बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्जुननरसिंह केसीको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक

बिहीबार, ०५ फागुन २०७८, १२ : ०७
बिहीबार, ०५ फागुन २०७८

‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित सो पुस्तकको विमोचन गरेका हुन् । 

पुस्तकमा नेपाली काँग्रेसको इतिहास र २००७ सालमा राणाबिरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ । लेखक केसीले पुस्तकभित्र आफूले २६/२७  वर्षयता स्वदेश तथा विदेशमा नेपाली काँग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्न गरेको पनि जानकारी दिए ।

नेता केसीले पुस्तकमा नेपाली काँग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली काँग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोईरालाले देखाएको समाजवाद र नेपाली काँग्रेसको सन्तुलित परराष्ट्र नीतिका बारेमा विस्तृत रुपमा उजागर गरिएको बताए । उनले यस पुस्तकबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले नेपाली काँग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने उल्लेख गरे ।

केन्द्रीय सदस्य केसीले भने, ‘यो किताब झन्डै झन्डै म केन्द्रीय कार्यसमितिको सदस्य भएको २६/२७ वर्ष भयो । यो बीचमा जहाँ जहाँ जुन प्रशिक्षणका कार्यक्रमहरुमा देशविदेशमा सहभागी बनेँ । त्यहाँ नेपाली काँग्रेस र यसको इतिहासका बारेमा विभिन्न पक्षहरुको प्रश्न हुन्थ्यो । जिज्ञासा राखेर सोध्ने काम गर्दथे । त्यही जिज्ञासाहरूको उत्तर मैले जे दिन्थेँ त्यसलाई साधारण नोट बनाएर मैले राख्दै गएको थिएँ ।  यो मेरो २०/२२/२५ वर्षकै प्रयत्न हो ।’ 

केसीले भने, ‘यसमा नेपाली काँग्रेसमाथि उठ्ने विभिन्न खालको प्रश्नहरूलाई कार्यकर्ताको लेभलमा शिक्षणको रुपबाट यथार्थता र वास्तविकता पुगोस् भन्ने प्रयास हो । इतिहासमा काँग्रेस नभएर पनि २००७ सालको क्रान्तिको निम्ति जसले योगदान पुर्याएका छन् ।

उनीहरुले गरेको त्याग, तपस्या र समर्पण त्यो सम्पूर्णको उत्तराधिकारी संस्था काँग्रेस हो । त्यसैको आडले हामीले २००७ सालको सफलता प्राप्त गरेका छौँ भन्ने दृष्टिकोण र विलुप्त भएका व्यक्तित्व, जनताको बीचमा मानसपटलमा नसम्झेका व्यक्तिहरुलाई उत्खनन गरेर यसमा राख्ने कोशिस यसमा भएको छ ।’ 

उनले भने, ‘अर्को कुरा यसमा १३ औँ महाधिवेशनसम्म नेपाली काँग्रेसले लिएको कार्यदिशा, बिपी कोईरालाले देखाएको समाजवाद, नेपाली काँग्रेसको सन्तुलित परराष्ट्र नीतिदेखि नेपाली काँग्रेसलाई लगाइएका विभिन्न आरोपहरूको खण्डन र नेपाली काँग्रेसको झण्डाको महिमाका कुराहरु नेपाली काँग्रेसको कार्यकर्ता स्तरमा पुग्नुपर्ने आवश्यक्ता ठानेर यो पुस्तक लेखेको हुँ । यसमा नेपाली काँग्रेसका अन्तरंग कथाहरु, समाजवादी चिन्तन, सामाजिक न्याय पद्धतिका बारेमा लेखेको छु ।’

पुस्तकमा काँग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदूर संगठन आदि भातृ संस्था स्थापनाको युग प्रवर्तक पक्षलाई पनि समेटिएको छ । त्यस्तै आदिवासी–जनजाति, दलित, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदूर, किसान आदि वर्ग र समुदायसँग काँग्रेसको सम्बन्धको बारेमा पुस्तकले काँग्रेसको नीति स्पष्ट पारेको छ । 

त्यस्तै कम्युनिस्ट पार्टीहरूलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, काँग्रेसको मध्य मार्ग, काँग्रेस बिरुद्ध चलाइएका अनर्गल प्रचारवाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले संक्षिप्त जानकारी गराउने प्रयास गरेको छ । पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका काँग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथि मितिसहित उल्लेख गरिएको छ भने पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप