ओमिक्रोनबाट तङ्ग्रिन लाग्दा पोल्ट्रीमा बर्डफ्लू, कति जोखिमपूर्ण ?
माघ १६ गते मोरङका दुई स्थानमा बर्डफ्लू (कुखुरा र पक्षीहरूमा लाग्ने भाइरस) देखियो । पशुसेवा विभागका अनुसार मोरङको खुनियाकट्टा र बुढीगंगामा बर्डफ्लू देखिएको पुष्टि भएको थियो । त्यसको एक महिनापछि काठमाडौँ उपत्यकाको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखियो । एक महिना अवधिमै तीन जिल्लामा बर्डफ्लू पुष्टि भएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार त्यस क्षेत्रमा पालिएका कुखुराको नमुना सङ्कलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । विभागका प्रवक्ता डा. चन्द्र ढकालले अहिलेसम्म तीन जिल्लाका विभिन्न स्थानमा बर्डफ्लू पुष्टि भएको बताए । मोरङ, चितवन र काठमाडौँ जिल्लामा बर्डफ्लू पुष्टि भएको उनले जानकारी दिए ।
‘यसबाहेक देशका अन्य जिल्लामा पनि हामीले परीक्षण गरिरहेका छौँ,’ ढकाल भन्छन्, ‘विभाग मातहत रहेका देशभरका संयन्त्रलाई तयारी अवस्थामा राखेका छौँ ।’ कुखुरापालक किसानले सम्पर्क गरेर कुखुरा बिरामी परेको जानकारी दिनासाथ विभागको टोली त्यस्ता स्थानमा पुगी नमुना सङ्कलन तथा परीक्षण गर्ने गरेको छ । नमुना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएमा त्यस क्षेत्र वरपर थप फैलन नदिन विभागसहितको टोलीले तत्काल नष्ट गर्ने गर्छ ।
यही क्रममा विभागले अहिलेसम्म तीन जिल्लाका हजारौँ कुखुरा नष्ट गरिसकेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको छ । यस्तै, चितवनमा एक हजार ९१३ वटा लेयर्स र १० वटा हाँस नष्ट गरिएको छ । यस्तै, २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र ३५० वटा अण्डाको क्रेट नष्ट गरिएको विभागले जानकारी दिएको छ । मोरङका दुई स्थानमा पनि यसैगरी पक्षी नष्ट गरिएको थियो ।
महामारी रोग विशेषज्ञ डा. सुरेन्द्र कार्की अहिले देखिएको बर्डफ्लू जोखिमयुक्त अर्थात् उच्च सङ्क्रामक भएको बताउँछन् । उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लू सङ्क्रामक खालको छ र यो मानिसमा सर्न सक्छ । यद्यपि, अहिलेकै स्थितिमा बर्डफ्लूसँग डराइहाल्न नपर्ने उनको भनाइ छ । ‘अहिले देखिएको सङ्क्रामक खालको बर्डफ्लू हो । तर, यसबाट हामी आत्तिइहाल्नुपर्ने स्थिति छैन,’ उनले भने ।
प्रत्येक वर्ष देखिन्छ बर्डफ्लू
बर्डफ्लू पक्षी प्रजातिमा देखिने एक प्रकारको रुघाखोकी हो । यो नेपालमा पहिलो पटक सन् २००९ मा देखिएको थियो । त्यसयता सन् २०१५ र २०१६ बाहेक प्रत्येक वर्ष पक्षीमा देखिँदै आएको छ । बर्डफ्लूले सन् २०१३ मा नेपालको पोल्ट्री व्यवसायमा सबैभन्दा बढी क्षति गराएको थियो । त्यसबाहेक अहिलेसम्म यसबाट ठूलो क्षति ब्यहोर्नु नपरेको सङ्क्रामक रोग विशेषज्ञ डा. कार्कीले बताए ।
बर्डफ्लू सामान्यतयाः उच्च सङ्क्रामक ‘एचफाइभ एनवान’ र कम सङ्क्रामक ‘एचफाइभ एननाइन’ गरी दुई प्रकारको हुन्छ । यी दुईमध्ये कम जोखिमपूर्ण ‘एचफाइभ एननाइन’ बर्डफ्लू देखिँदा सरकारले घोषणा नै गर्दैन । मानिसमा सर्नसक्ने जोखिमयुक्त ‘एनफाइभ एनवान’ बर्डफ्लू पुष्टि भएमा मात्रै सरकारले यसको घोषणा गर्छ । यी दुई भेरियन्टबाहेक सन् २०१९ र २०२१ मा ‘एचफाइभ वानएट’ बर्डफ्लू पनि देखिएको थियो ।
हालसम्म विश्वभर ८५५ जना मानिसमा पक्षीबाट बर्डफ्लू सरेको छ । जसमध्ये ४४४ जनाको मृत्यु भएको तथ्यांक छ । यो भनेको कूल सङ्क्रमितमध्ये ५२ प्रतिशत हो । नेपालमा भने सन् २०१९ मा पहिलो पटक मानिसमा बर्डफ्लू रोग भेटिएको थियो । मृत्यु भइसकेपछि परीक्षण गर्दा बर्डफ्लू पुष्टि भए पनि कहाँबाट सर्यो भन्ने स्रोत पुष्टि भएको छैन ।
पक्षीमा कसरी फैलिन्छ बर्डफ्लू ?
पशु सेवा विभागका अनुसार विभिन्न देशमा वा एक स्थानबाट अन्य स्थानमा बसाइँ सर्दै हिँड्ने पक्षी नै बर्डफ्लूको मूख्य स्रोत हुन् । यस्ता पक्षी एक स्थानबाट अर्को स्थानमा वा एक देशबाट अर्को देशमा आऊजाऊ गर्दा बर्डफ्लू सङ्क्रमण फैलाउन सक्छन् । मोरङमा माघ १६ गते देखिएको बर्डफ्लू पनि कोशीटप्पु वन्यजन्त आरक्षणमा आएका क¥याङकुरूङ चराबाट सरेको हुनसक्ने विभागको अनुमान छ । यद्यपि, यो पुष्टि भइसकेको छैन ।
यसबाहेक, सबै प्रजातिका पक्षीलाई खुला रूपमा एकै स्थानमा पाल्दा पनि बर्डफ्लू सर्न सक्छ । ‘हाँस, लेयर्स, ब्रोइलर, परेवा, टर्की, लोकल कुखुरालगायत सबै प्रकारका कुखुरा एकै स्थानमा खुला रूपमा पाल्दा बर्डफ्लू सर्ने जोखिम बढी हुन्छ,’ डा. कार्की भन्छन् । ती सबै प्रजातिका पक्षीलाई खुलारूपमा एक अर्कामा घुलमिल गराउँदा यसको जोखिम बढी हुन्छ । घरमा पालिने पक्षीमध्ये हाँसबाट सबैभन्दा बढी सर्न सक्ने जोखिम रहने कार्कीको भनाइ छ ।
‘हाँसलाई यस्ता प्रकारका पक्षीजन्य सङ्क्रामक रोग लाग्दा उसले पचाउन सक्छ,’ कार्की भन्छन्, ‘तर, हाँससँगै हिड्डुल र घुलमिल हुने अन्य पक्षीमा सार्न सक्छ ।’ जसबाट पक्षीमा बर्डफ्लू हुनसक्ने हो । सोहीकारण खुला रूपमा पक्षी पाल्नु नै सबैभन्दा जोखिमयुक्त हुने र वनमा खुला रूपमा हिँड्डुल गर्ने काग, भँगेरा लगायतका पक्षी घरपालुवा पक्षीको सम्पर्कमा आएमा पनि सर्न सक्ने जोखिम हुन्छ ।
‘आत्तिएका छैनौँ’ : व्यवसायी
तीन जिल्लामा देखिएको बर्डफ्लूबाट आफूहरू नआत्तिएको पोल्ट्री व्यवसायी बताउँछन् । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले अहिले देखिएको बर्डफ्लूबाट आत्तिन नपर्ने बताए । उनले बर्डफ्लू न्यून मात्रामा देखिएको र सङ्क्रमित सबै पक्षी नष्ट गरिएकाले अहिले डराइहाल्नुपर्ने स्थिति नरहेको दाबी गरे ।
‘अहिले देखिएकामध्ये चितवन जिल्लामा मात्रै करिब दुई हजार पक्षी नष्ट गर्नुपरेको छ,’ उनले भने, ‘यसबाहेक अन्य जिल्लामा न्यून मात्रामा पक्षी नष्ट गरिएको छ ।’ यसको अर्थ व्यापक रूपमा बर्डफ्लू नफैलिएको उनले बताए । यद्यपि, यसबाट बच्न सुरक्षाका उपाय भने अपनाउनुपर्ने पोखरेलको सुझाव छ ।