बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रज्ञामा समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा

बुधबार, २६ माघ २०७८, १२ : ३०
बुधबार, २६ माघ २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम सोमबार आयोजना गरिएको छ । 

कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको चर्चा गरे । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बालकृष्ण सम राणा वंशमा जन्मिएता पनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सधैँ चिन्तित रहेको जिकिर गरे । उनले सम नाटक, कविता लगायतका विधाका विशिष्ट साधक हुनुका साथै चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै विशिष्ट रहेको विचार राखे । 

कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंश वाचन गरेका थिए । नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताइन् । 

कार्यक्रम सुरु हुनुअघि कमलपोखरी र प्रज्ञा परिसरमा अवस्थित बालकृष्ण समको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धा अर्पण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप