सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षित इन्टरनेट दिवस : अनलाइन सुरक्षाका लागि पैरवी अवसर

आइतबार, २३ माघ २०७८, १८ : ०८
आइतबार, २३ माघ २०७८

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नारासाथ ‘सुरक्षित इन्टरनेट दिवस–२०२२’ नेपालमा पनि मनाइँदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाइन्छ । विश्वका १७० भन्दा धेरै देशमा दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।

यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी लिने अवसर उपलब्ध गराउँछ । चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवद्र्धन गर्दै आएको छ ।

चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले हालको डिजिटल युगमा इन्टरनेटले ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको, तर सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरू अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलिङ्ग, साइबर ग्रूमिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौती) मा पर्ने जोखिम रहेको बताए । बालबालिका तथा युवालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक रहेकोमा उनले जोड दिए ।

कोभिड–१९ विश्व महामारीपछि संसारभरि नै अनलाइन बालयौन दुव्र्यवहार तथा बालयौन शोषणका घटना बढेका छन् । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३ हजार २६६ जना नेपाली बालबालिकाका यौन दुव्र्यवहारका चित्रहरूकोे साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेको थियो ।

कोभिड–१९ पछि, सन् २०२० मा त्यो संख्या झण्डै तीन गुणा बढेर एक लाख ७८ हजार ३७१ पुगेको थियो । कोभिड–१९ पछि चाइल्डसेफनेटले गरेको एक अध्ययन अनुसार पाँच जनामा एकजना किशोरी वा युवती र १० जनामा एकजना किशोर वा युवकले अनलाइन यौन दुव्र्यवहार वा यौन शोषण भोगेको थिए ।

बाल तथा युवा क्लबहरू, सामाजिक संस्थाहरू तथा विद्यालयहरूले गत पुस महिनादेखि देशका विभिन्न जिल्लामा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेका छन् । यसै क्रममा चाइल्डसेफनेटले डोटी, सुर्खेत, कास्की, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी लगायत जिल्लाका विद्यालयहरूमा अनलाइन सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गरेको थियो ।

वेदः सिर्जनशील संस्था, लवग्रीन नेपाल, होमनेट नेपाल, अम्ब्रेला नेपाल, प्लान इन्टरनेशनल नेपाल, बाल विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल लगायतका संस्थाहरूका साथै किशोरीहरूको रुपान्तरण समूह, काठमाडौँ जिल्ला बाल क्लब संजाल तथा स्थानीय निकायहरू तथा विद्यालयहरूसंग सहकार्य गर्दै चाइल्डसेफनेटले अनलाइन सुरक्षासम्बन्धी रेडियो कार्यक्रम, निबन्ध प्रतियोगिता, बाल तथा युवाहरूबीच अन्तरक्रिया, हाजिरीजवाफ, भिडियो प्रदर्शन जस्ता कार्यक्रम यही माघ र फागुनमा गर्दैछ । साथै, सिवीन नेपाल, भ्वाइस अफ चिल्ड्रेन, वाइशर तथा अन्य बाल संरक्षणको लागि कार्यरत संस्थाहरूले आआफ्ना कार्यक्षेत्रमा अनलाइन सुरक्षाबारे चेतनामूलक कार्यक्रम संचालन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप