आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकहरूको स्प्रेडदर घट्यो, अब ब्याजदर पनि सस्तिने

कुन बैंकको स्प्रेडदर कति ?
शुक्रबार, २८ माघ २०७८, १४ : २२
शुक्रबार, २८ माघ २०७८

कूल २७ मध्ये २६ वाणिज्य बैंकको स्प्रेडदर (निक्षेप–कर्जाको ब्याज अन्तर) घटेको छ । चालू आर्थिक वर्षको ६ महिनामा २६ वटा बैंकले अघिल्लो वर्षको सोही अवधिमा भन्दा सरदर १.०६ प्रतिशतले स्प्रेडदर घटाएका हुन् । बैंकहरूका अनुसार स्प्रेडदर न्यूनतम ०.२१ प्रतिशतदेखि अधिकतम १.७३ प्रतिशतसम्म घटेको छ ।

पुस मसान्तसम्म कायम स्प्रेडदर हेर्दा सरदर तीन प्रतिशतमात्रै कायम भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्प्रेडदर ४.०६ प्रतिशत रहेको थियो । यसले कर्जाको ब्याजदरसमेत घट्ने देखिन्छ । हाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको स्प्रेडदरको अधिकतम सीमा ४.४ प्रतिशत तोकिदिएको छ ।

सबैभन्दा कम स्प्रेडदर कायम गर्नेमा हिमालयन बैंक

प्रस्तावित तथ्याङ्क हेर्दा २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको र सबैभन्दा कम हिमालयन बैंकको स्प्रेडदर रहेको देखिन्छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म सरकारी स्वामित्वको कृषि विकास बैंकको स्प्रेडदर ४.३८ प्रतिशत र हिमालयन बैंकको जम्मा २.२७ प्रतिशत कायम रहेको छ । जब कि यी दुई बैंकको गत वर्षको सोही अवधिमा क्रमशः ४.३७ प्रतिशत र ३.७६ प्रतिशत स्प्रेडदर कायम रहेको थियो । 

अघिल्लो वर्षको तुलनामा अधिकतम १.४९ प्रतिशतले बैंकको स्प्रेडदर घट्दै गर्दा यता कर्जाको ब्याज समेत स्वतः घट्ने देखिन्छ । यसले बैंकको नाफामा केही संकुचन आएपनि ऋणीहरूलाई भने फाइदा नै पुग्नेछ । 

कुन बैंकको स्प्रेडदर कति ?

बैंकहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष न्यूनतम ०.२१ प्रतिशतदेखि अधिकतम १.७३ प्रतिशतसम्मले स्प्रेडदर घटाएका छन् । जसमध्ये कुमारी बैंकले सबैभन्दा कम अर्थात् अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.२१ प्रतिशतले स्प्रेडदर घटाएको छ । मेगा बैंकले अधिकतम १.५५ प्रतिशतले घटाएको छ । 

अन्यमा राष्ट्रिय वाणिज्य बैंकले ०.४८ प्रतिशतले स्प्रेडदर घटाउँदै ३.६१ प्रतिशत कायम गरेको छ । एनआईसी एसिया बैंकले ०.७९ प्रतिशतले घटाउँदै ३.६१ प्रतिशत, ग्लोबल आईएमई बैंकले १.१७ प्रतिशतले घटाउँदै ३.५२ प्रतिशत, प्राइम कमर्सियल बैंकले १.१७ प्रतिशतले घटाउँदै ३.४६ प्रतिशत र नबिल बैंकले ०.६३ प्रतिशतले घटाउँदै ३.४४ प्रतिशत कायम गरेको छ । 

प्रभु बैंकले ०.३७ प्रतिशतले घटाउँदै ३.२७ प्रतिशत, नेपाल एसबीआई बैंकले ०.९२ प्रतिशतले घटाउँदै ३.१३ प्रतिशत, सिटिजन्स बैंकले ०.९७ प्रतिशतले घटाउँदै ३.११ प्रतिशत, सिभिल बैंकले ०.९७ प्रतिशतले घटाउँदै ३.०५ प्रतिशत र बैंक अफ काठमाडौंले ०.४३ प्रतिशतले घटाउँदै २.९६ प्रतिशत कायम गरेको छ । 

नेपाल बैंकले अघिल्लो वर्षको तुलनामा १.४८ प्रतिशतले स्प्रेडदर घटाउँदै २.९१ प्रतिशत कायम गरेको छ भने सानिमा बैंकले १.३० प्रतिशतले घटाउँदै २.९१ प्रतिशत, सनराइज बैंकले १.२० प्रतिशतले घटाउँदै २.९० प्रतिशत, लक्ष्मी बैंकले १.२१ प्रतिशतले घटाउँदै २.८८ प्रतिशत, माछापुच्छ्रे बैंकले १.३२ प्रतिशतले घटाउँदै २.८७ प्रतिशत, एभरेष्ट बैंकले १ प्रतिशतले घटाउँदै २.७० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले १.४५ प्रतिशतले घटाउँदै २.६९ प्रतिशतमा सीमित पार्न सकेको छ । 

सिद्धार्थ बैंकले १.५१ प्रतिशतले घटाउँदै २.६९ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले १.५५ प्रतिशतले घटाउँदै २.६६ प्रतिशत, एनएमबी बैंकले १.६८ प्रतिशतले घटाउँदै २.६४ प्रतिशत, सेन्चुरी बैंकले १.४० प्रतिशतले घटाउँदै २.५७ प्रतिशत, नेपाल बंगलादेश बैंकले १.६८ प्रतिशतले घटाउँदै २.५१ प्रतिशत र एनसीसी बैंकले १.६६ प्रतिशतले घटाउँदै २.३१ प्रतिशत स्प्रेडदर कायम गरेको छ । 

निक्षेप र कर्जाको ब्याजबीचको अन्तर (स्प्रेडदर) जुन बैंकको कम हुन्छ, त्यस्तो बैंकको कर्जामा समेत ब्याजदर कम हुन गई ऋणीलाई कम भार पर्न जान्छ । बैंकको कमाइसँग प्रत्यक्ष जोडिने स्प्रेडदर भनेको सर्वसाधारणबाट लिएको निक्षेप लगानी गरी आएको ब्याजदरबाट निक्षेपकर्ताको् ब्याज भुक्तानी गरी बचेको रकम हो । यो आम्दानीबाट सञ्चालन खर्च छुट्याएपछि बचेको रकममात्र बैंकको मुनाफा हो । 

चालू आर्थिक वर्षको ६ महिनामा कायम बैंकहरूको स्प्रेडदर (प्रतिशतमा) 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप