सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषध कारोबारको ‘हव’ बन्दै मकवानपुर

एकसातामा १५१ किलो गाँजा र ७९८ एम्पुलसहित ४ जना पक्राउ
बुधबार, २६ माघ २०७८, १२ : ४१
बुधबार, २६ माघ २०७८

मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेको छ । दैनिक रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको देखिन्छ ।  पछिल्लो एक सातामा मात्र लागुऔषध कारोबारमा संलग्न भएको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई गाँजा, अफिम, नाइट्रोभेट, फेनारगन, डाइजेपाम, कोरेक्स जस्ता लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत माघ १६ गतेदेखि २३ गतेसम्मको अवधिमा ३ वटा लागुऔषध सम्बन्धी मुद्धा दायर भएको छ ।  प्रहरीले सो अवधिमा लागुऔषध गाँजा १५१ किलो, डाईजेपाम २ सय ८०, एम्पुल फेनार्गन २ सय ६८ एम्पुल र नुफिन २ सय ५० एम्पुल बरामद गरेको छ । सो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत शुक्रबार मात्र ठुलो मात्रामा लागु औषधसहित एक युवती र उनका श्रीमानलाई पक्राउ गरेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १९ बस्तिपुरमा डेरा गरेर बस्दै आएकी मकवानपुरको बकैया घर भएकी २९ वर्षकी नानीमाया खत्री र उनका श्रीमान वर्ष ३१ को सुभाष खत्रीलाई उनकै डेराबाट ७९८ एम्पुल लागू औषधसहित पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले यसै साता लागु औषध गाँजा १ सय ५१ किलोसहित २ जनालाई प्रक्राउ गरेको छ । प्रहरीले यसै साता मात्र ४१ किलो गाँजासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बस्ने वर्ष ३१ का ईश्वर लोप्चनलाई पक्राउ गरेको हो भने ११० किलो गाँजासहित  मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–५ बस्ने बर्ष ३६ को राम बहादुर घलानलाई पक्राउ गरेको हो ।

भारतीय नागरिकको संलग्नता घट्दै

पछिल्लो समयमा लागूऔषध कारोवार तथा ओसारपसारमा भारतीय नागरिकहरुको संलग्नता न्यून देखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार केही वर्ष अगाडिसम्म लागूऔषध कारोबारमा धेरै भारतीयको संलग्नता रहने गरेको भएपनि पछिल्लो दिनहरुमा उनीहरुको संलग्नता घट्दो क्रममा रहेको छ ।

पछिल्लो समय लागू औषध कारोबारमा भारतीय भन्दा नेपालीको संलग्नता बढी रहने गरेको मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ बताउँछन् ।

नजिकै भारतीय सीमा नाका भएका कारण मकवानपुर जिल्ला भएर धेरै मात्रामा लागू औषध कारोवार हुने गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पछिल्लो तीन वर्षमा लागूऔषध कारोबारमा जम्मा २८ जना भारतीयको संलग्नता रहेको पाइएको छ ।

प्रहरीले पक्राउ गरेको आधारमा हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा १८ पुरुष १ महिला गरी १९ जना भारतिय नागरिकलाई लागू औषध कारोवार तथा ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा भने त्यसमा कमि आएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा ३ जना भारतिय पुरुषहरु पक्राउ परेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा पनि लागू औषध कारोवार तथा ओसारपसारमा भारतिय नागरिकको संलग्नतामा कमि आएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ को हालसम्म लागू औषध कारोवार तथा ओसारपसारमा संलग्न भएको भन्दै ६ जना पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप