कविता- मेरो छातीको घाउ
न त निद्रा पर्छ
न त भोक लाग्छ
न त मनमा चयन छ
न त खान रुच्छ
न त धामी झाँक्रीले ठिक हुन्छ
न त डाक्टरको औषधीले छुन्छ ।
आँसु पुछ्दै
दिन बित्यो
साता बित्यो
महिना बित्यो
पुरै साल बित्यो
तर पनि
आएन मनमा उमंग
छाएन तनमा तरंग
छोराको आशै आशामा ।
कसरी भनुँ म
आफ्नो मनको कुरा
कसलाई सुनाऊँ म
आफ्नो दिलको बेदना
कसलाई पुकारुँ म
कोसँग मद्दत माँगु
म आज ।
आज मेरो छोराले
पहिचान खोजेको
कैंयो बर्ष भैसक्यो
कसरी बाँच्दै छ
के खाँदैछ
के लगाउँदै छ
कोसँग मनको पीर साट्दै छ
कसरी बिताउँदै छ बन्दी जीवन
कारागार भित्र ।
आँखाको आँसु रित्तिई सक्यो
मनको उमंग हराई सक्यो
दिलको चयन लुटिई सक्यो
मेरो पहिचान मेटिई सक्यो
मेरो शरीरको सारा रगत सुकिसक्यो
टीकापुर सम्झिएर
चह्र्याउँदै छ हरदम
मेरो छातीको घाउ ।
मेरो छातीको घाउ ।।
हालः धनगढी, कैलाली