आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सलमान खान नेपाल आउने चर्चा : सम्बन्धित निकाय बेखर

बिहीबार, ०५ फागुन २०७८, १६ : ४८
बिहीबार, ०५ फागुन २०७८

बलिउड अभिनेता सलमान खान जम्बो टोलीसहित नेपाल आउने भएका छन् । लाजिम्पाटस्थित ओडीसी इन्टरटेनमेन्टले आगामी बैशाख ३ गते दशरथ रंगशालामा आयोजना गर्ने एक सांगीतिक कार्यक्रमका लागि सलमानसहित विभिन्न फिल्मकर्मी नेपाल ल्याउन लागेको हो ।

सलमान नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङले बताए । त्यसो त गुरुङले ०७४ फागुनमा पनि ‘दंबग टुर’ कार्यक्रममार्फत् सलमानलाई नेपाल ल्याउने तयारी गरेका थिए । उक्त समय सुरक्षा थ्रेट भएको कारण सलमानको नेपाल कार्यक्रम अन्तिम समयमा रद्द भएको थियो । सलमान नेपाल आउने बिषयमा अहिले पनि शंका छ । गुरुङ भने बैशाख ३ को कार्यक्रम रद्द नहुने दावी गर्छन् ।
०७४ फागुनमा नेपाल आउने बिषयमा सलमान स्वयम्ले सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । आगामी बैशाखको कार्यक्रमको बिषयमा भने उनले अहिले केही बताएका छैनन् ।

सलमानसँग को को आउने ?
०७४ को दंबग टुर’ कार्यक्रममा सलमानको साथमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श्व गायक गुरु रन्धावा लगायतका कलाकार आउने बताइएको थियो । त्यो समय सलमानको ‘दबंग’ फिल्मको प्रचारका लागि टुर आयोजना भएको थियो । अहिले सो फिल्म प्रदर्शन भइसकेकोले पहिले आउने भनिएका सबै कलाकार अहिले आउने छैनन् । आयोजक सीमान्त गुरुङका अनुसार पनि अहिले आउने कलाकारमा धेरै परिवर्तन हुनेछन् ।

सम्बन्धित निकाय बेखबर 
ओडीसी इन्टरटेनमेन्टले नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन सलमानसहित बलिउड कलाकार नेपाल ल्याउन लागेको बताएको छ । ओडीसीले पर्यटन ब्यवसाय चलायमान गराउन सलमान नेपाल ल्याउन लागेको बताइरहदा पर्यटनसम्बन्धि जिम्मेवार निकाय नेपाल पर्यटन बोर्ड र  संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्रालय भने बेखबर छ ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सलमान आउने बिषय आफूलाई जानकारी नभएको बताउँछन् । केही अगाडि सलमान खान ल्याउने हल्ला मैले पनि सुनेको थिएँ । तर आधिकारिक जानकारी छैन । त्यस्तै, मन्त्रालयका प्रवक्ता टेकराज पाण्डेले आफू केही दिनदेखि बिदामा रहेकोले यस बिषयमा जानकारी नभएको बताए । 

पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेले पनि यस बिषयमा जानकारी नभएको बताए । ‘नेपाल भ्रमण बर्ष २०२० मै सलमान खानलाई हामीले नेपाल ल्याउन चाहेको हो । तर विविध कारणले वातावरण मिलेन,’ लामिछानेले रातोपाटीलाई भने, ‘अहिलेको समय सलमानलाई नेपाल ल्याउन सके अन्तरराष्ट्रिय जगतमा नेपाल सुरक्षित छ भन्ने सन्देश जानेछ ।’

यता ओडीसीका गुरुङले भने सलमानलगायत कलाकार ल्याउने बिषयमा कलाकारलाई सम्झौताअनुसार रकम भुक्तानी गर्न ४ करोड पठाउने बिषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिइसकेको जानकारी दिए ।

पहिले के भएको थियो ?
ओडीसीले ०७४ फागुन २६ गते सलमान खानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवालगायत ठूलै टोली नेपाल ल्याएर कार्यक्रम गर्ने तयारी गरेको थियो । कार्यक्रमको भब्य प्रचारप्रसार गर्दै करोडौ रकमको टिकट समेत बेचेको थियो । तर  तत्कालीन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यक्रम नगर्न धम्की दिएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

कार्यक्रम स्थगित भएपछि बलिउड अभिनेता सलमान खानको नाममा सर्वसाधारणको पैसा ठगी गरेको आरोपमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङ पक्राउ समेत परेका थिए । सलमानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा धेरै टिकट बेचेर करोड भन्दा बढी ठगी गरेको अभियोगमा उनलाई प्रहरीले ०७५ असार २९ मा लाजिमपाटस्थित कार्यालयबाटै पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशबाट उनी करिब एक महिनापछि साउन २५ गते १५ लाख धरौटीमा छुटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप