सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सामान्य सार्वजनिक सेवामा धेरै खर्च, कोरोनामा ९ अर्ब ६९ करोड स्वाहा !

शुक्रबार, २८ माघ २०७८, १८ : ०५
शुक्रबार, २८ माघ २०७८

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को आधा अवधि अर्थात साउनदेखि पुससम्म पाँच खर्ब ६ अर्ब ७८ करोड ५२ लाख रुपैयाँ खर्च गर्न सक्यो । सो खर्च कूल विनियोजन १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको ३१.०४ प्रतिशत हुन आउँछ । लक्ष्यअनुसार सरकारले पुस मसान्तसम्म कम्तिमा ४० प्रतिशत खर्च गरिसक्नुपर्थ्यो ।

सरकारले हाल १० वटा कार्यगत शीर्षकमा बजेट खर्च गर्ने गरेको छ । सामान्य सार्वजनिक सेवा, रक्षा, सार्वजनिक शान्तिसुरक्षा, आर्थिक मामिला, वातावरण संरक्षण, आवास तथा सामुदायिक सुविधा, स्वास्थ्य, मनोरञ्जन संस्कृति तथा धर्म, शिक्षा र सामाजिक सुरक्षामा बजेट खर्च हुने गरेको छ । ६ महिना अवधिभित्र अङ्कका हिसाबले सामान्य सार्वजनिक सेवा र प्रतिशतका हिसाबले सार्वजनिक शान्तिसुरक्षामा सबैभन्दा धेरै खर्च भएको देखिन्छ । 


खर्च लक्ष्य नभेटेको सरकारले ६ महिनाभित्र कुन क्षेत्रमा कति खर्च ग-यो त ? अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अध्ययन गर्दा सरकारले पुस मसान्तसम्म सामान्य सार्वजनिक सेवामा एक खर्ब ७१ अर्ब ८२ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । अन्य कार्यगत शीर्षक तुलनामा यो शीर्षकमा भएको खर्च सबैभन्दा बढी हो । यो शीर्षकमा विनियोजनको ३५.९३ प्रतिशत खर्च भएको छ ।

कार्यगत खर्च वर्गीकरणको आधारमा सरकारले शिक्षामा ८१ अर्ब ३४ करोड नौ लाख रुपैयाँ अर्थात विनियोजनको ४५.६५ प्रतिशत खर्च गर्न सकेको छ । तेस्रोमा आर्थिक मामिलामा ७१ अर्ब आठ करोड दुई लाख रुपैयाँ अर्थात विनियोजनको १६.४६ प्रतिशत खर्च गरेको छ ।

सामाजिक सुरक्षामा सरकारले ६ महिना अवधिमा ६७ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । यो खर्च विनियोजनको ३५.५९ प्रतिशत हो । स्वास्थ्यमा ४१ अर्ब १२ करोड ११ लाख खर्च भएको छ । यो विनियोजनको २८.०३ प्रतिशत हो । 

सार्वजनिक शान्ति सुरक्षामा सरकारले ६ महिनामै ३० अर्ब ६४ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ । यो शीर्षकमा भएको विनियोजनमध्ये ६ महिनामा भएको खर्च ५३.६९ प्रतिशत हो । रक्षामा २४ अर्ब २ करोड ११ लाख खर्च हुँदा विनियोजनको ४५.६६ प्रतिशत पुगेको छ ।

यसैगरी, आवास तथा सामुदायिक सुविधामा १५ अर्ब २५ करोड २६ लाख अर्थात् विनियोजनको १९.०६ प्रतिशत, वातावरण संरक्षणमा दुई अर्ब १२ करोड ३३ लाख अर्थात् विनियोजनको १७.१३ प्रतिशत र मनोरञ्जन, संस्कृति तथा धर्ममा दुई अर्ब पाँच करोड ६० लाख रुपैयाँ अर्थात् विनियोजनको ३०.९८ प्रतिशत खर्च भएको छ ।

कोरोना नियन्त्रणमा तीन तहको खर्च नौ अर्ब
साउनदेखि पुस मसान्तसम्म कोरोना महामारी नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहले नौ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा यी तीन तहले १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च गरेका थिए । 

चालू आर्थिक वर्षको ६ महिनामा संघले सात अर्ब ७४ करोड ५३ लाख, प्रदेशले एक अर्ब ८८ करोड पाँच लाख र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप