बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : एकान्तमा अचेल

शनिबार, ०७ फागुन २०७८, ०८ : ३१
शनिबार, ०७ फागुन २०७८

मेस्सीलाई फुटबल 
पारसलाई क्रिकेट 
कति सुहाएको
भन्दा भन्दै
कति बेला खेल्नै बिर्सेछु
थाहा नै भएन ।

पुष्करलाई साइकलको यात्रा 
तेन्जिङलाई सगरमाथाको यात्रा 
भन्दा भन्दै 
कति बेला आफ्नै बाटो हिँड्न बिर्सेछु 
थाहा नै भएन ।
लाग्थ्यो, जिन्दगीमा धेरै खेल खेलें 
तर कत्तिबेला 
आफ्नै लागि खेल्न बिर्सेछु
थाहा नै भएन ।
एकान्तमा अचेल 
सोचिरहन्छु
सुकरातका राजनीतिक विचार 
अरस्तुका चेतनाका विचार
भब्य मान्छेका सभ्य विचार
सोच्दा सोच्दै 
आफ्नै लागि कत्तिबेला सोच्नै बिर्सिएछु 
थाहा नै भएन ।
म्याडम क्युरीको
त्यो अटुट जिम्मेवारी 
नाइटिङ्गेलको 
त्यो कठोर जिम्मेवारी
पढ्दा पढ्दै
अनि
जिम्मेवारीका भारी पूरा गर्दा गर्दै 
पहाड भन्दा विशाल
समुन्द्र भन्दा गहिरो
ब्रह्माण्ड भन्दा फराकिला
रहर र चाहनाहरुको चाङ्
आफ्नै डायरीको 
पहिलो पानामा
कत्तिबेला कोर्नै बिर्सिएछु  
थाहा नै भएन ।
आफ्नै लागि आफ्ना
जिम्मेवारी किन भुलें होला ?
एकान्तमा अचेल सोचिरहन्छु 
मायाको चिनो ताजमहल
धरतीको माया चाँदनी 
मुनाको माया मदन 
सबैको प्रशंसा गर्दा गर्दै
आफ्नै माया खोज्न
किन बिर्सिएँ होला 
थाहा नै भएन ।
मैले हिँड्न बिर्सिएँ कि 
दौडिन बिर्सिएँ कि 
उफ्रेर खेल्न बिर्सिए कि 
गहिरो मुद्रामा सोच्न बिर्सिएँ कि 
जिम्मेवारीका पर्खाल भत्काउन बिर्सिएँ कि 
मायाका ताना कस्न बिर्सिएँ कि 
एकान्तमा अचेल
सोचिरहन्छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप