सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘सबैभन्दा बढी श्रम शोषणमा पर्ने साहित्यिक स्रष्टा हुन् भैरव अर्याल’

किन रोजे आत्महत्याको बाटो ?
शनिबार, २९ माघ २०७८, ११ : ३२
शनिबार, २९ माघ २०७८

भैरव अर्याल नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका प्रमुख धरोहर थिए । ललितपुरको कुपण्डोलमा १९९३ असोज ५ गते जन्मिएका उनी साहित्यमा मात्र नभएर नेपाली पत्रकारितामा पनि उत्तिकै सिद्धहस्त थिए । नेपालीमा एमए र संस्कृतमा मध्यमासम्म अध्ययन गरेका अर्यालले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । गोरखापत्रको सम्पादन समूहमा रहेर काम गर्नुका साथै मधुपर्क साहित्यिक पत्रिकालाई स्तरीय बनाउन उनले निकै ठूलो योगदान गरेका थिए । भैरव अर्याल, रमेश विकल र म रोचक घिमिरे मिलेर रचना पत्रिकाको प्रकाशन पनि सुरु गरेका थियौं, जुन पत्रिका अझै निरन्तर प्रकाशित भइरहेको छ ।

साहित्यिक प्रतिभाकै कारण भारत, जर्मनी, बङ्गलादेश लगायत देशविदेश भ्रमण गरेका हाँस्यव्यङ्ग्यकार अर्याल कविता सिर्जनाबाट साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो हाँस्यव्यङ्ग्य चाहिँ ‘नेपाली भाषा र कवित्व’ भन्ने हो । त्यो २०१७ सालमा रूपरेखा पत्रिकामा छापिएको थियो । तर छापिँदा प्रुफ मिस्टेक भएर इभरव प्रसाद अर्याल भएछ । रचना पत्रिकामा पहिलो अङ्कमा ‘टी पार्टी’ भनेर हाँस्यव्यङ्ग्य लेख लेखेका थिए, सबैभन्दा पहिलो भैरव अर्यालकै नामको व्यङ्ग्य निबन्ध चाहिँ त्यो हो ।

भैरवसँग त मेरो एकदमै घनिष्ठता नै भयो । मेरो घरमा कोठा खालि थिए । २, ३ वर्ष उनका परिवारसहित यहीँ बसेका थिए । भैरव अर्याल रमाइलो मान्छे हुन् तर हाँस्यव्यङ्ग्य पढेर पाठकका मनमा लागेका जस्ता खालको व्यक्तित्व चाहिँ थिएनन् । दिल, दौल, मान्छेको बोलीचाली सुन्दा पाठकले सोचेजस्ता थिएनन् । उनी सामान्य खालका, भलाद्मी, शिष्ट व्यक्ति थिए । 

रोचक घिमिरे
 

श्रमशोषणको शिकार

त्यतिबेला लेखक, साहित्यकारजस्ता कर्मचारीको आर्थिक अवस्था दयनीय नै थियो । उनी गोरखापत्रमा जागिरे थिए । प्रतिभाको धनी मान्छे थिए, त्यस्ता व्यक्तिको शोषण बढी हुन्थ्यो । उनको प्रतिभाले नै गोरखापत्रमा जागिर प्राप्त भएको थियो । त्यहाँ जे लेख्नुपरे पनि भैरवजी भन्थे रे । कुनै आर्थिक विषयको सम्पादकीय लेख्नु पर्यो, भैरव अर्याललाई नै जिम्मा लगाइन्थ्यो । विज्ञानसम्बन्धी लेख्नु पर्यो, पञ्चायती व्यवस्थासम्बन्धी लेख्नु पर्यो, भैरव अर्याल । कसैको पुस्तकको रिभ्यु लेख्नु पर्यो, समाचार सङ्कलनमा जानुपर्यो, भैरव अर्याल । जहाँ पनि भैरव अर्याल । तर त्यही तलबका भरमा मात्र काम गर्नुपथ्र्यो, त्यसैको भरमा मात्र बाँच्नुपर्ने अवस्था थियो ।

त्यतिबेलाको समय भनेको चाकडीको समय थियो । रामराज पौडेल भन्ने सम्पादक थिए । गोरखापत्रको प्रधान सम्पादक भएर केही त दिनुपर्यो भन्ने लागेर उनलाई पत्रकारितासम्बन्धी किताब लेख्ने इच्छा लागेछ । त्यो किताब लेख्न भैरव अर्यालकै सहयोग लिए । भैरव अर्याललाई कोठामा लान्थे,  खापानको व्यवस्था गरिदिएर पत्रकारितासम्बन्धि पुस्तक लेख भनेर ढोका बन्द गरिदिन्थे रे ।

भैरव ठट्यौले पनि थिए । त्यही ठट्टामार्फत् उनका पीडा पनि बाहिर आउँथे कहिलेकाहीँ । उनी भन्थे, “हेर, अचेल मान्छेहरू राम भक्ति गर्छन् तर म चाहिँ अचेल हराम भक्तिमा परेको छु ।” यसरी किताब लेखिदिनुपरेको छ भन्थे ।

ती सम्पादकको पुस्तक मात्र होइन उनको जोडबलमा अरू अरूका किताब पनि लेखिदिनुपरेको अर्याल बताउँथे । कोही जापान भ्रमण गरेर आउँछ, अनि उसको ‘मेरो जापान भ्रमण’ भनेर पुस्तक लेखिदिनुपर्ने । लेखकले चाहिँ जापानबारे नोट गरेर ल्याएको हुन्थ्यो; त्यसलाई विवरणात्मक र साहित्यिक रूप दिएर अर्यालले लेख्ने गर्थे । यस्तै कुनै नेतृले ‘नेपाली नारी’ भन्ने पुस्तक लेख्नुपर्ने भयो । त्यो पनि भैरव अर्यालले नै लेख्नुपर्ने भयो । त्यो अरूकै नाममा किताब नै निस्केको छ ।

भैरव अर्याल

दयनीय आर्थिक अवस्था

भैरव अर्यालको आर्थिक अवस्था दयनीय नै थियो । नोकरीबाहेक अरू आम्दानी केही थिएन । उनका साथीहरू सबै हुनेखाने थिए । डा नवराज चालिसे पनि उनका साथी, अहिले पनि छन् । उनी राष्ट्रिय वाणिज्य बैङ्कको जीएम, कृषि विकास बैङ्कको अध्यक्ष पनि भए । यस्तै रमेश विकल पनि उनको साथी । उनी पनि हुनेखाने नै हुन् । म पनि उनको साथी नै हुँ । मेरो पनि तराईमा पनि जग्गा जमिन, यहाँ पनि घरबार राम्रै थियो । यो सब देखेर अर्यालका परिवारले सबै साथीहरू चाहिँ यस्ता छन्, तिमी चाहिँ कमाउन नसक्ने भनेर केही करकर पनि त हुन्थ्यो होला नि । त्यो सबको पीडाले उनी चाउरिन्थे होला तर जसरी पनि परिवार त पाल्नुपर्ने नै थियो ।

किन रोजे आत्महत्याको बाटो ?

भैरव अर्यालको दुःखद निधन भयो । उनले आत्महत्या गर्नुका धेरै कारण हुन सक्छन् । आफूले काम गर्ने ठाउँमा शोषण हुने, परिवारबाट पनि सान्त्वना नपाउने अवस्था आयो भने जसलाई पनि नराम्रो लाग्न सक्छ । साथीभाइहरूबाट पनि हेला, होचो गर्ने लगायत धेरै कारणले उनी भित्रभित्रै पीडित भएका थिए ।

उनमा सुरुदेखि नै हीनभाव पैदा भएको जस्तो देखिन्थ्यो । उनको घाँटीको स्वरनली सुकेको थियो । १५ वर्षको उमेरदेखि बोली बिग्रियो । कुरा गर्दा बोली चाहिँ महिलाको जस्तो आउँथ्यो । हाँस्यव्यङ्ग्य, कविता लगायत लेखेर प्रसिद्धि कमाए, भैरव अर्याल भनेर चर्चित भए । उनलाई मञ्चमा भाषण गर्न, कविता सुनाउन बोलाइन्थ्यो । स्वरका कारण माइकमा गएर बोल्न मान्दैन थिए, ग्लानी हुन्थ्यो होला सायद । उनको कविता अरू कोहीले पढिदिनुपर्ने अवस्था थियो । फेरि बोल्दा पनि उनलाई असह्य दुख्थ्यो भन्थे । हामीसँग कुरा गर्दा पनि घाँटी समाएर कुरा गर्थे ।

केही समयपछि उनलाई गोरखापत्रबाट एक वर्ष पत्रकारिता पढ्न पूर्वी जर्मनी जाने मौका मिल्यो । त्यहाँ गएपछि उनले घाँटीको शल्यक्रिया गरेछन् । तर शल्यक्रियापछि लाउड स्पिकरमा बोलेको जस्तो ठूलो आवाज आउन थाल्यो । पछि त्यो पनि बिग्रियो ।

नेपाल फर्केर आए । कसैले उनीसँग फोनमा कुरा गर्दा भैरव अर्याललाई नै दिनुस् न समेत भन्थे । पहिले त मान्छेले उनको मसिनो स्वर सुनेका हुनाले ‘तिमी भैरव अर्याल होइनौँ, यसरी जिस्क्याउने हो’ समेत भन्थे । उनले पटक पटक आफू नै भैरव अर्याल हो भनेर प्रष्टीकरण दिनुपरेको थियो । कहिलेकाहीँ ठट्यौली पाराले म जर्मनी गएर उपचार गर्दा त्यहाँका डाक्टरले गधाको स्वर हालिदिए, त्यही भएर मेरो स्वर यस्तो भयो भन्थे । 

त्यही स्वरको कारण, जागिरका कारण, शोषणका कारणले सहन सक्ने आत्मबल नभएर नै त्यो बाटो रोजेका होलान् । उनले दसैँकै बेलामा टीकासिका लगाइसकेपछि राति नै घरबाट उठेर गएर सुन्दरीघाट पुलबाट फाल हानेछन् ।

दसैँको टीका लगाएर भोलिपल्ट भैरव र म नै पोखरा जाने भनेर सल्लाह गरेका थियौँ ।  टिकट पनि लिएका थियौँ । सुन्धारा गएँ, त्यहीँबाट बस चल्थ्यो तर समयमै उनी त्यहाँ आएनन् । अनि म एक्लै भए पनि पोखरा गएँ । ४, ५ दिनपछि आउँदा त यहाँ त्यत्रो काण्ड भइसकेछ । पछि आएपछि थाहा पाएँ, अत्यन्त दुःख लाग्यो ।

रातोपाटीका लागि शिखर मोहनसँग गरेको कुराकानीमा आधारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोचक घिमिरे
रोचक घिमिरे
लेखकबाट थप