सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेम : एक अनुभूति, अनेक भ्रम

बुधबार, ०४ फागुन २०७८, १४ : ३८
बुधबार, ०४ फागुन २०७८

यो साता बजारका पसलैपिच्छे साना ठूला उपहारहरू सजाएर बेच्न राखिएका थिए । गाडीका सोरुमहरु र गाडीहरु पनि राता गुलाबहरुले सजाएर राखिएको थियो । होटल तथा रेस्टुरेन्टहरुमा सजावट र विशेष कार्यक्रमहरु तय गरिएको थियो जो आफ्ना वस्तु व्यापारीकरणका लागि गरिएको एउटा तयारी थियो ।

व्यापारीहरुले मात्र हैन, तपाई हामीले पनि व्यक्तिगत रुपमा कुनै न कुनै तवरले प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेलाई स्मरण गर्यौं । शुभकामना आदानप्रदान गर्यौं । बाहिर गएर या घरमा नै कुनै विषेश कार्यक्रम गरेर मनायौँ । हाम्रो संस्कृति होइन भनेतापनि, यसको विरोध गरेता पनि यसले हामीलाई कतै न कतैबाट छोएर गएको छ ।

प्रेम मानव सभ्यतासगैँ विकास भएको मानिसको एउटा संवेग हो । यो अपरिहार्य छ । अकाट्य छ । अनन्त छ । प्रेममा जीवन छ । हिजोको प्रेमिल माहोल देखेर मेरा मनमा पनि अनेक प्रश्नहरु उब्जिए । केही समयसम्म मन र मष्तिष्कवीचमा अन्तरद्धन्द चलिरह्यो । प्रेम के हो ? जीवन के हो ? प्रेम नै सबैथोक हो त ? जीवनमा प्रेम मात्र छ त ? प्रेमले मात्र जीवन चल्छ त ?

यी प्रश्नहरु गरेर भ्यालेन्टाइनको प्रेममा शंका गरेको हैन मैले । न मुनामदनको मायाप्रति नै संशय छ मलाई । न त रोमियोजुलिएटको सम्वन्धमा नै कुनै प्रश्न गरेको हो मैले । मैले त खालि म बाँचेको परिवेशमा देखेका, भोगेका र अनुभूति गरेको मायाप्रेमका कुरा मात्र जोड्न खोजेको हुँ।

घाम लागेको समयमा कालो पत्रे सडकमा देखिने मिराज जति नजिक गयो त्यति टाढा गए जस्तो लाग्छ । यसलाई कहिल्यै भेट्न सकिन्न । यो एउटा अनुभूति मात्र हो । यो एउटा दृष्टि भ्रम मात्र हो । सडकमा देखिने मिराज जस्तै मायाप्रेम पनि एउटा अनुभूति रहेछ । टाढा हुँदा देखिने तर जति नजिक गयो अझै टाढा भागे जस्तो लाग्ने । कहिले आफ्नै हातले छोईए जस्तो कहिले अंगालोमा बाँधिए जस्तो । अनि कहिले डाँडापारि भएजस्तो कहिले समुन्द्र पारि गए जस्तो । कहिले पाए जस्तो कहिले गुमाए जस्तो । साँच्चै यो एउटा अनुभूति मात्र रहेछ । एउटा भ्रम मात्र रहेछ । भावनात्मक भ्रम । हो, यहि भावनात्मक भ्रममा बाँचिरहेका छौँ हामी पनि ।

एउटा सानो घटना,

मलाई याद छ, म मेरो जीवनको माध्यमिक तहको खुड्किलोमा थिएँ । हामी छात्रा साथीहरुको एउटा समूह थियो । हाम्रै समूहकी एउटी साथी जसलाई कक्षा कै केटा साथीले पोष्टकार्ड पठाएछ । केहीदिन आफैँसँग राखेर उसले हामीलाई सुनाई । त्यसबेला प्रेम प्रस्ताव राख्ने माध्यम नै त्यही थियो । फेरि त्यो आफैमा एक हिम्मत र अपराध पनि थियो । हामी साथीहरुको समूहले उसलाई हाम्रो न्यायको कठघरामा उभ्यायौँ । दोषी करार गर्यौँ । माफी मगायौँ । तर, एक वर्ष नवित्दै हामी साथीहरु दोषी देखियौँ । उनीहरुको नाम एकअर्कोसगँ जोडिएर सतहमा आयो । फेरि अर्को वर्ष नबित्दै उनीहरुको नाम एक अर्काबाट छुट्टियो । मैले पहिलो पटक थाहा पाएँ, केटा र केटीबीच आर्कषण हुँदोरहेछ । मायाप्रेम हुँदोरहेछ । मिलन विछोड पनि हुँदो रहेछ । अनि त्यतिबेलै थाहा पाएँ मायाप्रेम त एउटा अनुभूति मात्र रहेछ, भ्रम मात्र रहेछ ।

अर्को घटना,

मेरी एउटी मिल्ने साथी थिइन् । उनी र म सहितको एउटा साथी समूह थियो,जो एकै ठाउँमा काम गर्थौँ । सोही मध्ये दुईजना खास मिल्थे । कार्यस्थलमा खासखुस चल्न थाल्यो । उनीहरुमाथि अरु कसैकोे प्रश्न नउठोस् भनेर हामीले नै प्रश्न गयौँ । उनीहरुले केही खास नभएको जवाफ दिए । हामी ढुक्क भयौँ । तर मेरी साथीलाई मलाई ढाँटेकोमा पीडा भएछ । केही दिन पछि उनीहरुबीच प्रेम रहेको तर कसैलाई पनि नभन्ने सर्त गरेको भएर उनीहरुबीचको प्रेम सम्बन्धको बारेमा कसैलाई नसुनाउने र केही प्रश्न नगर्ने सर्तमा सुनाइन् । मलाई कसैलाई सुनाउनु पनि थिएन । उनीहरुसगँ कुनै प्रश्न गर्नु पनि थिएन । मलाई कसैको प्रेमको बाधक बन्नु पनि त थिएन । मेरी साथी उसलाई असाध्यै प्रेम गर्ने गरेको कुरा सुनाउथी । मलाई भने उसको प्रेमीप्रति शंका लाग्थ्यो । किन किन मलाई लाग्थ्यो उ भ्रममा बाँचिरहेकी छे । आखिर केही समयपछि उनीहरु छुटिए । त्यतिबेला मैले मेरी साथीको प्रेम बचाउनका लागि मध्यस्थता गर्न सकिनँ । किनकि मैले प्रश्न गर्न सकिनँ । मलाई फेरि लाग्यो, एकतर्फी प्रेम पनि भ्रम नै रहेछ ।

त्यतिबेला प्रेमलाई र समाजले सहजरुपमा स्वीकृति दिई नसकेको स्थिति थियो । प्रेम गर्नु अपराध र प्रेम गर्नेलाई अपराधीको रुपमा हेर्ने गरेको पाईन्थ्यो । त्यसैले धेरैले आफ्नो प्रेम गोप्य राख्न चाहान्थे । ताकि आफू साथीभाइबाट टाढिनु नपरोस् । प्रेम असफल भयो भनेपनि समाजबाट अपहेलित हुनु नपरोस् । केटा पक्षले कसैसगँ प्रेम गरेकी केटी विवाह गर्न चाहँदैन थिए भने केटी पक्षले पनि छोरीको रोजाई र प्रेममा विश्वास गर्ने अवस्था थिएन । समाजमा अविभावक प्रधान थिए । उनीहरुले जे भन्छन् त्यो मान्य हुन्थ्यो । छोराछोरीको रहर र चाहनाहरु गौण हुन्थे । मलाई पनि लाग्थ्यो, कसैलाई प्रेम गर्नु भनेको भ्रम मात्र हो ।

समय अघि बढ्दै गयो, शिक्षा र रोजगारिको लागि मानिसको चेतना, मोविलिटी र दायरा बढ्दै गयो । समाजका मान्यता र परिभाषाहरु पmराकिला हुदै गए । छोराछोरीको खुशीका लागि आमाबुबा लचिलो बन्दै गए । उनीहरुका रहर, चाहाना र रोजाइहरु प्राथमिकतामा पर्दै गए । सामान कुलघराना, जातधर्मका प्रेमहरुले विवाहको लागि परिवार र समाजबाट मान्यता पाउँदै गए । तथापि प्रेम विवाह भन्दा मागी विवाहलाई नै विश्वासिलो र भरपर्दो मानिन्थ्यो । समाजमा प्रेम विवाहको आयु लामो हुँदैन भन्ने गरिन्थ्यो । समाजमा भएका यस्ता प्रेम विवाहबीचमा झैझगडा, मनमुटाव र वैमनस्यता आएका प्रशस्त उदाहरणहरु देखिन्थे । त्यसैले मलाई पनि लाग्थ्यो, प्रेम विवाह गर्नु भ्रम हो ।

अर्को एउटा घटना,

गाउँका जमिनदारको छोरीको विवाह थियो । गाउँमा अहिलेसम्म नभएको ठूलो विवाहको तयारी, निम्तालु, खानपान, दाइजो लगायतका विषयमा विवाहको अघिदेखि पछि पनि कयौँ दिनसम्म चर्चै चर्चा थियो । धुमधाम र भव्य रुपमा विवाह सकियो । विवाहको चर्चा सेलाउन नपाउँदै छोरी घरमा पतिसँग बस्न नसकेर माईति फर्किइन् । कारण बाहिर आएन । परिवारले  कुलघराना हेरेर गरेको वैवाहिक प्रेमको पनि अन्त्य हुने रहेछ । मलाई फेरी लाग्यो, परिवार र समाजले स्वीकारेको वैवाहिक प्रेम पनि त भ्रम नै रहेछ ।

समाजमा प्रशस्तै प्रेम विवाहका र मागी विवाहका सफल उदाहरणहरु थिए । सफल हुँदा हुँदै पनि कहिलेकाहीँ मनमुटाव,कलह र झैझगडाका फिलुंगाहरु बाहिर आउँथे । कहिलेकाहीँ एक अर्काप्रतिका असन्तुष्टिपनि पोखिन्थे । कसैका झगडा त उनीहरुबीचमा मात्र सीमित नभएर परिवार हुँदै समाजसम्म नै आइपुग्थ्यो । दुईबीचको आरोप–प्रत्यारोप बाहिर आउँथे । त्यहाँ एकअर्काले माया नगरेको, हेरविचार नगरेको आरोप लगाउँथे । आफ्नो पारिवारिक जिम्मेवारीबाट भागेको आरोप पनि लगाउथे ।  कोही मनको मैलो फ्याँकेर, आप्mना–आफ्ना कमजोरिहरु सच्याएर मिल्थे । कोही मिल्न नसकेर छुट्टिन्थे । अनि मलाई लाग्थ्यो माया, प्रेम, विवाह सबै भ्रम हो ।

प्रेमालाप, केही सन्तुष्टि, केही असन्तुष्टि, तिक्तता, बेमेलका छट्पटाहट र विछोडका पीडाहरु देखेर हुर्किएकी म हरेक प्रेममा भ्रम देख्थेँ । त्यसमा क्षणिक आकर्षण मात्र देख्थेँ । त्यसैले मलाई गर्ने प्रेमहरु पनि सधैँ भ्रम हो जस्तो लाग्थ्यो । हुन त मलाई हाक्काहाक्की प्रेम प्रस्ताव सायदै आए होलान् । कतिजना त मसँग नजिकिएको नै थाहा पाइन मैले । सायद उनीहरु मेरो मनोभावना बुझेर नै टाढिए होला । कतिलाई त मैले थाहा पाएर पनि वास्ता गरिन होला । सायद उनीहरु मेरो वेवास्ता देखेर टाढिए होला ।

कुनै समय एउटा साथी थियो । जोसँग जिवन र जगतलाई हेर्ने दृष्टिकोण र विचारमा समानता थियो । विचारहरूको वहस हुन्थ्यो । एउटा तन्तुदेखि विश्व ब्रह्माण्डसम्मलाई हेर्ने दृष्टिकोणको विश्लेषण र संश्लेषण हुन्थ्यो । त्यही क्रममा जतिबेला ऊ मप्रति आकर्षित थियो वा मलाई प्रेम गरेको थियो त्यति बेला मैले थाहै पाइनँ । जतिबेला अनुभूति भयो, ऊ टाढा पुगिसकेको थियो । मप्रति उसको प्रेम थियो या आर्कषण, मैले छुट्याउन सकिनँ । ऊ प्रति मेरो प्रेम थियो या भ्रम, त्यो पनि छुट्याउन सकिनँ । त्यसैले त मलाई यो मायाप्रेम भन्ने कुरा सधैँ भ्रम नै लागिरह्यो ।

जो मप्रति आकर्षित थिए, या मलाई प्रेम गर्थे, उनीहरु मेरो विचार र जीवनप्रतिको दृष्टिकोण बुझेर फर्किए होला । मेरो लक्ष्यप्रतिको दृढता देखेर फर्किए होला । मेरो जीवनको आफ्नै दृष्टिकोण थियो । आफ्नै लक्ष्य थियो । आफ्नै मूल्यमान्यता थियो । आफ्नै परिभाषा थियो । जीवनको परिभाषा सबैको एउटै कहाँ हुन्छ र ? जसले जसरी बाँच्यो, उसले आफ्नो भोगाइ अनुरुपको परिभाषा बनाएको हुन्छ । हरेक जीवनको आ–आफ्नै सिद्धान्त हुन्छ । हरेक जीवनको जिउने छुट्टै कला हुन्छ । हरेक जीवनको बाँच्ने बेग्लै फर्मुला हुन्छ । सबै जीवनका हिसाबहरु एउटै फर्मुलामा समाधान गर्न कहाँ सकिन्छ र ?

जीवन सुनाई, देखाई र भोगाइको समस्टिगत रुप रहेछ । यिनै अनुभवहरूले नै जीवनलाई दिशानिर्देश गर्ने रहेछ । म माया प्रेमसँग डराएको हैन, भागेको पनि हैन, तर संशय भने सधैँ रहिरह्यो । मलाई हिजोदेखि आजसम्म पनि लाग्छ, प्रेम सम्बन्धमा होस् या दाम्पत्य जीवन, आर्कषण सधैँ रहँदैन । समर्पण सधैँ रहँदैन । मायाप्रेम क्षणिक हुन सक्छ, भ्रम हुन सक्छ । तर विश्वास अटुट हुन्छ, अविचलित हुन्छ । मायाप्रेम सधैँ एकैनास नभएर के भयो त, विश्वासलाई एकैनास बनाउन सकिन्छ, स्थायी बनाउन सकिन्छ । अनि त्यहि विश्वासले प्रेमलाई बाँध्न सकिन्छ । जहाँ विश्वास हुन्छ त्यहाँ सम्बन्ध स्थायी हुन्छ, सुमधुर हुन्छ । विश्वासले प्रेमलाई गाढा बनाउँछ । इमानदारिता र जिम्मेवारीले विश्वासलाई प्रगाढ बनाउँछ । त्यसैले हामीले हाम्रो जिम्मेवारी निभाउन सक्नुपर्छ । हामी हाम्रो सम्वन्धप्रति ईमानदार बन्न सक्नुपर्छ । मायाप्रेम एक अनुभूूति हो । कहिलेकाँहि यो भ्रम पनि हुन सक्छ । कहिले भएर पनि नभए जस्तो लाग्न सक्छ । कहिले नभए जस्तो लागेपनि भई रहेको सक्छ । यो छुटेर पनि जुट्न सक्छ, मारेर पनि जगाउन सकिन्छ । तर विश्वास........विश्वास टुटेपछि जुट्न सक्दैन । फुटेपछि जोड्न सकिन्न ।

गल्ती पनि एउटा मानविय अवयव नै हो । जानअन्जानमा गल्ति सबैका हुन्छन् । तर गल्तिलाई स्वीर्कान सक्नुपर्छ र अघि बढ्न पनि सक्नुपर्छ । यदि हामी गल्ति छोप्न थाल्यौँ भने एउटा गल्ति छोप्न हजार गल्तिहरु गर्नुपर्छ । गल्तिहरुलाई छोप्न झुटको साहारा लिनुपर्छ । जव एक झुट पक्ता लाग्छ, तवहजार सत्यहरु निकम्मा बन्छन् । सबै सत्यहरु झुट सावित हुन्छन् । त्यति बेला हामी निरिह बन्छौ, कमजोर बन्छौँ । अनि हाम्रा आशाहरु धरमराउँन थाल्छन्, भरोशाहरु डगमगाउँन थाल्छन्, । अनि विश्वासहरु टुट्न थाल्छन् ,सम्वन्धहरु छुट्न थाल्छन् ।

त्यसैले मलाई लाग्छ, प्रेम जीवनको शुरुवात हो तर अन्त्य होईन । जीवन प्रेमले मात्र चल्न सक्दैन । जीवनको आधारहरु प्रेम, प्राप्ति, त्याग, समर्पण, इमानदारिता, जिम्मेवारी, र विश्वास सबै हुन् । त्यसैले हामीले जस्तोसुकै अवस्थामा पनि हाम्रो सम्बन्धप्रतिको जिम्मेवारी निभाइराख्नुपर्छ । हाम्रो सम्बन्धमा  विश्वास बनाइराख्नुपर्छ । विश्वासले नै तपाई हाम्रो मायाप्रेमलाई भरपर्दो बनाइदिन्छ । सुरक्षित बनाई दिन्छ । जहाँ हामी सुरक्षा खोजिरहेका हुन्छौँ, हाम्रो जीवनको सुरक्षा, हाम्रो आत्मसम्मानको सुरक्षा, हाम्रो पारिवारिक जीवनको सुरक्षा । बस् जहाँ विश्वास रहन्छ, त्यहाँ सुरक्षाको प्रत्याभूति हुन्छ । जहाँ विश्वास र सुरक्षा हुन्छ त्यहिँ मायाप्रेम अंकुराउन थाल्छ । जीवन प्रेममय बन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप