सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अलपत्र बन्यो मुख्यमन्त्री सभाहल,  ठेकेदार नै ‘बेपत्ता’

म्याद सकिन ३ महिना बाँकी हुँदा १५ प्रतिशतमात्रै प्रगति
सोमबार, ०२ फागुन २०७८, १५ : ०३
सोमबार, ०२ फागुन २०७८

प्रदेश तथा जिल्लास्तरका सरकारी कार्यालयका सभा सम्मेलन तथा गोष्ठी आफ्नै सभाहलमा गर्ने उद्देश्य अनुसार निर्माण सुरु गरिएको ‘बागमती प्रदेश मुख्यमन्त्री सभाहल’ अलपत्र अवस्थामा रहेको छ ।  बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिने भनिएको सो सभाहल म्याद समाप्त हुन ३ महिना बाँकी रहँदासम्म पनि अलपत्र अवस्थामा रहेको छ । निर्माणका लागि तयार पारिएको प्लिन्थ लेभलको ढलान गर्न विछ्याइएको रडहरु खिया लागिसकेको छ भने निर्माण सामग्रीहरु असरल्ल अवस्थामा रहेको छ ।

मन्त्रालय र उपमहानगरपालिका आफैंको सभाहल नहुँदा विभिन्न कार्यक्रम गर्नका लागि समस्या देखिएपछि मुख्यमन्त्री सभाहल निर्माणको योजना अनुसार गत २०७७ कात्तिक १७ गते प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए ।

वैज्ञानिक प्रविधिको सो भवन हेटौंडा उपमहानगरपालिकाको पछाडी रहेको जग्गामा निर्माण सुरु गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी भवनको निर्माण कार्य सुरु गरिएको थियो । निर्माण पश्चात सो सभा हलको सम्पूर्ण व्यवस्थापन हेटौंडा उपमहानगरपालिकामा रहने भनिएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले सो सभा हलको निर्माणको ठेक्का आह्वान गरेको थियो ।

कार्यालयले १८ महिनाको समय सिमा तोकेर कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माणको ठेक्का आह्वान गरेको थियो । चार सय जना क्षमताको सो सभाहल निर्माणका लागि घटाघट विधि अनुसार संरक्षण निर्माण सेवा/ शेभ इन्जिनियरिङ्ग कन्स्ट्रक्सन जेभीले ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कार्य सुस्त, ठेकेदार हराए

ठेक्का सम्झौता गरेको १५ महिना वितिसक्दा समेत सो सभाहलको प्लिन्थ लेभलको काम पनि सम्पन्न हुन सकेको छैन । १५ महिनाको अवधिमा सभाहलको १५ प्रतिशत मात्र भौतिक प्रगति भएको भौतिक पुर्वधार विकास मन्त्रालय अन्तर्गतका भवन तथा शहरी विकास कार्यालयले जनाएको छ ।

सो सभाहल आगामी बैशाख १९ गते भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ तर निर्माण कार्य सम्पन्न हुनेमा भवन तथा शहरी विकास कार्यालय नै शंकामा रहेको छ ।

सो आयोजनाहरु निर्माणमा ढिलाई हुँदा समेत भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतका भवन तथा शहरी विकास कार्यालय मौन देखिएको छ । कार्यालयले भवन निर्माणमा ढिलाई भएको प्रति खासै प्रतिक्रिया देखाएको छैन । कार्यालयले म्याद रहँदा सम्म केही गर्न नमिल्ने बताउँदै आएको छ ।

निर्माण कम्पनीले निर्माण सामग्रीहरु असरल्ल पारेर हराइपछि भने कार्यालयले तीन पटक ताकेता पत्र पठाइसकेको छ तर हालसम्म पनि ठेकेदार सम्पर्कमा नआएको कार्यालयका इन्जिनियर महोब्वत फिरोज अलिले बताउँछन् ।

उनका अनुसार नयाँ प्रविधिको भवन भएकाले निर्माण सामग्री समयमा प्राप्त हुँदा सभाहल निर्माणमा केही ढिलाई भएको हो । कोरोना संक्रमण जोखिमका कारण पनि निर्माण कार्य गर्न समस्या भएको उनले बताए ।

‘नयाँ प्रविधिको सो सभाहलको निर्माण सामग्री बाहिरी देशबाट आयात गर्नु पर्ने हुन्छ । सो सभाहल स्याण्डवीच इपिएस स्याण्डवीच प्रविधिबाट प्यानल बोर्डको ट्रस्ट भएकाले कोरोनाका कारण निर्माण सामग्री आयातमा ढिला भएकाले समय लागेको हो ।’ उनले भने ।

 

सभाहललाई समयमा नै सम्पन्न गर्न कार्यालयको तर्फबाट खबरदारी गर्ने काम निरन्तर भएकाले म्याद भित्र निर्माण कार्य सम्पन्न नगरे कारवाही प्रक्रिया अघि बढाउने उनले बताए ।

कार्यालयले निर्माण कार्य गर्न कुल लागतको २० प्रतिशत रकम निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप