सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका प्रमुख समाचार (भिडियोसहित)

शुक्रबार, २८ माघ २०७८, २१ : ०७
शुक्रबार, २८ माघ २०७८

आज मिति २०७८ साल माघ महिनाको २८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. क्रिकेटमा नेपाल विजयी

पालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानलाई ६ विकेटले पराजित गरेको छ । नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो ।

दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतक बनाएपछि नेपालले जितेको हो ।  दिपेन्द्रले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । टी–ट्वान्टीमा दिपेन्द्रको सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए ।

​२. त्रिपाठीको पार्टी दर्ता प्रक्रियामा

हृदयश त्रिपाठीले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

३० सदस्यीय कार्यसमितिसहित त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीका महासचिव ईश्वरदयाल मिश्रले बताए । पार्टी दर्ताका पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षरसहित आवश्यक अन्य डकुमेन्टहरू राखेर निवेदन दर्ता गराएको उनले बताए । उनले भने, ‘३० जनामध्ये १५ जनाले सनाखत गरेका छन् । बाँकी १५ जनाले आइतबार सनाखत गर्नेछन् ।’

​३. १६ जिल्लामा काँग्रेस अधिवेशन

नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।   काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १३ अधिवेशन गर्ने तय भएको रातोपाटीलाई जानकारी दिए ।

​४. बारले फेरि आन्दोलन चर्काउने

नेपाल बार एसोसिएसनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन चर्काउने भएको छ । कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आगामी फागुन १ देखि भने भौतिक रुपमै सुरु गर्न लागिएको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

​५. चुनाव चिन्ह दिन माग

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध विवेकशील साझा सहित २४ साना पार्टीले संघर्ष मितिको घोषणा गरेका छन् । 

शुक्रबार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको छ ।

६. शेखरको ५ बुँदे प्रस्ताव

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले एकढिक्का भएर चुनावी अभियानमा जुट्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा मन्तव्य राख्दै नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रदेखि वडा तहसम्मको पार्टी संरचनालाई एकढिक्का बनाएर सञ्चालन गर्ने विश्वास आफुले लिएको बताए । बैठकमा नेता कोइरालाले ५ बुँदे प्रस्ताव समेत राखेका छन् ।

७. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २२१५ जना निको भएका छन् ।

​८. एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश र परमादेशका बीचको वास्तविक लडाई सुरु भएको बताएका छन् । ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुक्रबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन सरकार परमादेशवाला र एमाले जनादेशवाला भएको भन्दै अब यी दुईबीच लडाईं सुरु भएको बताएका हुन् ।

९. स्वास्थ्यमन्त्रीको १०० दिन

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । खतिवडा गत असोज २२ गते स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको एक मात्र प्राथमिकता “खोप, खोप र खोप” लाइ मूर्त रुप दिन मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र  कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको जनाइएको छ ।

​१०. यो पनि...

काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङमा करिब ४५ वर्षका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ‘बाबा’ लाई पक्राउ गरेको छ । बिहिबार साँझ दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने वर्ष ३५ का शिव गिरी उर्फ ‘ ​अघोरी’  ले बोल्न नसक्ने र मागेर खाने पुरुषलाई चिर्पटले हिर्काए । चिर्पट र बाँस प्रहारबाट गम्भीर घाइते भएका पुरुषको शुक्रवार बिहान वीर अस्पतालमा मृत्यु भएको छ ।

​नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहर्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने तर्क गरेका हुन् ।

​अमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता गराएका छन् । एक विज्ञप्तिमार्फत उनले  मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदमा दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् ।

​हङकङले नेपाल एयरलाइन्स सहित आठ देशमाथि फेरि हवाई प्रतिबन्ध घोषणा गरेको छ । पछिल्लो प्रतिबन्ध मार्च चार तारिख (फागुन २० गते) सम्म लागू हुने त्यहाँको हवाइ उड्ययन नियामकले जनाएको छ ।

​वाङ्‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीमा निमोनिया संक्रमणका साथै मुटुमा समस्या देखिएको छ । किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले शुक्रबार दिउँसो ४ बजे जारी गरेको विज्ञप्तिमा उनको उपचार जारी रहेको जानकारी दिइएको छ ।

​ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ । गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।

​थप समाचार

​अन्तिममा यो पनि

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भीषण आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ । गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप