आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी कलाकार, जसले दोस्रो घरजम गरे

बुधबार, ०४ फागुन २०७८, ०७ : २३
बुधबार, ०४ फागुन २०७८

अभिनेत्री रेखा थापाले दोस्रो विवाह गरेकी छिन् । अमेरिका बस्दै आएका बलराम शाही ठकुरीसँग दुई साता अगाडि कोर्ट म्यारिज गरे पनि उनले विवाहको कुरा गोप्य राख्दै आएकी थिइन् । सोमबार भने उनको विवाह मिडियामार्फत् सार्वजनिक भएको छ । निर्माता छविराज ओझासँग छुट्टिएको लामो समयपछि रेखाले ठकुरीलाई जीवनसाथी रोजेकी हुन् । रेखा पछिल्लो समय अभिनेत्री, निर्माता निर्देशकको अलावा राजनीतिक दलको नेतृको रुपमा चिनिएकी छन् । हालै राप्रपाको महाधिवेशनमा महामन्त्री उम्मेदवार भएकी उनी कुन्ती शाहीसँग पराजित भएकी थिइन् । 

नेपाली समाजमा पहिले एकपटक विवाह गरेपछि वा श्रीमान्को निधनपछि एकल महिलाको रुपमा जीवन व्यतित गर्ने चलन रहिआएको थियो । कतिपय अवस्थामा श्रीमतीको निधनपछि पुरुषले पनि एकल जीवन निर्वाह गरेको देख्न सकिन्थ्यो । पछिल्लो समय भने श्रीमान् वा श्रीमतीको निधनपछि या पहिलो विवाह असफल भएर डिभोर्स भएपछि महिला, पुरुष एकल बस्ने चलन बिस्तारै हराउँदै गएको छ । यो सकारात्मक कदम पनि हो । नेपाली कला क्षेत्रका धेरै कलाकार श्रीमान् श्रीमतीको निधनपछि वा डिभोर्सपछि अर्काे जीवनसाथी रोजेका छन्, जसको चर्चा यहाँ गरिएको छ ।

रञ्जना शर्मा : 

अभिनेत्री रञ्जना शर्माले अमेरिकी निवासी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी छन् । निर्देशक श्याम भट्टराईसँग डिभोर्सपछि उनले सिलवाललाई जीवनसाथी रोजेकी हुन् । सिलवाल र शर्मा हाल अमेरिकामै रहदै आएका छन् ।

श्वेता खड्का : 

अभिनेत्री श्वेता खड्काको पनि विजेन्द्रसिंह रावतसँग दोस्रो विवाह भएको छ । पहिलो पति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि केही समय एक्लै बिताएकी खड्काले पछि प्रेमी रावतलाई जीवनसाथी बनाएकी हुन् ।

प्रियंका कार्की : 

अभिनेत्री प्रियंका कार्कीले २०७६ मा अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रो विवाह गरेकी हुन् । यसअघि अमेरिका निवासी रोचक मैनालीसँग उनको विवाह भएको थियो । सो सम्बन्ध लामो समय टिक्न सकेन । प्रियंकाको जोशीसँगको एक छोरी छिन् ।

कृति भट्टराई : 

पत्रकारितामा समेत सक्रिय अभिनेत्री कृति भट्टराईले २०७६ मा रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् । भट्टराईको पहिलो विवाह सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग भएकोे थियो । श्रेष्ठसँग डिभोर्स गरेको लामो समयपछि रोहितसँग उनले प्रेम विवाह गरेकी हुन् ।

अञ्जु पन्त : 

लोकप्रिय गायिका अञ्जु पन्तले पनि दोस्रो पतिको रुपमा थिर कोइरालालाई केही अगाडि रोजेकी छिन् । गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीसँग सम्बन्ध विच्छेद भएको एक दशकपछि उनले दोस्रो विवाह गरेकी हुन् ।

हरिवंश आचार्य : 

लोकप्रिय हास्यकलाकार हरिवंश आचार्यले पनि दोस्रो पत्नीको रुपमा रमिला पाठक भित्र्याएका थिए । पहिलो पत्नी मीराको निधनको केही समय एकल जीवन बिताएका उनले बाँकी जीवनको सहयात्रीको रुपमा रमिलालाई भित्र्याएका हुन् ।

मनोज गजुरेल : 

चर्चित हास्यकलाकार मनोज गजुरेलले पनि न्याय सेवाकी अधिकृत मञ्जु पोखरेललाई दोस्रो पत्नीको रुपमा भित्र्याएका छन् । केही अगाडि उनले अर्को विवाह गरेको सार्वजनिक गरेका थिए । गजुरेलको पहिलो विवाह फेसन डिजाइनर मीना ढकालसँग भएको थियो । ढकालसँग डिभोर्स गरेको केही समयपछि उनले मञ्जुलाई भित्र्याएका हुन् । मीनाका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।

निखिल उप्रेती र सञ्चिता लुइँटेल :

अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेलको विवाह पनि दुबैका लागि दोस्रो हो । निखिलले सञ्चिता भन्दा अघि कोपिला उप्रेतीसँग विवाह गरेका थिए भने सञ्चिताले आकाश शाहसँग । निखिलले पहिलो पत्नीलाई डिभोर्स नदिँदै सञ्चितालाई भित्र्याएका थिए भने सञ्चिताले आकाशलाई छोडेर निखिल रोजेकी थिइन् ।

भुवन केसी : 

सदाबहार अभिनेता भुवन कसीले पनि दोस्रो पत्नीको रुपमा   सुस्मिता बोमजन भित्र्याएका थिए । अभिनेता अनमोल केसी बोमजनसँगको छोरा हुन् । भुवनको अहिले बोमजनसँग पनि डिभोर्स भैसकेको छ । भुवन अभिनेत्री जिया केसीसँगक लिभिङ टुगेडरमा रहदै आएका छन् ।

शिल्पा पोखरेल : 

अभिनेत्री शिल्पा पोखरेलको पनि निर्माता छविराज ओझासँग दोस्रो विवाह हो । उनले यस अगाडि पनि एक बिसी थरका भिडियो सम्पादक तथा निर्देशकसँग विवाह गरेकी थिइन् । शिल्पा अहिले भने छविसँग छुट्टिएर एक्लै रहदै आएकी छन् ।

पूजा चन्द : 

अभिनेत्री पूजा चन्दले दोस्रो विवाह अमेरिकामा बसोबास गरिरहेका गायक राजु लामासँग गरेकी छन् । निर्देशक सुरज चन्दसँग पहिलो विवाह गरेर अमेरिका हानिएकी उनले सुरजसँग डिभोर्सपछि लामासँग अमेरिकामै विवाह गरेकी हुन् । सुरज तिरबाट जन्मिएकी छोरीलाई पनि उनले सँगै अमेरिकामा राखेकी छन् ।

सिम्पल खनाल : 

मोडल अभिनेत्री सिम्पल खनालले म्यूजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग पहिलो विवाह गरेकी थिइन् तर उक्त विवाह लामो समय टिक्न सकेन । पौड्यालसँग डिभोर्स गरेर उनले भारतीय मूलका व्यापारी नदिनलाई नयाँ जीवन साथी रोजेकी छन् । सिम्पलले माझी दाई, अध्याय जस्ता फिल्ममा अभिनय गरेकी थिइन् ।

शिव श्रेष्ठ : 

अभिनेता शिव श्रेष्ठले पनि दुई विवाह गरेका छन् । पहिलो पटक २०२८ मा गंगादेवी श्रेष्ठसँग विवाह गरेका उनले  गंगादेवीसँगको दाम्पत्य जीवन असफल भएपछि चितवनकी सिर्जना श्रेष्ठसँग दोस्रो विवाह गरेका थिए । पहिलो विवाहबाट चार छोरी, एक छोरा भएका शिवको दोस्री श्रीमतीबाट पनि एक छोरा छन् ।

यी त केही उदाहरण मात्र हुन् । निर्माता छविराज ओझा, निर्देशक श्याम भट्टराई, मोडल निर्देशक शकंर बिसी, कलाकार पवन मैनाली, निर्माता निकिता पौडेललगायत थुप्रै सेलिब्रेटी छन्, जसले दोस्रो विवाह गरेर जीवन सहज बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप