्दलाई बृहत् भूगोलले चिन्न थाल्यो ।

सुगा गिद्द बनेको पाँच बर्ष पुगिसकेको थियो । यस्तैमा एक दिन योगी गिद्दलाई भेट्ने उद्देश्यले कुटीबाट निस्किए । उनले उक्त गिद्दलाई खोला किनारमा अन्य मित्रहरूका साथ बसिरहेको देखे । योगी भेट्न आएको थाहा पाएर गिद्द औधी खुसी भयो । 

बितेका पाँच बर्षको अन्तरालमा गिद्दमा आमूल परिवर्तन आइसकेको थियो । ऊ हृष्टपुष्ट थियो, प्रसन्न देखिन्थ्यो । योगीले गिद्दसँग सञ्चो बिसञ्चो सोधे । समस्या भए नलुकाइ भन्न अनुरोध गरे ।   

गिद्दले बेलीबिस्तार लगायो– म खुसी छु, प्रसन्न छु, भरपेट खान पाएको छु । चाहेको ठाउँमा बेरोकतोक घुम्न पाएको छु । अथवा यसो भनौँ, स्वतन्त्रताको साँचो स्वाद चाख्न पाएको छु । तर स्वतन्त्रता निरपेक्ष हुँदो रहेनछ । म हरेक दिन मनुष्य जातिलाई हेरिरहेको छु । तिनले भोगेका हकअधिकार, सुखसुविधा, खानपानसंग गिद्द जातिले ब्यतित गरेको जीवनपद्धति तुलना गरिरहेको छु । 

यस क्रममा मैले मनुष्य जाति र हामीबीच मेटिनै नसक्ने दूरी भेटेँ । गिद्द जाति युगौँदेखि तिरस्कृत, बहिस्कृत र सीमान्तकृत छन् । हाम्रा बन्धुबान्धव गुफा, ओडार र रूखका डालीमा बस्छन् । प्रचण्ड गर्मी अनि मुसलधारे बर्षामा अनिँदो रात बिताउँछन् । त्यहीँ भाग्यमानी मनुष्य जाति महलमा बस्छन् । मोटर गाडीमा सयर गर्छन् । बिरामी परे अस्पताल जान्छन् । हाम्रा साथी चाहीँ सामान्य ब्यथामा उपचार नपाई मर्छन् । हजुर परोपकारी हुनुहुन्छ । प्राणीबीचको विभेद सहन सक्नुहुन्न । हाम्रा साथी मनुष्य वर्गबाट खेदिएका छन्, लखेटिएका छन्, मारिएका छन् । उल्लेखित विभेद अन्त्यका लागि गिद्दजातिलाई मानिस बन्ने वरदान दिनुहोस् । उसले बिन्ति बिसायो । 

गिद्दको कुराले योगीको मन छोयो । योगीले तथास्तु भनी अर्को बरदान दिए । 

गिद्द जातिलाई मनुष्य योनीमा बदल्नेजस्तो अभूतपूर्व कार्य गरेकोमा उक्त गिद्दको लोकप्रियता बुलिस ट्रेण्डको सेयर मार्केटझैँ आकाशियो । उसको गणना गिद्द जातिको नायकमा हुन थाल्यो । त्यही साल भएको सम्मेलनले उसलाई ‘फादर अफ गिद्धज’ उपाधिद्वारा विभूषित गर्यो । 

‘फादर अफ गिद्धज’ घोषित भएपछि उसले असंगठित गिद्द समुदायलाई संगठित गर्यो । मनुष्य अवतारी गिद्दहरूको संगठन खोल्यो । अनि संगठनको नेतृत्व गर्दे देशको सम्मानित ओहोदामा पुग्यो । ऊ त्याज्यबाट पूज्य भयो, सम्माननीय भयो । सम्माननीय भएलगत्तै उसले सीमान्तकृत, बहिस्कृत र तिरस्कृतहरूलाई राज्यको मूलधारमा समावेश गर्न पहल गर्यो । 

परिणाम यो भयो कि चतूर पूर्व गिद्दहरूले त्यसको भरपुर फाइदा उठाए । उनीहरू गुफा, ओडार र रुखका हाँगाबाट निस्केर छोटे राजाको जस्तै भीमकाय महल बनाउन थाले । करोडौँ मूल्यका मोटर गाडीमा हुइँकिन थाले । उनीहरुले पनि ठेक्कापट्टामा हात हाल्न थाले । गुप्त ब्यापार ब्यवसाय गर्न थाले । सेवा क्षेत्र मानिने स्कुल, कलेज, अस्पताल आदिलाई ब्यापारीकरण गर्ने नयाँ अभियानको सुत्रपात गरे । 

दृष्य यस्तो देखियो कि पूर्व गिद्दहरु परम्परागत शक्तिकै हाराहारीका धनवान, उद्योगी, ब्यवसायी बने । तस्कर, माफिया, डन आदिको बादशाही ताज परम्परागत शक्तिबाट फादर अफ गिद्धज र उनका अनुयायीको शिरमा पुग्यो । राष्ट्रिय साधनश्रोत दोहन अभियानमा फादर अफ गिद्धज र उनका अनुयायीले सबैलाई चकित तुल्याए । 

योगीले परिवर्तित परिस्थितिलाई मिहिन ढंगले नियाली रहेका थिए । 

दश बर्ष बित्यो ।  योगीले फादर अफ गिद्धजलाई स्वतन्त्रता पर्वतमा भेट्न बोलाए । खबर पाएको केही घण्टामैँ ऊ आफ्नो सुरक्षा दस्तालाई साथमा लिएर त्यहाँ पुग्यो । भेटमा योगीले फादर अफ गिद्दज र उसका अनुयायीको गतिविधिप्रति तीब्र असन्तुष्टी ब्यक्त गरे । सुगाको जुनी भोग्नु पर्दाको बिषम दिनहरु याद दिलाए । स्वतन्त्रता पर्वतमा पाइला टेकेका दिन खाएको बाचा–कसम संझाए । 

‘तिमीले राष्ट्रिय साधन–श्रोतमाथि ब्रह्मलुट बढायौ । समाजमा हुने र नहुने बीचको खाडललाई थप गहिरो बनायो । स्वतन्त्रताको फल मुठ्ठीभर ब्यक्तिका हातबाट शोषित, पीडित जनतामा पुर्याउनु पर्ने जातीय धर्मलाई रछ्यानमा मिल्कायो । याद गर, गरीब, उत्पीडित, सीमान्तकृत, बहिस्कृत र तिरस्कृत समुदायको मुक्ति नै सच्चा स्वतन्त्रता हो । अब तिमीबाट सकारात्मक अपेक्षा गर्ने ठाउँ रहेन । तिमीले प्राप्त स्वतन्त्रताको दुरुपयोग गर्यो । त्यसैले म आजैका मितिबाट तिमी र तिम्रो समुदायलाई दिएको मानिस हुने वरदान फिर्ता लिन चाहन्छु ।’ आक्रोसित हुँदै योगीले भने । 

योगीका कुरा सुनेर फादर अफ गिद्धज रिसले आगो भयो । सादा पोशाक पहिरिएका सुरक्षा दस्ताबीच रहेका उसले योगीलाई ‘निर्णयमाथि पुर्नविचार नगरे गम्भीर परिणाम भोग्नुपर्ने’ धम्की दियो ।  

योगी आफ्नो बचनमा टसकोमस भएनन् । उनीभित्र आक्रोशको ज्वालामुखी बिष्फोट भयो । 

‘मूर्खहरू ! जसले तिमीहरुलाई नयाँ जीवन दियो, तिमीहरु उसैलाई समाप्त गर्न खोज्दैछौ ! याद गर, बिष रोपेर अमृत फल्दैन । तिमीहरुको सर्वनास निश्चित छ ।’ योगी पड्किए ।

मनुष्य अवतारी फादर अफ गिद्दज क्रोधले पागल भैसकेको थियो । उसले योगीका छातीमा दुई गोली फायर गर्यो । तर योगीमाथि त्यसको कुनै असर परेन । किनकि उनले इच्छामृत्युको वरदान पाएका थिए । 

ठीक त्यहीबेला दूर क्षितिजबाट भयङ्कर ठूलो आँधीले पदचाप दिएको प्रत्यक्ष अनुभुति हुन थाल्यो । योगीले फादर अफ गिद्दजलाई त्यस भयानक आँधीतर्फ ईशारा गर्दै देखाए । 

‘हेर् त, दूर क्षितिजबाट एउटा भयानक आँधी आइरहेको छ । त्यो आँधी सेकेण्ड–सेकेण्डमा तीब्र बेगका साथ यतातिर लम्किरहेको छ । अबको केहीबेरमा त्यो तुफान तेरो साम्रज्य बमको धमाकाझैँ बिष्फोट हुनेछ । जव त्यो शक्तिशाली तुफान बिष्फोट हुनेछ, तेरो लुटको स्वर्गमा अकल्पनीय सर्वनाश निम्त्याउनेछ । हेर्, ऊ आउँदैछ । नजिक नजिक आउँदैछ !’ उनले चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप