आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छानबिन समितिले भनेजस्तै कसरी १० मात्राको भायलबाट ११ जनालाई खोप दिइयो ?

के कसैले खाेपकाे कम मात्रा पाएका हुन् ?
बुधबार, ०४ फागुन २०७८, १९ : ३१
बुधबार, ०४ फागुन २०७८

हराएको २४ लाख कोरोनाविरुद्धको खोप छानबिन गर्न गठित समितिले उल्टै साढे चार लाखभन्दा बढी खोप मौज्दातमा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार हालसम्म सरकारले खरिद र सहयोगमार्फत ४ करोड ५७ लाख  ८२ हजार ८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ । खोप छानबिन समितिले हराएको खोपको प्रतिवेदन तयार पर्दासम्म जम्मा तीन करोड ३८ लाख २६ हजार ३३० डोज लगाइ सकिएको छ  ।

 माघ २१ गतेसम्म एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थात् ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी मौज्दात रहेको पाइएको छानबिन समितिका संयोजक प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा गठित पाँच सदस्य समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसको कारणमा समितिले विभिन्न स्थानहरूमा स्थलगत अवलोकन, अन्तरक्रिया र सन्दर्भ सामाग्रीको अध्ययन गर्दा १० मात्राको भाइलमा ११ जनालाई लगाएको समेत देखिएको बताएको छ ।  

तर खोप सल्लाहकार समितिका एक सदस्यले खोप दिएका व्यक्तिलाई खोप मात्रा कम दिएर मौज्दातमा बढी आयो भनेर भ्रममा नपर्न आग्रह गरे । ‘प्रत्येक भाइलबाट खोप दिँदा १० जनालाई दिनुपर्ने सट्टामा ११ जनालाई चाहिँ दिएको छैन,’ उनले भने, ‘देशभरका खोप केन्द्रबाट खोप दिने क्रममा केहीले एक भाइलबाट ११ जनाले लगाएका होलान् तर, उनीहरूले एक पटकमा पाउनुपर्ने ०.५ एमएल परिणाममा पाएकै हुन्छन् ।’ एक भाइल खोप ११ जनाले लगाउँदै ०.५ एमएल खोप पूर्ण रूपमा नपाएर असुरक्षित हुने कुरामा  कुनै तुक नभएको खोप सल्लाहकार समितिका ती सदस्यको भनाइ छ । 

एक भाइल खोपमा पाँच एमएल खोप हुन्छ । पाँच एमएल खोप १० मात्रा लगाइ दिनुपर्छ । एक भाइल खोप कहीँ कतै ११ जनाले लगाएका छन् ७÷८ जनाले मात्रै पनि लगाएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा अधिकृत बडेबावु थापाले बताए ।

आपूर्ति शाखाका अधिकृत थापाले खोप उत्पादक कम्पनीले एक भाइल खोपमा पाँच एमएल खोप हुन्छ भनेर उल्लेख गरे पनि १२ जनासम्मलाई खोप दिन मिल्ने गरी खोप राखेको पाइएको छ  । ‘खोप उत्पादक कम्पनीले उत्पादन गरेका खोपलाई नापेर हेर्दा केहीमा ६.३ देखि ६.५ सम्म एमएलसम्म खोप रहेको पाइयो ।’ उनले भने, ‘त्यसैले एक खोप १० जनाले लगाउनुपर्ने ठाउँमा  ११÷१२ मात्रा दिँदा पनि जतिमा मात्रा खोप दिनुपर्ने त्यही अनिवार्य रूपमा सबैले पाएका छन् यसमा शङ्का गर्नुपर्दैन ।’ 

कोरोनाविरुद्धको खोप लगाइदिने स्वास्थ्यकर्मी तालिम प्राप्त जनशक्तिलाई सरकारले खटाएको उनको भनाइ छ । यस्तै, कोभिशिल्ड खोप सुरुवाती समयमा एक भाइल खोप १२ जनालेसम्म लगाएको रिपोर्टिङ भएको पाइएको छ । 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तगर्तको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार पनि एक भाइल खोपले ११ जनाले एकएक मात्रा लगाउँदा खोपको मात्रा नपुगेर एन्टिवडी कम नहुने जिकिर गर्छन् । 

कुनै खोप उत्पादन कम्पनीहरूले एक भाइल खोप ११ जनासम्मलाई दिन सकिने उल्लेख गरेको पाइएको छ । मोडर्ना खोप उत्पादक कम्पनीले नै एक भाइलले ११ जनासम्मलाई मिल्ने उल्लेख गरेको छ । 

‘खोप लगाउने क्रममा सिरिन्ज नोजलबिचमा एकदम न्यून मात्रामा खोप रहन सक्छ,’  उनले भने, ‘खोप सिरिन्जले तानिसकेपछि चेक गर्ने क्रममा ज्यादै न्यून मात्रा खोप खेरा जाने भएकाले खोप उत्पादक कम्पनीहरूले तोकिएको मात्राभन्दा केही बढी राख्ने गरेको पाइएको खोप लगाइदिने तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले बताउँदै समेत आएका छन् ।’

खोप राखिएको सीसीबाट खोप तान्दा नै आधामा एमएल अट्ने नोजल हुने भएकाले बढी मात्रा वा कम मात्रा खोप कसैले पनि नपाउने अधिकृत थापाले बताए ।

सबै एक भाइल खोपमा १० जनालाई पुग्ने खोप हुँदैन

नेपालमा कोरोनाविरुद्धको विभिन्न ६ कम्पनीका खोप लगाइँदै आएको छ । जसमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोन्सोन रहेको छ । कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना खोपको एक भाइलबाट १० मात्रा दिन सकिन्छ । यद्यपि बेलायतमा उत्पादन गरिएको एस्ट्रजेनिका खोपमा भने एक भाइलमा ८ मात्रा रहन्छ । यस्तै, फाइजर खोपको एक भाइलमा ६ मात्रा खोप हुन्छ । भेरोसेल खोपको फरक फरक भाइल हुने आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप