सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुग्ध पाउडर प्लान्ट : निर्माण कार्यको म्याद सकिँदासम्म ५० प्रतिशतमात्र प्रगति

आगामी ६ महिनाभित्र निर्माण कार्य सक्ने तयारी
शनिबार, ०७ फागुन २०७८, ०७ : ४२
शनिबार, ०७ फागुन २०७८

दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माण कार्य सुरु गरे पनि भौतिक प्रगति सुस्त देखिएको छ । किसानले उत्पादन गरेको दूध विभिन्न कारणवश सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएकोमा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले दुग्ध पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको हो ।

निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद समाप्त भएपछि भने प्लान्ट निर्माणको कामले तीव्रता पाउन थालेको छ । एक वर्षको समय सीमा राखेर निर्माण कार्य सुरु गरिएको उक्त प्लान्ट गत पुसमै निर्माण भइसक्नुपर्ने थियो । कोरोना महामारी र अन्य कारणले केही समय अलमलमा परेको उक्त प्लान्ट निर्माण कार्य हाल तीव्र गतिमा भइरहेको छ ।

पाउडर प्लान्ट निर्माणका लागि २०७७ पुस १ गते इजी इन्फा प्रालि काठमाडौंले निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले गत पुसमै प्लान्ट निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सरकारकै तर्फबाट ढिलाइ हुँदा निर्माण कार्य केही समय पर धकेलिएको हो ।

संघीय सरकारको निर्णयानुसार निर्माण भइरहेको सो प्लान्ट कुल ४१ करोड २२ लाख ७१ हजारमा रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० न्युरेनीस्थित २ बिगाहा क्षेत्रफलमा दुग्ध पाउडर प्लान्ट स्थापनाको काम सुरु गरेको हो ।

किसानले उत्पादन गर्ने दुधको खपत हुन नसक्दा विगतमा निकै समस्या हुने गरेकोमा प्लान्ट सञ्चालनपछि भने त्यस्तो समस्या अन्त्य हुने प्रदेशका कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले बताए ।

प्लान्ट सञ्चालनमा आएपछि कृषकहरूबाट दूध संकलन गरी प्रशोधन गरेर पाउडर दूधसँगै घिउ तथा अन्य दुग्धजन्य पदार्थ उत्पादन गरी बिक्री वितरण गरिने उनले बताए ।

पुरानो भवनका कारण निर्माणमा समस्या

संघीय कृषि तथा पशुपन्छी मन्त्रालय मातहत रहेको २ बिगाहा क्षेत्रफलमा सो प्लान्ट निर्माण भइरहेको छ । यस अघि उक्त स्थानमा डीडीसीले पशु आहार उत्पादन उद्योग सञ्चालनमा ल्याएको थियो । डीडीसीले कृषि तथा पशुपन्छी मन्त्रालयसँग २५ वर्षका लागि जग्गा लिजमा लिएर पशु आहार उत्पादन उद्योग सञ्चालन गर्दा निर्माण गरिएका भवनका कारण प्लान्ट निर्माणमा समस्या भएको मन्त्रालयको भनाइ छ ।

डीडीसीले पशु आहार उत्पादन उद्योग सञ्चालनका लागि निर्माण गरेको पुराना भवन भत्काउन समस्या भएकाले प्लान्ट निर्माणमा ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

करिब ५ महिनासम्मको निरन्तर प्रयासपछि मात्र उक्त पुरानो भवन भत्काउने काम सकिएको उनको भनाइ छ । हाल निर्माण कार्य सहजरुपमा भइरहेको उनले बताए । 

आगामी असारसम्ममा निर्माण कार्य सक्ने लक्ष्य

प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको दुग्ध पाउडर प्लान्टको हाल ५० प्रतिशत काम सम्पन्न भएको कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास बोर्डको लगानीमा निर्माण भइरहेको पाउडर दूध उद्योगको पहिलो चरणमा कम्पाउण्ड लगाउने काम सम्पन्न भएको छ भने हाल ट्रसका भवन निर्माण तथा प्लान्ट जडानको पूर्वाधार निर्माणको तयारी भइरहेको उनले बताए ।

भौतिक संरचना निर्माणको कार्य अन्तिम अवस्थामा रहेको र मेसिन जडानमा केही समय लाग्ने उनको भनाइ छ । उनका अनुसार चालु आर्थिक वर्षको असार महिनासम्ममा पाउडर प्लान्ट निर्माणको काम सक्नेगरी काम भइरहेको छ । सोही अनुसार निर्माण कम्पनीको ठेक्का अवधि पनि थप गरिएको उनले जानकारी दिए ।

यसरी निर्माण हुँदैछ प्लान्ट

हेटौंडा–१० न्युरेनीको जंगल छेउमा दुई बिगाहा क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण गरिएको छ । कम्पाउण्ड वालभित्र इट्टा जडान तथा भुइँ ढलान गर्ने काम भइरहेको छ । त्यस्तै केही भागमा फलामका पाइपहरु जोड्ने काम जारी छ ।

हाल पाउडर प्लान्टको मुख्य आगो बाल्ने भवनको वाल निर्माण गर्ने काम भइरहेको छ भने सोही भवनमा जस्ताले छानो छाउने काम सकिएको छ ।

कम्पाउण्ड भित्रको विभिन्न स्थानमा पाउडर प्लान्टका लागि चाहिने आवश्यक भौतिक संरचनाहरु निर्माण गरिँदै छ । प्लान्टका लागि पाँच वटा ट्रसका भवन निर्माण गरिने अधिकारीले बताए । ३ वटा भवनको काम जारी रहेको र २ वटा भवनको काम केही समय भित्रै सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

त्यस्तै भारतबाट आयात गरिएको दूधको पाउडर बनाउने मेसिन पनि गत साता नै ल्याइएको छ भने भवनको काम सकिए लगत्तै मेसिन जडानको काम गरिने उनले बताए ।

दैनिक ५ मेट्रिक टन पाउडर दूध उत्पादन गर्ने लक्ष्य

उक्त पाउडर प्लान्ट सञ्चालन भएसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दूध खपत गर्न सकिने मन्त्रालयले जनाएको छ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही जिल्लासहित बागमती प्रदेका कृषकले उत्पादन गरेको दूधलाई खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ ।

पाउडर प्लान्ट सञ्चालनका लागि प्रदेश १ को सुनसरी, धरान, झापा मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँ लगायतका जिल्लाबाट दूध आयात गरिने जनाइएको छ ।

उक्त प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ भने कृषकहरूबाट दैनिक ६० हजार लिटर दूध खरिद गरिने जनाइएको छ ।

कृषकले उत्पादन गरेको दूधबाट दैनिक पाँच मेट्रिक टन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । प्लान्टबाट उत्पादित पाउडर दूध सात वटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट बिक्री वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्लान्ट सञ्चालन भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ८० जनाले रोजगारी पाउने बताइएको छ । प्लान्ट सञ्चालनका लागि आवश्यक प्राविधिक कर्मचारी तथा अन्य अप्राविधिक कर्मचारीले रोजगारी पाउने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप