सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिमा युवाहरूको बढ्दो आकर्षण र चुनौती

आइतबार, ०१ फागुन २०७८, १५ : १०
आइतबार, ०१ फागुन २०७८

नेपालको केन्द्रीय राजनीतिमा अहिले पनि पुरानै पुस्ताको बर्चस्व छ । भर्खरै  नेपालका ठूला राजनैतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीको महाधिवेशन सम्पन्न भएको छ,  जसको नेतृत्वमा अपवादबाहेक पुरानै नेताहरु दोहोरिएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुमा पनि ठूलो संख्या पुरानै अनुहारको छ । तथापि केही युवा पुस्ताका नेताहरु पनि अहिले शीर्ष पदमा पुग्न सफल भएका छन्, जसलाई परिवर्तन अथवा पुस्तान्तरणको संकेतका रुपमा लिन सकिन्छ । तर, हामीले बुझ्नुपर्ने कुरा भनेको पार्टी संगठनलाइ रुपान्तरण गर्न नयाँ उर्जा नविनतम सोचको खाँचो हो, त्यसलाई उमेरले भन्दा पनि नेताहरुको इच्छा शक्तिले हुने हो भन्ने बुझ्नु जरुरी छ । नेतृत्वमा युवा तर व्यवहार उही पुरानो भयो भने पनि पुस्तान्तरणले अर्थ राख्दैन । त्यसैले अहिल्यैको नेतृत्वले पनि समयानुसार रुपान्तरण गर्न सक्ने सुनौलो अवसरहरु  थिए । त्यस्तो सम्भावना विगतमा नदेखिएकै कारण पुस्तान्तरणको बहसले स्थान पाएको हो ।

पार्टी भित्रको आन्तरिक लोकतन्त्रमा नेपाली काँग्रेस अब्बल छ भन्ने वडादेखि केन्द्र सम्मकै अधिवेशन स्वच्छ प्रतिस्पर्धाबाट सम्पन्न गरेर पुष्टि गरेको छ ।  केन्द्रीय सभापतिको लागि योग्यता पुगेका जो कसैले पनि उम्मेदवार बन्न पाउने अधिकारबाट कसैलाई बन्चित हुनु परेन । त्यसैले सभापति पदको  लागि ५ जना उम्मेदवारलाई महाभिवेशन प्रतिनिधिहरुले स्वतस्फूर्त भोट हाल्न पाएका थिए । त्यस्तै अन्य पार्टीहरुको अधिवेशनमा भने उम्मेद्वारी नै दिन रोक लगाउने, प्रचारप्रसार सामग्री खोसेर हातपात गर्ने मात्र हैन, अध्यक्षले पढेर सुनाएको कार्यसमितिको लिस्टलाई ताली बजाएर पारित गरी नेतृत्व मान्नुपर्ने जस्ता अलोकतान्त्रिक अभ्यास पनि भर्खर देखियो । यसमा रुपान्तरण र पुस्तान्तरणको बहसले त प्रवेशको अनुमति समेत पाएन, तथापि त्यस्तै पार्टीले आफूलाई असली लोकतान्त्रिक पार्टी भनेर डम्फु बजाउँछन् ।


लामो समयदेखि अबको नेतृत्व युवा पुस्ताले लिनुपर्छ भन्ने गरेका नेताहरु नै युवाबाट दोश्रो पुस्ताका नेतामा परिणत भैसकेका छन्  । उनीहरुले नेतृत्व लिदा सम्म उमेर ६५ देखि ७० नै पुग्छ भन्ने आमजनमानसमा परेको  प्रभावलाई चिर्न सक्ने थोरै आसा पलाएको छ । राजनैतिक पार्टीहरुको  भर्खरै सम्पन्न वडादेखि केन्द्रीय महाधिवेशनमा १८ बर्षे बिद्यार्थीदेखि  ३० देखि ४० उमेर समूहका युवाहरुको उपस्थिति ह्वात्तै बढ्नुले आशावादी हुन सकिन्छ । म आफू आबद्ध पार्टी  नेपाली काँग्रेसको १४ औं महाधिवेशनको वडादेखि केन्द्रीय महाधिवेशनसम्म प्रत्यक्ष रुपमा सहभागी हुँदा १३ औ महाधिवेशनको तुलनामा  युवाहरुको राजनीतिप्रतिको आकर्षण देखेर निक्कै उत्साहित बनाएको छ । पहिले सीमित युवा र विद्यार्थी संगठनमा आबद्ध युवालाई राजनीतिमा देख्न पाइन्थ्यो भने अहिले त्यस्ता संगठनहरुमा आवद्ध नभएका अन्य क्षेत्र र पेसाका युवाहरुको समेत सक्रिय राजनीतिमा चासो बढेको छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेर जाँदा मेरो उमेर ३२ बर्षको थियो । तत्कालीन अवस्थामा हाम्रो उमेरका प्रतिनिधिहरुलाई कान्छा प्रतिनिधिका रुपमा चासोका साथ हेरिएको मलाई स्मरण छ । भर्खर सम्पन्न १४ औं महाधिवेशनमा भने केन्द्रीय महाधिवेशनमा सक्रिय विद्यार्थी राजनीतिबाट सिन्धुपाल्चोकबाट १९ बर्षीया करिना पुरी, अर्की १९ बर्षकै कपिलबस्तुबाट सूचना मिश्र पनि निर्वाचित भए । सोलुखम्बुबाट २१ बर्षीया पूजा फुयाल र धनकुटाबाट २२ बर्षीया करुणा कटुवाललगायत ३० बर्ष भन्दा कम उमेरका ४७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । नेपालको सबैभन्दा पुरानो र ठूलो सांगठनिक संरचना बोकेको लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा यस्ता कम उमेरका अनुहारहरुको बलियो उपस्थितिले पार्टीको रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्यो भने मात्र युवा नेतृत्वको सार्थकता पुष्टि हुनेछ ।

स्थानीय तहको पार्टी संगठनभित्र नवप्रवेशी युवाहरुले पहिलो पटकमै वडा, नगर, प्रदेश सभा, क्षेत्र, जिल्ला र प्रदेशका महत्वपूर्ण पदहरुको जिम्मेवारी पाउँदा पार्टीको लागि धेरै  त्याग  गरेका अनुभवी र क्रियाशील सक्रिय नेताहरु पार्टीको पदीय जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्था पनि देखियो, जसले गर्दा पार्टी र संगठनलाइ नै कमजोर बनाउने त हैन भन्ने चिन्ताको बिषय पनि थपिएको छ । यसलाई चुनौतीका रुपमा मैले लिन सकिन्छ । नेवि संघ  र तरुण दलमा सक्रिय रहेका बाहेक नवप्रवेशी युवाहरु विभिन्न पेशा, व्यवसायमा लागेका आर्थिक रुपमा सम्पन्न बनेकाहरुको प्रवेशले उत्साह थियो । तर, यस्तै युवाहरुको आडमा गुट उपगुटको राजनीतिले झन प्रशय पाएको प्रसस्त गुनासाहरु सुनिएका छन् । युवाहरु राजनीतिमा आए गुट उपगुटको अन्त्य हुन्छ भन्ने मान्यता भन्दा फरक पैशाकै आडमा पनि चुनाव जित्न सकिने रहेछ भन्ने खाले चरम गुटको अभ्यास स्थानीय तहका अधिवेशनहरुमा देखिए, जसमा केही  केन्द्रीय नेताहरु पनि खुलेर लागेको देखियो  ।

जीवन नै  राजनीति, पार्टी र  समाजमा समर्पण गरेका अग्रज नेताहरु पनि भर्खर क्रियाशील सदस्य बनेकाहरुसँग त्यही गुटकै कारण पराजित बन्नुपर्ने परिस्थिति बन्यो । यसबाट युवा प्रतिनिधिहरु पनि स्वविवेकले नभई गुटको नै भोटर बनेको प्रष्ट हुन्छ, जसले गर्दा रुपान्तरण सुढृदीकरण भन्दा पुरानै खाले संस्कारले निरन्तरता पाउने हो कि भन्ने चिन्ता गर्न सकिने अवस्था छ । यी यस्ता खाले गतिविधि नेपाली काँग्रेसबाहेक अन्य पार्टीका अधिवेशनमा पनि भएको छ । त्यसैले सबै पार्टीभित्र गम्भीर भएर राजनीति भित्रको मौलाउँदो विकृतिलाई सुधार गर्नुपर्ने चुनौतीलाइ चिर्न नेतृत्व तहमा रहेका नेताहरुको भूमिका महत्वपूर्ण रहन्छ । 

देश संघीयतामा प्रवेश गरेपछि पहिलो पटक पार्टीहरुको नयाँ संरचनाअनुसार अधिवेशन भएका छन्, त्यही अनुरुप संगठनको संरचना पनि स्वतः परिवर्तन भएका कारण पहिलो अभ्यासका रुपमा यो पटकको अधिवेशनलाई सबै पार्टीले लिएका छन् । विशेष गरी ७ वटा प्रदेशलाई हेर्ने गरी प्रदेश कार्यसमिति पनि बनेको छ, जसलाई प्रदेशको केन्द्रीय कार्य समितिका रुपमा लिन सकिन्छ ।  नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिका लागि क्षेत्रीय अधिवेशनबाट चुनिने व्यवस्था गरेको छ, त्यहीअनुरुप केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा नवप्रवेशी युवाहरु धेरै उम्मेदवार बनेका थिए । पार्टीभित्र संगठनको तल्लो तहबाट संघर्ष गरेर आएका अधिकांश युवाहरुले अधिवेशनमा मात्र सक्रिय भएर आर्थिक र गुटको आडमा चुनाव जित्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो इच्छा नहुँदा नहुँदै पनि एउटा समूहमा जोडिनुपर्ने बाध्यता बन्दो रहेछ भन्ने चिन्ता गर्ने पार्टी र संगठनभित्र निष्ठाको राजनीति गरिरहेका नेता कार्यकर्ताहरुको दुःखेसोलाई नेतृत्व तहले बुझ्नै पर्छ ।

लेखक नेपाली जनसम्पर्क समिति कतारका सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप