आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा बाल क्यान्सर रोगी बढे

के उपचार नेपालमै सम्भव छ ?
मङ्गलबार, ०३ फागुन २०७८, ०७ : ०४
मङ्गलबार, ०३ फागुन २०७८

नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । नेपालमा वर्षेनी क्यान्सरका १५०० बढी बालबालिका नयाँ थपिने गर्छन् । बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरूमा छैटौँ र बाल स्वास्थ्य समस्याहरूमा नवौँ नम्बरमा पर्छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझी बालबालिकामा क्यान्सर रोग लागेमा निको पार्न सकिन्छ भन्ने चेतनाको अभाव हुँदा उपचारको पहुँचभन्दा बाहिर रहेको बताउँछन् । बहुसङ्ख्यक क्यान्सर लागेका बालबालिकाहरूको उपचार आर्थिक अभाव प्रमुख कारण रहेको निर्देशक डा. रायमाझीले बताए ।  अस्पतालमा उपचार गराउन पुगेका मध्ये २० देखि ३० प्रतिशत बालबालिका आर्थिक अभावले गर्दा उपचार नगरीकन बीचैमा छोडेर फर्किने गरेको उनको भनाइ छ । 

विश्वका विकसित देशहरूमा क्यान्सर भएका बालबालिका उपचारको पहुँचमा पुगेको खण्डमा ८५ देखि ९० प्रतिशतसम्म पूर्णरुपमा निको हुने गर्छ । नेपालको सन्दर्भमा उपचारको पहुँचमा पुगेका एक तिहाइ बालबालिकाका मध्ये ७० प्रतिशतको निको हुने गरेको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी बताउँछन् । उनले भने, ‘नेपालमा बालबालिकामा हुने क्यान्सर सम्बन्धी उपचार सम्भव छ । धेरै अभिभावकहरूमा बालबालिकामा क्यान्सर भयो भने उपचार सम्भव छैन भन्ने अवधारणा छ । तर, सुरुवाती अवस्थामा क्यान्सर रोगको पहिचानको गर्न सकेको खण्डमा उपचार सम्भव छ ।’ 

कान्ति बाल अस्पतालका निर्देशक डा. रायमाझीले क्यान्सर भएका बालबालिकालाई उपचारको पहुँच पुर्‍याउनका लागि स्थापित उपचार केन्द्रहरुलाई थप सुदृढीकरण  आवश्यकता रहेको बताए । उपचारको पहुँच सबैमा पुर्‍याउनुपर्ने उनको भनाइ छ । 

बाल क्यान्सरको उपचारसम्बन्धीमा सबैजसो सेवाहरू  निःशुल्क रहेको चिकित्सकहरू बताउँछन् । यस्तै, सरकारले क्यान्सर रोगीलाई प्रति व्यक्ति एक लाखसम्मको औषधि तथा परीक्षणको अनुदान सेवा उपलब्ध गराउँदै आएको बताउँदै आए पनि उपचारको पहुँचमा कम बालबालिका पुगेको चिकित्सकहरू बताउँछन् कान्ति बाल अस्पतालमा १९९७ मा अङ्कोलोजी युनिट आठ बेडबाट सुरु गरिएको थियो । हाल बाल क्यान्सरका लागि २८ बेड छुट्याइएको छ । कान्ति बाल अस्पतालको गत्त वर्षको आँकडा अनुसार तीन सय २० जना क्यान्सर रोगी बालबालिकाको उपचार गरिएको छ । यस्तै, २९ जना बालबालिकाको क्यान्सर कारण मृत्यु भएको छ । यस्तै, डे  केयर सेन्टरमा २०० सय जना क्यान्सर भएका बालबालिकाले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रायमाझीका अनुसार करिब २०० जना नयाँ बिरामी थपिन्छन् । 

काठमाडौँ उपत्यका कान्ति बाल अस्पताल, विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल,पाटन अस्पताल, तिलगंगा आँखा अस्पतालमा बाल क्यान्सरको उपचार हुने गर्छ । यद्यपि पाटन अस्पतालमा बाल क्यान्सरको उपचार सुरु गरिएको दुई वर्षको अवधिमा ३० बालबालिकाको उपचार गरिएको छ । यस्तै, तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सरको उपचार सुरु गरिएको १७ वर्ष पुगेको छ । यद्यपि क्यान्सर रोगको विभाग खोलेर उपचार सुरु गरिएको ५ वर्षदेखि सुरु गरिएको हो । वार्षिक रूपमा नयाँ बिरामी ५० जना उपचारको लागि पुग्ने गर्छन् । बाल रोग आँखाका क्यान्सर भएका पुरानो नयाँ गरी फलोअपका लागि वार्षिक ३०० जना पुग्ने गर्छन् । यस्तै, भक्तपुर क्यान्सर अस्पतालका अनुसार बाल रोग विभागमा एकदेखि चार वर्षसम्मको बालक २५ जना बालिका ११ जनाले उपचार गराएका छन् भने ५ देखि १४ वर्षसम्मका बालिका ५० जना बालक ११३ जनाले उपचार गराएका छन् । १५ देखि १९ वर्षसम्मका बालक १०४ र ७८ बालिकाले उपचार गराएको छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई बाल क्यान्सर सम्बन्धी विश्वव्यापी अभियान को फोकस राष्ट्रको रूपमा सूचीकृत गरेको छ ।   

बाल क्यान्सर रोगको उपचारलाई सर्वसुलभ बनाउनुपर्छ 

बाल क्यान्सरको उपचार गर्दा हुने खर्चभन्दा उपचार नगर्दा राज्य क्षति बढी हुने कान्ति बाल अस्पतालका निर्देशक डा. रायमाझीले बताए । बाल क्यान्सरको उपचारका लाग  राज्यको तर्फबाट थप सहयोग र सहुलियतको आवश्यकता पर्ने उनले बताए । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. गिरीले स्वास्थ्य कर कोषमा रहेको रकम क्यान्सर जन्य रोगमा खर्च गर्न तत्परता देखाएको खण्डमा  सबै उपचारको पहुँचमा पुग्ने उनले बताए । सुर्तीजन्य पदार्थबाट उठेको २० प्रतिशत कर क्यान्सर उपचार खर्च गरेको खण्डमा धेरै व्यक्तिको ज्यान जोगाउन सकिने उनको भनाइ छ ।  प्राथमिक स्वास्थ्य सेवामा  नै बाल क्यान्सरको पहिचान गरी परामर्श गरेर उपचारका लागि केन्द्रमा रिफरल गर्न सकेको खण्डमा पनि बाल क्यान्सर नियन्त्रण तथा उपचारमा  ठुलो सहयोग पुग्ने उनको भनाइ छ । 

बालबालिकामा हुने क्यान्सरबाट यसरी पत्ता लगाउन सकिन्छ । बालबालिकामा हुने क्यान्सर विभिन्न किसिमका हुने गर्छन् । बालबालिका देखिने क्यान्सर मध्ये धेरैमा रक्त क्यान्सर देखिने गर्छ । बालबालिकामा देखिने लक्षण

–रगतको कमी भई छाला सेतो देखिने,त्यतिकै रगत बग्ने 

–असाधारण रूपमा तौल घट्नु

–खोकी निको नहुने 

–आँखाको सेतो नानी डेडो हुने, दृष्टि गुम्ने

–शरीर सुन्निने

–पेट असामान्य रूपमा फुल्ने

–बिहानमा अत्यधिक टाउको दुख्ने बान्ता हुने

–हड्डी दुख्ने चोट नलागी सुनिने

–चाँडो गल्ने

–चक्कर लाग्ने शरीरलाई सन्तुलनमा राख्न नसक्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप