मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सबै नेपालीलाई बुस्टर, ११ वर्ष मुनिका बालबालिकालाई पनि खोपः स्वास्थ्यमन्त्री

बुधबार, २६ माघ २०७८, १६ : १३
बुधबार, २६ माघ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन् । उनले छिट्टै नै सबै नेपालीलाई बुस्टर डोज खोप दिने सरकारको योजना रहेको पनि बताए । 

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरुलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाए । 

‘विद्यार्थीलाई खोपको कुरा उठाउनु भयो । हामीले पुस ४ गतेबाट शुरु गरिसकेका छौँ । असजिलो नहोस् भनेर विद्यालयलाई नै खोप केन्द्र बनायौँ । विद्यालय खोपकेन्द्र भएकोले त्यो उमेरसमूहका विद्यार्थीले मात्रै पाउने अरुले नपाउने हो कि भन्ने होइन, त्यो खोप केन्द्र हो’, उनले भने, ‘वरिपरि भएका सबै सो उमेर समूहका बालबालिकालाई खोप लगाउनु पर्छ । हामीले ५–११ उमेर समूहकालाई पनि खोप ल्याउन प्रयत्न गरिरहेका छौँ फाइजर खोप । यसको उपलब्धतामा कमी हुँदैन । बढी भन्दा बढी विद्यार्थीहरु र त्यो उमेर समूहका नागरिकलाई पनि खोप लगाउनका लागि प्रेरित गर्नुपर्छ । अबको केही दिनभित्रमा नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज लगाउँदैछौँ ।’

विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरु गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरुलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको बताए । उनले विपन्न नागरिकहरुको ओपिडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप