बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘पीडाभित्रका नारी’ विमोचित

शनिबार, २९ माघ २०७८, ११ : ३३
शनिबार, २९ माघ २०७८

लेखनाथ पुस्तकालय भद्रपुर–१०, चन्द्रगढीले आफ्नो नियमित मासिक कार्यक्रम सुकबारे भेलामा उदीयमान नारी स्रष्टा इन्दिरा कुसुमको ‘पीडाभित्रका नारी’ कथा सङ्ग्रहको लोकार्पण गरिएको छ । भाषाविद् चूडामणि रेग्मी, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई अर्याल, रुद्रगौरी अम्बिका ओली स्मृति प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, नारी स्रष्टा समाज प्रदेश नं १ की अध्यक्ष ममता मृदुल, प्रमुख अतिथि होम सुवेदीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए । 

लोकार्पित कृतिको समीक्षा गर्दै साहित्यकार लता खरेलले भनिन्, “कृतिकारले यस सङ्ग्रहमार्फत नारीमाथि भएका, हुने गरेका अन्याय, अत्याचार, शोषण, दमन मात्र हैन पुरुषमाथि हुने, पुरुषहरूले भोगेका पीडा पनि उजागर गरेकी छिन् ।”

चूडामणि रेग्मीले लेखनाथ पुस्तकालयले आयोजना गर्दै आएको मासिक कार्यक्रम सुकबारे भेला सुरुका दिनहरूभन्दा अहिले व्यापक हुँदै गएको र धेरै कवि साहित्यकारहरूका पुस्तक पनि लोकार्पण गर्दै आएकोमा खुशी ब्यक्त गरे । ममता मृदुलाले ‘परम्परागत सोचबाट माथि उठेर आजको सामाजिक धरातलमा उभिएर अबको पुस्ताले आफ्ना सिर्जनाहरू लेख्नुपर्छ’ भनिन् । उनले महिला मात्र हैन हाम्रो समाजमा पुरुष पनि उत्तिकै पीडित र प्रताडित छन् । उनीहरूको पीडा र प्रताडनाका बारेमा पनि  कथा लेखिनुपर्ने बताइन् । 

सुभद्रा भट्टराई अर्यालले लोकार्पित कृति नारी भित्रको पीडा नभएर पीडाभित्रका नारी शीर्षक राखिनुको खास अर्थ रहेको बताइन् । कार्यक्रम सञ्चालक नारी, कृतिकार नारी, कृतिको समीक्षक नारी र सहभागी सङ्ख्या पनि नारीकै सघन हुनु एक विशिष्ट विशेषता रहेको आफूले महसुस गरेको बताइन् । समाज परिर्वतन गर्न सबभन्दा पहिले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ र सोच परिवर्तन भए मात्र समाज परिवर्तन गर्न सहज हुने बताउँदै अब लेखिने सिर्जनामा मानिस सोचमा आमूल परिर्वतन ल्याउन सक्ने हुनुपर्ने उनको भनाइ थियो । 

कृतिकार इन्दिरा सुवेदीले आफूले समाजभित्र देखेका र मेरा आमा, हजुरआमाहरूले भनेका र सुनेका घटनाक्रमलाई समेटेर कथाका विषयवस्तु बनाएको र आजको आधुनिक समाजका नारीहरूले पनि कथामा वर्णित पीडा भोगिरहेको उनको स्पष्टोक्ति थियो । 

कार्यक्रमका सभापति विरही अधिकारीले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप