आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाँचवर्ष मुनिका बालबालिकालाई आँखाको क्यान्सरको खतरा

यसरी थाहा पाउन सकिन्छ
मङ्गलबार, ०३ फागुन २०७८, १५ : ४७
मङ्गलबार, ०३ फागुन २०७८

के तपाईंलाई थाहा छ, पाँच वर्षमुनिका बालबालिकामा पनि आँखाको क्यान्सर हुन्छ भनेर ? उनीहरुमा एक वा दुवै आँखाको भित्री भागको पर्दा रेटिना (retina) बाट पलाउने क्यान्सर (रेटिनोब्लास्टोमा) लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ । यो क्यान्सर १५ हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्ने गरेको छ । रोगको पहिचान गर्न ढिलो भएमा आँखामा फैलिएर अन्धोपनसमेत ल्याउन सक्छ भने शरीरको अन्य भागमा फैलिए ज्यानसमेत जान सक्ने तिलगंगा आँखा अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताउँछिन् ।

आँखाकै क्यान्सरका कारण नेपाल लगायत विकासोन्मुख देशहरूमा यस रोगबाट ५० प्रतिशतको मृत्यु हुने गर्छ । यद्यपि विकसित देशहरू भने ५ प्रतिशतभन्दा कमको मृत्यु हुने अध्ययनहरूले देखाएको छ । १७ वर्ष अघिदेखि तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सरको उपचार सुरु गरिएको हो । यद्यपि क्यान्सर रोगको विभाग नै स्थापना गरी उपचार सुरु गरिएको ५ वर्ष पुगेको डा. राजकर्णिकारले बताइन् । तिलगंगा आँखा अस्पतालमा वार्षिक रूपमा ३०० जना आँखाको क्यान्सरका बिरामी उपचारका लागि आउने गर्छन् । यस्तै,  आँखाका नयाँ क्यान्सरका बिरामी ५० जना उपचारका लागि पुग्ने उनले बताइन् । 

 डा. कर्णिकारअनुसार आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुँदा देखिने लक्षण यस्ता छन् ।

–आँखाको नानीको कालो भागमा सेतो टिका देखिने 
–आँखामा डेडोपन देखिने
–आँखा असामान्य रूपमा रातो देखिने दुख्ने
–आँखाको आकार ठुलो हुँदै जाने 
–आँखा बाहिरतिर आउने

रेटिनोब्लास्टोमा ५ वर्ष मुनिका कुनै पनि बालबालिकामा देखिन सक्छ । यस्तै, रेटिनोब्लास्टोमा रोगले आँखामा असर पुर्‍याएका आमा बाबुका छोरा छोरीलाई यो रोग लाग्छ सक्छ । रेटिनोब्लास्टोमा बिरामीका भाइ बहिनीलाई पनि यो रोग लाग्न सक्ने सम्भावना रहन्छ । त्यसैले पाँच वर्षमुनिका बालबालिकाको आँखा यस्तो लक्षण देखिएका परीक्षणका लागि अस्पताल पुर्‍याउनुपर्छ । रेटिनोब्लस्टोमा रोग लागे नलागेको पत्ता लगाउन आँखा रोग विशेषज्ञहरूले बच्चालाई बेहोस पारेर आँखाको रेटिनाको जाँच गर्छन् । समयमै उपचार गरिएन भने आँखाको क्यान्सर अन्य भागमा फैलिएर ज्यानै समेत जान सक्ने डा.राजकर्णिकारको भनाइ छ । त्यसैले बालबालिकाको आँखामा समस्या भए नभएको चनाखो भइरहनुपर्ने उनको भनाइ छ ।

डा. राजकर्णिकारका अनुसार आँखामा रेटिनोब्लास्टोमा भए नभएको थाहा पाउन आँखाको अल्ट्रासाउण्ड गर्नुपर्छ । यस्तै, आँखा तथा मस्तिष्कको सीटी क्यान, एमआरआई गर्नुपर्ने हुन्छ । रेटिनोब्लास्टोमा रोगको पहिचान गरिन्छ । उपचार गर्दा अस्पतालमा शल्यक्रिया, क्रायोथेरापी थरमोथराप गरिन्छ ।

साथै रेटिनोब्लास्टोमा भएका बिरामीलाई केमोथेरापिका लागि कान्ति बालमा पठाउने डा.राजकर्णिकारले सुनाइन् । यस्तै, रेडियोथेरापीका लागि भक्तपुर क्यान्सर अस्पतालमा पठाइने उनले बताइन् । रेडियोथेरापी भन्नाले एक्स रे विकिरण प्रयोग गरी क्यान्सरको तन्तु नष्ट गर्नुलाई भनिन्छ । 

आँखाको क्यान्सर भएका पाँच वर्षमुनिका बालबालिकालाई केमोथेरापी, थरमोथेरपी, क्रायोथेरपी, रेडियोथेरपी गर्दा निको नभएमा शल्यक्रिया गरिन्छ । जटिल अवस्थामा पुगेका उपचार पद्धतिबाट उपचार सम्भव नभएमा आँखाको डल्लो निकाली इनुक्लेसन विधिबाट उपचार गरिन्छ । 

यस्तै आँखामा आउने ट्युमरलाई पनि विभिन्न पद्धतिबाट उपचार गरिन्छ । यस्तै,  ट्युमरको आकार, किसिम, फैलावटको आधारमा उपचार गरिन्छ । एउटा आँखा वा दुवै आँखा ट्युमर भए नभएको कुराले पनि उपचार पद्धतिमा भर पर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप