आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अञ्जु पन्तको गुनासो : ओरिजिनल गायक–गायिकाको नामसमेत उल्लेख नहुनु दुःखद

‘संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागेछौँ’
बुधबार, २६ माघ २०७८, ०९ : १९
बुधबार, २६ माघ २०७८

चर्चित गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ लाई नेपाल आइडलकी सहभागी रचना रिमालले ‘नयाँ भर्सन’ मा गाएपछि त्यसको पक्ष र विपक्षमा बहस र विवाद भइरहेको छ । अहिले सो विवादमा गीतकी ओरिजिनल गायिका अञ्जु पन्तले समेत मुख खोलेकी छन् । उनले नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नामसमेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुन दुःखद् भएको बताएकी हुन् ।

‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ,’ उनले भनेकी छन्, ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’

यस्तो छ उनको भनाइ

मेरा सम्पूर्ण श्रोता,दर्शक तथा शुभचिन्तकमा अभिवादन,

भर्खरै पुनः रेकर्ड भएर युट्युबमा सार्वजनिक भएको न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ । यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकहरूले जिज्ञासा र चिन्ता व्यक्त गर्नुभएको पाएँ । हाल म काम विशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन यसप्रति क्षमा प्रार्थी छु । 

यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो । 

आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन । केही समयअघि विपिन किरण भाइले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ । यसैक्रममा उहाँले कभरको रूपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुसीसाथ हुन्छ भनेकी थिएँ । 

अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ । 

उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ । आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस् । 

मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरूबाट पाएको माया र सम्मानप्रति सदैव आभार व्यक्त गर्दछु । 

अन्जु पन्त 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप