बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उत्कृष्ट कवि तथा निबन्धकार पुरस्कृत (नामावलीसहित)

शुक्रबार, ०६ फागुन २०७८, १७ : ४०
शुक्रबार, ०६ फागुन २०७८

नेपाल प्रज्ञा प्रतिष्ठानले ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट कवि तथा निबन्धकारहरुलाई पुरस्कृत गरेको छ । 

यसरी पुरस्कृत हुनेहरुमा निबन्धतर्फ गोविन्दगोपाल खतिवडा (तनहुँ) प्रथम; रेजिना आपगाईं (तेह्रथुम) द्वितीय; गणेश दङ्गाल (काठमाडौँ) तृतीय भएका थिए । उत्कृष्ट भएका  निबन्धहरुमा ‘सौन्दर्यको भूमिमा सम्भावनाको बीज’, ‘मेरो देशको सुगन्ध’, ‘सयौँ थुँगा, धागो र माला’ निबन्ध क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । 

यसैगरी कवितातर्फ तेज राई (खोटाङ) प्रथम; बासुदेव पाण्डेय ‘प्रभाकर’ (बैतडी) द्वितीय; सविता बराला (ताप्लेजुङ) तृतीय भएका थिए । उत्कृष्ट कविताहरुमा ‘भित्र्याउन छ घरभित्र सह’; ‘पहिचान र लोकतन्त्र’; र ‘ढोका उघारौँ अब’ कविता क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । 

कुलापति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा प्रतिष्ठानको प्राङ्गणमा आयोजित कार्यक्रममा उपकुलपति जगमान गुरुङले विजयी कवि तथा निबन्धकारहरुलाई शुभकामना दिए । यस्तै प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले राज्यले आह्वान गरिएको कविता तथा निबन्धहरू राष्ट्र, राष्ट्रियता तथा पुर्खाको गौरवप्रति सकरात्मक सन्देश दिने खालका हुनुपर्ने बताउँदै छोटो समयमा प्रप्त भएका यी कविता तथा निबन्धहरु उत्कृष्ट रहेका र त्यसका आधारहरु पनि देखाउन सकिने बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कवि तथा निबन्धकारहरुलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपियाँसहित सम्मान पत्र प्रदान गरिएको थियो । 
उक्त प्रतियोगितामा ६७ वटा निबन्ध र कविता २६५ वटा प्राप्त भएको प्राज्ञ शशि लमुम्बुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप