बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कथा : डियर क्रस

सोमबार, ०२ फागुन २०७८, १४ : ५२
सोमबार, ०२ फागुन २०७८

हप्ता दिन बस्दा यो फूलको बोटसमेत देखेको थिइनँ । आज अचानक कहाँबाट फुल्यो यो फूल ? यो फूल मास्टरकै हो कि अरुकै बगैँचामा फुलेर यता भमरा खोज्न आएको हो ? हैन, हैन । यो फूल मास्टरकै हो । यो फूलमा भमरा लागेको छैन । यो फूल मेरै लागि फुलेको हो । जिन्दगीमै पहिलोपटक कसैले यसरी फिदा बनाएको थियो । सायद पहिलेको जमानामा भए यसलाई एकतर्फी माया भन्थे होलान् तर समय बदलिएसँगै यसलाई क्रस भन्न थालियो । हो, विदुरवाली क्रस । फ्रस्ट क्रस । डियर क्रस ।

मैले धेरै फूल देखेको अनि धेरै फूलको सङ्गत पहिले नै गरेको पनि थिएँ । तर यस्तो सुन्दर फूल कहिल्यै देखेको थिइनँ । माँ कसम । यो त फिल्ममा भिलेनले बोल्ने डाइलगजस्तो पो भयो । डाइलग नै सही । फूल नै सही तर भमरा असही । अर्थात् यो फूलको एकल भमरा म हुनुपर्छ भन्दै म  लागें खाना खाने होटलतिर ।

अरु बेला नौ देखि दश बजेको बीचमा खाना खाने समय भए पनि शनिबार भने यही समय सबैको नहँुदो रहेछ । बिहान नुहाउन अनि लुगा धुन सक्ने तागत कसैको हुँदो रहेनछ । तागत त बूढीको हुन्छ भन्दै विवाहित कर्मचारी त्यसमा पनि काठमाडौंमा बूढी हुनेहरु लुगा पोको पारेर लान्थे । लुगासँगै बूढी पनि डल्लो पार्ने भनेर विदुरका केही विवाहित कर्मचारीहरु शुक्रबार अनिवार्य काठमाडौं डेरा या घर जाने अनि आइतबार आउने गर्थे । यसमा हाकिमहरुलाई अझ सहज थियो । किनकि, आफ्नै गाडी अनि जम्मा तीन घण्टाको बाटो ।

पहिले पहिले होटलमा खानाभन्दा गफ र टिभीले समय निकै लिन्थ्यो भने त्यो दिन फूलको यादले हतार हतार खाना खाएर लागिहालें कोठातिर । खाना खाने ठाउँको आन्टी पनि छक्क परिन् । कोठा पस्नुभन्दा अगावै आँखाले भ्याउनेदेखि बाटोसम्म फूलतिर नै आँखा तेर्साएको थिएँ । टाढाबाट फूल देखिएन भन्दै म हतार हतार गर्दै उसकै आँगनी छेउमा पुगें । तर फूल देखिएन ।

फूल गायब थियो । फूलले तनाव दियो । कोठामा छिर्नै मन लागेन । निहुँ चाहिं घाम ताप्ने भयो तर आँखा भने मास्टरको आँगनीमा मात्रै थियो । फूल कता गयो भन्दै सोच्दै दिनको दुई बजिसक्यो । जाडोको सिजन भए पनि घामले पोल्न थाल्यो तर फूल आएन । बैशाखको १ गते मात्रै देखिने सिराहाको सलहेश फूलवारीको फूल जस्तै एकपटक देखा परेको फूल देखिन अब अर्को वैशाख नै कुर्नुपर्ने नै हो त ? अब निराश भएर कोठा छिर्नुको कुनै विकल्प नै थिएन । त्यो दिन युद्व हारेको सिपाहीजस्तै भएर निराश हुँदै कोठा छिरें । आज कुनै पत्रपत्रिका हेर्न मन लागेन । नभए अरु बेलामा शनिबारका विभिन्न परिशिष्टाङ्कहरु खूब मजाले घाममा उपरखुट्टी लगाएर पढिन्थ्यो ।

फूलको दर्शन गर्न नपाएकोले मनमा खुल्दुलीका भाव मडारिन थाले । दिन बितेर रात आयो तर फूल देखा परेन । फूल हेर्न राति पनि एक चक्कर बार्दलीमा गएर मास्टरको आँगनीमा नजर नलाएको कहाँ हो र । हैन, मलाई के भयो ? दुनियाँमा कति धेरै केटीको सङ्गत गरियो । सिरियस लभ पनि दुई–चार जनासँग नपरेको हैन । तर कसैको परिवार मलाई मन परेन । कसैको परिवारले मलाई मन पराएन त कसैलाई मेरो परिवारले विवाहको स्वीकृति दिएन । यस्तै यस्तै केही न केही भएर लभ सफल भएन । लभ विवाहमा परिणत भएन । आज किन मन भारी भएको छ ? किन मास्टरकै आँगनीमा आँखा अडिएका छन् । किन एकै नजर देखेको भरमा कुनै केटी यति धेरै हेरिरहूँ लाग्यो ? किन उसलाई फेरि दोस्रोपटक नदेख्दा मन भारी भएको ? अरु बेला शनिबार फुसुक्कै जान्थ्यो तर जब फूलको दोस्रो दर्शन भएन नि, तब शनिबार कटाउन हम्मे हम्मे नै पर्यो ।

अनेकन् तर्कनाहरुको गुजुल्टो बोकेर शनिबारको रात त्यसरी नै छटपटीमा बित्यो । आइतबार बिहान मुख धुनुभन्दा अगावै फेरि मास्टरको आँगनीमा एक नजर दौडाएँ । तर त्यहाँ चिसो बिहानीमा टक्रक्क परेर ठडिएको तुलसीको मठबाहेक अरु केही थिएन ।

सोमबारको दिन दुईपटक चिसोमा के चिया सुरुप्प पारेको थिएँ, माथिको ओरालोबाट उही शनिबारको फूल देखा पर्यो । खैरो कुर्था र नीलो सुरुवाल सहित कलेजको ड्रेसमा सजिएकी थिई । साथमा एउटा ब्याग देब्रेतिर भिरेकी थिई । हेर्दाहेर्दै त्यो फूल रोडमा आइपुग्यो । फूल आएको मात्रै के थियो, उताबाट एउटा माइक्रो आयो । क्षणभरमै फूल गायब भयो । म रोडपारिको चिया पसलमा थिएँ । अब न दौडिएर जानु, न के गर्नु ।

मैले हेरेका धेरै साउथ फिल्ममा यस्तो दृष्यपछि हिरो गाडीको पछिपछि कुद्दै गाडीलाई नै जित्ने गरेको देखिन्थ्यो । तर म त त्यस्तो बहादुर पनि परिनँ । अब मैले मद्रासी होइन, गोर्खे बुद्धि लगाउनु थियो । मैले होटलवालालाई सोधें, ‘अङ्कल, यो पिङ्क कलरको ड्रेस कुन कलेजको हो ?’

उनले भने, “यो आदर्श कलेज बट्टारको हो ।”

मैले सोधें, “यो लोकलजस्तो माइक्रो, कहाँबाट कहाँ जाने हो ?”

उनले भने, “त्रिशुलीदेखि कोलोनी ।”

त्यति भएपछि मलाई पुग्यो । यहाँभन्दा बढी खोजी गर्नु जरmरी ठानिनँ । जाडो मौसममा अक्सर झरी पर्दैन भन्थे तर मलाई राम्रोसँग थाहा छ, त्यो दिन सिमसिमे झरी परिरहेको थियो । म दश बजेतिर खाना खान लाग्दा फूलको कलेज छुट्टी भएछ क्यार, आउँदै गरेको देखें । बिहान झरी परेको थिएन र झरीले म कुन बेला पर्छु भनेर फूललाई पूर्व जानकारी दिएको थिएन । यही कारण मेरी फूल अर्थात् नाम थाहा नभएकी डियर क्रस जाडोमा सिउसिउ गर्दै कलेजबाट आउँदै थिई । म ओरालो लाग्दै झरेको अनि फूल कलेजबाट जाडोमा भिजेर थकित मुद्रामा घर फर्किंदै गरेको अवस्थामा बाटोमा भेट क्रस हुने अवस्था आयो ।

लु भाइ, यही मौका हो भनेर एक मनले भनेपनि मसँग छाता थियो तर बोलाउने नाता थिएन । तातो खासाको ज्याकेट थियो तर साउथ फिल्ममा जस्तो सीधै लगेर ओढाउने आँट थिएन । उता ऊ सिउसिउको आवाजमा हतार हतार उकालो लाग्दै थिई । यता हातमा छाता र आङ्गमा न्यानो ज्याकेट लगाएको म शरीर तातो भएपनि क्रस पट्याउने आँट थिएन । म बाटोको अलिक कुनामा उसको त्यो सिमसिम पानीले भिजाएको कोमल अदा हेर्दै टोलाउदै बसें ।

मलाई डियर क्रसको घर कुन हो भनेर पत्ता लगाउनु थियो । क्रस मास्टरको घरको गेट खोलेर स्याण्डल पुछ्दै भित्र छिरेको देखें । लौ, मेरी फूलको घर पनि पत्ता लाग्यो । यस्तो लाग्यो पौराणिक काल हुन्थ्यो भने तत्काल शिवजीसँग झरी हुने बरदान माँग्ने थिएँ र झरी बन्दै उसको केशमा टप्प झर्न मन लागेथ्यो । मनमा झन खुल्दुली बढ्यो । के यस्ती राम्री क्रस त्यस्तो नराम्रो मास्टरकी छोरी हो त ? कि भाडामा बस्ने अरु नै कसैकी ? भाडामा बस्ने हो भने किन सब्जी किन्न यताउता बाहिर निस्केको देख्दिनँ त । कसरी भित्र नै चुपचाप बस्न सकेकी होला ?

भोलिपल्ट, आफ्नै अफिसको एक हुलाकीले मास्टरसँग गफ गरेको देखें । मलाई त्यो दिन जति खुसी कहिल्यै लागेन । किनकि हुलाकीमार्फत् मास्टरको बारेमा थप जानकारी लिन सजिलो भएको थियो । हुलाकीसँग मेरो खासै बोलचाल भएको थिएन । यहाँ हुलाकमा हुलाकीदेखि हल्करा अनि करारका कर्मचारीहरुबाट दैनिक २०–२२ पटक नमस्कार खाइन्थ्यो । मास्टरसँग बोल्ने हुलाकीले पनि मलाई यसै गरी दैनिक नमस्कार गर्थ्यो । म नचिनेजस्तो गरी हिँड्थे ।

अर्को दिन मैले हुलाकीलाई आफ्नै कार्यकक्षमा बोलाएँ । अनि, हालखबरदेखि, कति वर्ष जागिरदेखि यहाँ घरकहाँ सम्मको कुरा निकाल्दै चियाको समेत अफर गरें । उसले छक्क पर्दै ‘हैन सर, पर्दैन पर्दैन’ भने पनि मैले उसलाई चिया पिलाएँ । तर सीधै मास्टरको बारेमा कुरा गर्नु पनि भएन । मैले कुरा घुमाएर सोधें, ‘दाजु हिजो त्यो फ्रिजजस्तो के बोक्नुभएको थियो बजारमा ?’

वासिङ मेसिन किनेको भनेर जवाफ दियो उसले । मैले सोधें,‘पसलबाहिर एकजनासँग लामै कुरा गरेको देखेथें । ती पसले नै हुन् त ?’

‘हैन सर, त्यो त मास्टर हो । उता सामरीतिर पढाउँछ । त्यो मास्टरकी छोरी चाहिँ त्यो पसलमा काम गर्छे,’ हुलाकीले भन्यो । अब मलाई कुरा गर्न झन् सहज भयो । मैले भनें, ‘हैन, कति छन् हौ मास्टरका छोरीहरु ? कोही पसलमा काम गर्ने, कोही कलेज पनि गएजस्तो देख्छु । कोही घरमा नै भएजस्तो लाग्छ ।’  

यति सुनेपछि हुलाकीले उसको पूरै कहानी भन्न थाल्यो, ‘आधा दर्जन जति छन् । छोरा पर्खिंदा पर्खिंदा पाँच जना छोरी छन्, अन्तिममा एउटा छोरा छ ।’

कोठा पुगेर मनमा कुरा खल्न थाल्यो । यो मास्टरले कक्षामा के पढाउँछ होला ? कुन मुखले छोरा र छोरी समान हुन् भन्दै पढाउन सक्छ होला ? अन्तिमको पनि छोरा नभएको भए फेरि पनि सन्तान जन्माउन बाध्य पाथ्र्यो कि अर्कै पो बिहे गर्थ्यो होला ? मास्टर भनेर समाजमा इज्जत गर्नु पनि बेकार रहेछ भन्ने लाग्यो । हिजो अस्तिसम्म मास्टरप्रति आदरभाव थियो । अब त्यो रहेन । एकाएक मास्टर समाजको कुपात्र भएर देखिन थाल्यो मेरो नजरमा ।

त्यो रात खै के भएर हो, मध्यरातमा ऐठन भयो । त्यसपछि निद्रा नै परेन । सोच्न थालें, ‘हैन मास्टरका यति धेरै छोरी छन्, त्यो मैले मन पराएकी फूल चाहिँ कुन छोरी होली ? नाम के होला ? कति उमेरकी भई होला ? कतिमा पढ्छे होला ? यस्तै यस्तै सोचेर बिहान भयो । बिहानीपख मात्र निद्रा लाग्यो ।

अर्को दिन कार्यालय आउँदा हुलाकी मेरै कोठामा बसिरहेको थियो । सर अरु त केही थिएन । मास्टरको नम्बर लिएको, सेभ गर्न आएन । सर, लौ न यति नम्बर सेभ गरिदिनुपर्यो भन्दै मोबाइल दियो । उसले अधिकारी सर विदुर भने सेभ गर्न भन्यो, गरिदिएँ ।

शनिबारको दिन थियो । अरु बेलाजस्तै म नुहाएर घाम ताप्न बसेको थिएँ । मास्टरकी छोरी पनि कुर्सी तानेर घाममा बस्न आई । बीचमा बाटो अनि वारिपारि हामी घाम तापेर बसेका थियौं । फूल घाममा ओइलाउन आएकी थिई । यता भमरा चाहिँ शरीर तन्काउन वा भमराको रस चुस्ने खिल तन्काउन बसेको भन्दा फरक नपर्ने स्थिति थियो । करिब एक घण्टा जति भएको थियो । मैले हेरिरहेको थिएँ, ऊ तुलसीको मठ छेउमा घाम तापेर बसेकी थिई । उसको अघि खुड्किलाहरु थिए । त्यसभन्दा माथि पसल थियो र त्यहाँबाट भित्र जाने बाटो थियो । वारि बसेर म फूलको यादमा मोहित भएको थिएँ, पारी फूल चाहिँ देखेर पनि नदेखे झैं घरी घरी आँखा जुधाउँथी । आँखा जुध्दा मनमा चसक्क हुन्थ्यो ।

यत्तिकैमा भित्रबाट एउटा सानो भर्खर तातेताते गरेर हिँड्न थालेको बच्चा खै के भन्दै आयो । म हेरिरहेको थिएँ । बच्चा खुड्किलामा लड्न लागेकोले ऊ हतपत दगुर्दै गएर मेरो बाबु भन्दै बच्चालाई च्याप समाउँदै भित्रतिर फर्केर कराई, ‘हैन, कसले मेरो बाबुलाई यति चिसो भुइँमा एक्लै छोडेको ? झण्डै लडेको बाबु ।’

यति भन्दै ऊ बच्चालाई काखमा राखेर खेलाउन थाली । ऊ उता बच्चालाई काखमा खेलाइरहेकी थिई, यता मेरो मनमा दशथरी कुरा खेलिरहेका थिए । यो बच्चा कसको हो ? यो कसरी उसको बाबु भयो ? हैन, यति सानै उमेरमा यत्रो छोरा ? माइ गड । मेरो मनमा प्रश्नका अनेकन् गुजुल्टा भौतारिन थाले । यिनलाई यत्रो दिन फूल सोचेर खूब चाहें । लास्टमा यो त अर्काकी रहिछे । कोठामा बसि नसक्नु भयो । अनि म जङ्गलतिर विचरण गर्न उकालो लागें ।

जङ्गलका हरिया रुखपातले आफ्नै लयमा जीवनका सुमधुर गीत गाइरहेका थिए । तिनको सुसेलीले मनको तापलाई केही मत्थर गर्यो । तर मन उज्यालो नभएकोले मेरा लागि परिवेश उज्यालो हुन सकेन । यही कुराले मलाई धेरै दिनसम्म पिरोल्यो । न उसको नाम थाहा थियो, न बोलेको थिएँ तर पनि मनमनै मन पराएकाले पूरा अङ्गअङ्गमा अर्को भमराले चुमिसकेको यस्तो जुठो फूल भन्दै रिस पनि यति धेरै उठ्यो वर्णन गर्ने शब्दै छैन ।

माथिल्लो पसलमा नापीको कर्मचारीकी श्रीमती क्यान्टिन चलाउँथी । उसले मारुती, मारुती भन्दै बोलाई । म सायद निदाउनका लागि झकाउन लागेको थिएँ । त्यो आवाजले म बिउँझिएँ । उसले सटर खोल्न नसकेर मारुती भन्दै कराएकी रहिछे । यसो झ्यालको पर्दा खोलेर हेरेको त त्यही फूल र क्यान्टिनकी महिला बल गरी गरी सटर खोल्न लागेका रहेछन् उनीहरु । यता म मोबाइलमा प्याक लिएर सर्च गरें, मारुती अधिकारी । किनकि, त्यो क्यान्टिनवालीले मारुती भनेर बोलाउनु अनि त्यही केटी जानुले उसको नाम मारुती हुनपर्छ भन्ने लागेको थियो ।

सर्च गर्दा फेसबुकमा सयौं मारुती अधिकारी देखा परे । मैले पालैपालो सबैको फोटामा क्लिक गरेर हेरें, साथै ठेगाना पनि । तर मेरो खोजीले सार्थकता पाउन सकेन । कसैको पनि ठेगाना नुवाकोट देखिएन । त्यो मारुतीजस्तो फोटा भएका कुनै फेसबुक आइडी भेटिएन । यति सारा दुःख गरेको देखेर एक मनले भन्यो, हैन ए मूर्ख, यो के गरेको ? सीधै गएर सोध्न सक्दैनस् नाम ? उसको अगाडि गएर बोल्न सक्दैनस् ?

फेसबुकबाट पत्तो नलागेपछि एक दिन मैले मारुती अधिकारी भनेर गुगल गरेको थिएँ । त्यहाँ त अचम्मै पो देखियो । जुन चीजको लागि म दिनका दिन लागिरहेको थिएँ, त्यो त एकै गुगल सर्चमा पो भेटियो । तर अब मलाई फेसबुकभन्दा पनि हुलाकीसँग खूब रिस उठ्यो । सीधै गएर मारिदिऊँ जस्तो लाग्यो । मास्टरको थर रहेछ भट्टराई । तर किन उसले अधिकारी सर भनेर सेभ गर्न लगायो ? यसलाई त भेटौं न, सिधै ह्याम्मरले टाउकोमा हान्छु भन्ने किसिमको भाव मनमा पैदा भयो ।

उसले नाम माँ रुती भनेर नेपालीमा स्पेश दिएर राखेकी रहिछे र नभेटिएको रहेछ । म छक्क परें । जे होस्, गुगललाई धन्यवाद दिँदै म सीधै फेसबुक लिङ्कतिर बढें । मलाई बर्षौ तपस्या गरेर वरदान पाएजस्तो खुसी मिलेको थियो । मैले उसको फेसबुकमार्फत् उसका गतिविधि नियाल्न थालें । उसका फोटाका क्याप्सन, कमेन्ट, लभ रियाक्सन र रिप्लाई आदिमा मेरा नजर दौडिन थाले । फुर्सद हुनासाथ मलाई उसको फेसबुक प्रोफाइल चेक गरिरहन मन लाग्यो । एउटा फोटाको क्याप्सनमा उसले लेखेकी थिई, ‘सानोमा लडेर तनमा लागेका चोटजस्तै भएका छन् तिम्रा यादहरु, जो मनमा बिझिरहन्छ, कहिल्यै मेटिएर जाँदैन । जो घाउजस्तै नमेटिने भएर बसेको छ ।’ यो क्याप्सनले मलाई ऊप्रति धेरैतिरबाट थप सोच्न बाध्य बनायो । को हो उसलाई यसरी चोट दिने ? कतै उसको पूर्वप्रेमी त होइन ? अब झन् मलाई उसको प्रत्येक फोटो र स्टाटसमा आउने कमेन्टको डिटेल हेर्नु थियो । मैले अलिक शङ्कास्पद कमेन्ट र रियाक्सन गर्ने प्रत्येकको प्रोफाइल खोलेर उसको हिस्ट्री चेक गर्न थालें । एकदिन मैले प्रोफाइल चेक गरिरहँदा ऊ भर्खर बाह्र कक्षाको तयारी गर्दै रहिछे भन्ने पत्तो लाग्यो ।

०००

फागुनको महिना थियो । हाकिमले एउटा तालिमको लागि काठमाडौं जान मलाई नै सिफारिस गरिदिए । काठमाडौंको कोठासँग देखभेट नभएको तीन महिना भइसकेको थियो । तालिममा ज्ञान र धन दुवै प्राप्त हुन्छ भनेर म पनि खुसी थिएँ । आइतबारदेखि तालिम भएकोले म शुक्रबार काठमाडौं लागें । कोठामा आउँदा मेरो डेराको त बेहाल भएको रहेछ । एट्याच बाथरुमसहितको कोठामा गनाएर बसिसक्नु थिएन । आलु चाउरिएका र प्याजका दानाहरुमा टुसा पलाएका थिए । सम्झें, धन्य एक्लै भएर यसरी नै भए पनि म्यानेज गर्न सकिएको छ । नत्र त यता नौ हजारको कोठा अनि उता विदुरमा ३५ सयको । त्यसमाथि खाएको नौ हजार गर्दा त सबै पैसा सकिने रहेछ । बूढी र बालबच्चा भएको भए के हाल हुन्थ्यो ? कोठाको ताल र जिन्दगी सम्झेर एकछिन विरक्त लागेर आयो ।

तालिममा मनै बसेन । किनकि उही फूल सम्झिरहें । एक हप्तापछि तालिम सकियो । मास्टरका यसै पनि ५–६ वटी छोरी थिए । त्यसमा सबैको बिहेदान गरिदिनु पर्दा मास्टर ऋणले थला पर्नेवाला थियो । मजस्तो निजामती केटो ज्वाइँ पाउँदा मास्टरलाई अमेरिकाको डिभी परेजस्तो हुन्छ भन्ने सोच्थें । गुगलले जुराइदिएकी गुग्ली अब चाँडै मेरी हुँदैछे भन्ने कल्पिन्थें ।

धेरै साउथ फिल्ममा केटी पट्याउने केही तरिका सिकाउने गरेको पाइन्छ । जसमा केटी पट्याउन ऊसँग नजिक हुनुपर्ने, उसलाई मन परेको कुरा गर्नुपर्ने, उसकै पिछा गर्नुपर्ने, उसको फेमिलीको तारिफ गर्नुपर्नेदेखि उसलाई सेक्युयर फिल हुन दिन सक्नुपर्ने जस्ता सूत्र अपनाउँदै अनेक अनुहार भएका हिरोहरुले राम्रा राम्रा र उच्च घरानाका केटीहरु पट्याएको देखाइन्थ्यो ।

हुन त फिल्मको कुरा व्यवहारमा मिल्न धेरै नै गाह्रो थियो । रिल लाइफलाई रियल लाइफमा पनि यस्तै हुन्छ भनेर सोच्नु मूर्खताशिवाय केही होइन । यद्यपि, सपना देख्न पाइन्छ भनेजस्तै म पनि काठमाडौंबाट विदुर गएर यस्तै गर्छु भन्ने लाग्यो । उसलाई पट्याउन उसको पसलमा दैनिक जान्छु । केही न केही किन्छु । यस्तै यस्तै सोच बनाउँदै लागें म विदुरतिर ।

 कथाकार कौशिकको डियर एक्स कथासंग्रह प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप